सार्वजनिक सुनुवाईमा उठ्यो बागीश्वरीको पर्ति जग्गाको विषय
जेठ १३, २०८३, बुधबार | राति १०:३८ बजे | 35
बागीश्वरी । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ७ बागीश्वरीमा रहेका पर्ति तथा सार्वजनिक जग्गाको संरक्षणबारे स्थानीयवासीले वडा कार्यालयसँग चासो व्यक्त गरेका छन् । स्थानीयले वडा अध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठसँग “वडा अध्यक्षज्यू, पर्ति जग्गाको संरक्षण खोई ?” भन्दै प्रश्न उठाएका हुन् । बुधबार वडा कार्यालयमा भएको वडास्तरीय सार्वजनिक सुनुवाईमा सहभागी वडाबासीहरुले वडा अध्यक्षसँंग यस्तो प्रश्न तेस्र्याएका हुन् ।
स्थानीयवासीका अनुसार वडाभित्र रहेका कतिपय पर्ति, सरकारी तथा सार्वजनिक जग्गाहरु खुला अतिक्रमणको जोखिममा परिरहेका छन् । केही स्थानमा अनधिकृत प्रयोग बढ्दै गएको र संरक्षणको स्पष्ट योजना नदेखिएको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका छन् । सार्वजनिक प्रयोजनका लागि उपयोग गर्न सकिने जग्गाको पहिचान, संरक्षण र व्यवस्थापनमा वडा कार्यालयले सक्रियता देखाउनुपर्ने मागसमेत उनीहरुको छ ।
सार्वजनिक सुनुवाईमा वडाबासी टिकाराम लामिछानेले वडामा दुई हजार रोपनी वढी सार्वजनिक जग्गा रहेको अनुमान गरे । ती जग्गाहरुलाई प्लटिंगकर्ताहरुले अतिक्रमण गर्दै गरेको उनले सुनाए । उनका अनुसार प्लटिंगकर्ताहरुले सार्वजनिक जग्गा भएका ठाउँंतिर प्लटिंग गर्छन् अनि बाटो चाहि ती सार्वजनिक जग्गाहरुलाई बनाउँंछन् । पर्ति जग्गा संरक्षणका लागि आफूले वडा कार्यालयसँंग वर्षाैदेखि बारम्वार निवेदन दिंदै आएको उनले स्मरण गरे ।
स्थानीयहरूले खुला तथा पर्ति जग्गा संरक्षण नहुँदा भविष्यमा सामुदायिक संरचना निर्माण, खेल मैदान, पार्क तथा वातावरण संरक्षणका काम प्रभावित हुने बताए । “अहिले नै संरक्षण नगरे पछि सार्वजनिक जग्गा हराउन सक्छ,” एक स्थानीयले बताए । स्थानीय समुद्रप्रसाद बास्तोलाले वडामा छोडिएका छाडा चौपायाहरुलाई सार्वजनिक जग्गामा राखेर सार्वजनिक जग्गालाई सुरक्षित पार्नुपर्ने आवश्यकता औंल्याए । वडामा धेरैले गाई पाल्ने गरेको र गोरुहरुलाई छाडा छाड्ने भइ छाडा पशुकै कारण दुर्घटनालगायतका हुने गरेकोले यसो गर्न सकिने सुझाब उनले दिए । अर्का वडाबासी श्रीप्रसाद कडरियाले छाडा पशुलाई भुस्याहा कुकुरहरुले लेखेटी टोकी मार्ने र मासु खाने अनि त्यही मासु खान पल्केका कुकुहरुले वडाका एक्लै देख्ने बालबालिकाहरुमाथि पनि आक्रमण गर्ने गरेको बताए । यसकारणले यी छाडा चौपायाहरुलाई सार्वजनिक जग्गामा राखेर सुरक्षित गर्न सकिने उनले भनाई राखे ।
वडाबासीहरुको जिज्ञासाको उतर दिंदै वडा अध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठले वडाको मात्रै नभई नगरपालिकाभरिको पर्ति जग्गा संरक्षणको प्रयास नगरपालिकाले थालेको जानकारी गराए । यसका लागि नगरपालिकाले प्रत्येक वडामा परिपत्र गर्न तयारी गरेको पनि उनले जानकारी गराए । साथै उनले सार्वजनिक जग्गा निजी बनाइसके पनि पछि सार्वजनिक गर्न पाइने कानुन नेपाल सरकारबाट आएको सुनाए ।
पर्यटकीय नगर चाँगुनारायण नगरपालिकाको वडा नं. ७ साविक बागेश्वरी गाउँ विकास समिति मिलेर बनेको वडा हो । यस वडाको कुल क्षेत्रफल ९.५५ वर्ग कि.मि. रहेको छ । २०७८ सालको नगरस्तरीय तथ्यांक अनुसार यस वडामा २२६३ घरधुरीमा ६३४२ जनसंख्या रहेका छन् । यहाँ जनजाति, दलित, ब्राह्मण तथा अन्य समुदायको बसोबास रहेको छ । मुख्य रूपमा कृषि तथा पशुपालन यस क्षेत्रको प्रमुख पेशा रहेको छ । भक्तपुर सहरसँंग नजिकै रहेको खुल्ला ठाउँंले भरिएको यो वडामा पछिल्ला वर्षहरुमा वस्ती विस्तार अत्याधिक रुपमा भइरहेका छन् ।
फाेटाेमा हेर्नुहाेस्...
