साँझ ४ः३० बजे प्रहरी वृत्त ठिमीबाट स्विप अपरेशन
जेठ १४, २०८३, बिहीबार | राति ०७:२२ बजे | 120
भक्तपुर, १४ जेठ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ बाट प्रहरीले लागू औषधसहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार बिहीबार साँझ ४ः३० बजे प्रहरी वृत्त ठिमीबाट स्विप अपरेशनमा खटिएको टोलीले शंकास्पद अवस्थामा बा. ७६ प. ५९८२ नम्बरको स्कुटीमा कालो झोला बोकी बसिरहेका दोलखा गौरीशंकर गाउँपालिका–५ घर भई हाल काठमाडौं मनहरा नगरपालिका–७ काँडाघारी बस्ने २७ वर्षीय अरुण सुरेललाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा सुरेलको साथबाट ट्यापेन्टाडोल नामक लागू औषध २३८ फाइल अर्थात् २ हजार ३ सय १० ट्याबलेट बरामद गरेको जनाएको छ । साथै नगद १ लाख ५५ हजार २ सय रुपैयाँ, विभिन्न कम्पनीका ११ थान मोबाइल र एउटा स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
घटनाबारे प्रहरी वृत्त ठिमीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
