“खानी उत्खननले नेपालमा आर्थिक क्रान्ति सम्भव” : सोमप्रसाद पाण्डे
जेठ १४, २०८३, बिहीबार | राति ०८:०६ बजे | 10
पूर्व उद्योगमन्त्री तथा नेकपा नेता सोमप्रसाद पाण्डेले नेपालमा सम्भावना बोकेका खानीहरूको उत्खनन र सञ्चालनमा सरकारले तत्काल ध्यान दिनुपर्ने बताएका छन्। रफत सञ्चार क्लबमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले दैलेखमा फेला परेको पेट्रोलियम स्रोत, मुस्ताङको युरेनियम सम्भावना तथा पाल्पाको फलाम खानीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न सके नेपालको आर्थिक रूपान्तरण सम्भव हुने बताए।
उनका अनुसार प्राकृतिक स्रोतको सही उपयोगले मुलुकलाई आर्थिक आत्मनिर्भरतातर्फ लैजान सक्छ। पाण्डेले विशेषगरी दैलेखको पेट्रोलियम उत्खननलाई अब अध्ययन र परीक्षणमै सीमित नराखी व्यावसायिक उत्पादनतर्फ लैजानुपर्ने बताए। “नेपालले हरेक वर्ष इन्धन आयातमा अर्बौं रुपैयाँ विदेश पठाइरहेको छ,” उनले भने, “यदि आफ्नै स्रोतको उपयोग गर्न सकियो भने त्यसले राष्ट्रिय अर्थतन्त्रलाई ठूलो राहत दिनेछ।” मुस्ताङ क्षेत्रमा रहेको भनिएको युरेनियम सम्भावनाबारे बोल्दै उनले यसको वैज्ञानिक अध्ययन, सुरक्षा र दीर्घकालीन राष्ट्रिय हितलाई ध्यानमा राखेर सरकार अघि बढ्नुपर्ने बताए।
पाण्डेले मस्ताङको युरोनियम खानीले देशलाई बिश्वको आर्थिक सम्बृद्धिसँग जोडेको र १०० खरव बराबर रकमको युरोनियम रहेकोले यसमा पुग्ने बिभिन्न खालका चलखेल र बिदेशि नजरबाट बच्दै नेपाल सरकारको अग्रसरतामै सञ्चालनमा ल्याउनु पर्नेमा जोड दिए । त्यस्तै पाल्पाको फलाम खानीलगायत अन्य खनिज स्रोतहरूको उचित उत्खननले उद्योग क्षेत्रलाई टेवा पुग्ने उनको भनाइ थियो। “नेपालमा खानी, जलविद्युत्, पर्यटन र कृषि क्षेत्रलाई एकीकृत रूपमा विकास गर्न सकियो भने देशले आर्थिक रूपमा ठूलो फड्को मार्न सक्छ,” उनले बताए। पाण्डेले नेपालमा जलविद्युत् र पर्यटन क्षेत्रको अथाह सम्भावना हुँदाहुँदै पनि स्पष्ट नीति, दीर्घकालीन योजना र प्रभावकारी कार्यान्वयन अभावमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरे। उनले अबको प्रमुख राजनीतिक एजेन्डा आर्थिक रूपान्तरण हुनुपर्ने बताए। कृषि क्षेत्रबारे बोल्दै उनले नेपालमा उत्पादन वृद्धि गर्ने ठूलो सम्भावना रहेको उल्लेख गरे। आधुनिक प्रविधि, बजारीकरण र कृषकलाई प्रोत्साहन गर्न सके नेपाल कृषि उत्पादनमा आत्मनिर्भर मात्र नभई निर्यातमुखी बन्न सक्ने उनको भनाइ थियो। अन्तरसंवादमा उनले मानवअधिकार आयोगका प्रतिवेदनहरू कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए। दोषीलाई कानुनी दायरामा ल्याउने र निर्दोषलाई संरक्षण गर्ने वातावरण बनाउन राज्य गम्भीर हुनुपर्ने उनले बताए। पाण्डेले वर्तमान सरकारलाई जनताले ठूलो अपेक्षाका साथ समर्थन गरेको उल्लेख गर्दै सरकार परिणाममुखी काममा केन्द्रित हुनुपर्ने धारणा राखे। साथै राजनीतिक दलहरूले समयअनुसार आफ्ना कमजोरी सुधार गर्न नसके जनताबाट अस्वीकृत हुने चेतावनीसमेत दिए।
