नेपालमै पहिलो पल्ट साइन्स फिक्सन सिरिज ‘कुरू’को टिजर सार्वजनिक
जेठ १४, २०८३, बिहीबार | राति ०७:४१ बजे | 35
केके मानन्धर
नेपालमै पहिलो पल्ट साइन्स फिक्सन सिरिज ‘कुरू’को टिजर सार्वजनिक गरिएको छ । कीर्तिपुरको उमामहेश्वर प्राङ्गणमा कार्यक्रम गरी कुरू नामक टिजर सार्वजनिक गरिएको हो । युवा निर्देशक प्रदीप खड्गीको निर्देशन तथा फोकस फिक्चर्सको व्यानरमा ८ भागमा सिरिज तयार भएको छ ।
‘पहिले असम्भव जस्तो लाग्ने विषयलाई हाम्रो टिमले वास्तविकतामा बदलेका छौं । दुई वर्षसम्मको मिहिनेत, धैर्य र समर्पण आज विश्वासमा परिनत भएको छ । नेपाली फिल्म दुनियाको यो नयाँ प्रयोगमा साथ दिने सबैलाई धन्यवाद छ ।’ निर्देशक खड्गीले सामाजिक सञ्जालमार्फत अभिव्यक्ती सार्वजनिक गरेका छन् ।
हुनपनि हलिउडले सुपरम्यान, स्पाइडरम्यान तथा एभेन्जर्स जस्ता काल्पनिक पात्र बनाए । ती पात्रलाई विश्वले सिनेम्याटिक हिरोको रुपमा स्वीकारेको छ । त्यसमाथि पश्चिमा फिल्म इन्डस्ट्रीले काठमाडौंको कमारताज बनाएर डा. स्ट्रेन्ज बनाए जसको चरित्र नेपाली तान्त्रिक जामनः गुभाजुसँग हुबहु मिल्छ । जबकि नेपालमा पनि बन्धुदत्त आचार्य, बोक्सी, झाँक्री, जामनः गुभाजु लगायतका थुप्रै तन्त्र साधनामा आधारित पात्रहरु छन् । त्यस्ता पात्रलाई नेपाली सिनेमा जगतले आधुनिक तरिकाले प्रस्तुत गर्नुपर्नेछ ।
हिन्दु धर्मग्रन्थले देवलोक, मत्र्यलोक, पाताल लोक तथा थुप्रै देवता र दानवहरुको व्याख्या गरेको पाइन्छ । तर नेपाली फिल्म इन्डस्ट्रीले त्यस्ता पात्रलाई साइन्ससँग जोडेर प्रस्तुत गर्न सकेको थिएन । तर निर्देशक खड्गीको टोलीले कुरू नामक साइन्स फिक्सन सिरिज बनाएर त्यसलाई प्रदर्शनीको तयारी गरेको छ । टोलीले नक्षत्र, ग्रह, अन्तरिक्ष वा अनन्त लोक सम्मिलितको काल्पनिक पृथक ब्रह्माण्ड बनाएर प्रस्तुत गरेको दाबी गरिएको छ । सम्यक र बिसम्यक देव(मनुष्य) र दानव(मुटेन्ट)को कथा कुरूमा देख्न पाउने छौं ।
अन्तत कुमार श्रेष्ठले नेपग्याज्मसँग सहकार्य गरेर सिरिज निर्माण गरेका छन् । सिरिजमा सुशील राजोपाध्याय, भिन्तुना जोशी, अर्पण तामाङ, लोमन सागर रेग्मी, प्रविण बजगाइँ, यशजंग बोगटी, सनिश शाक्य, रुवेन खड्गी, सुरज व्यन्जनकार, रोजिना सुवाल, सुचित्रा उप्रेती, लक्ष्मीकुमार महर्जन, विनेश श्रेष्ठ, अनु खड्का लगायतका कलाकारहरु छन् । चिफ एक्जेक्यूटिभ प्रड्यूसरमा लभ कार्की तथा हलिउड प्रोजेक्टमा काम गर्दै आएका सन्तोष केसीलाई भि.एफ.एक्स सुपरभाइजरको लागि अनुबन्ध गरिएको छ ।
सिरिजमा गाफर लक्ष्मण खरेल, प्रोडक्सन म्यानेजर आशिस शाही, ग्राफिक डिजाइन विकाश खड्गी, सीजीआई आभास महर्जन, अविक खड्गी, रेहना शाही, आर्टिस्ट पीओपी राज महर्जन, युनिट स्टील फोटोग्राफी अमन महर्जन, सिनेमाटोग्राफी शंकर महर्जन रहेका छन् ।
फाेटाेमा हेर्नुहाेस्...
