चाँंगुका स्कुलमा आइतबार विदा नदिने निर्णय खारेज, अव दुई दिन विदा
जेठ १३, २०८३, बुधबार | राति १०:०१ बजे | 95
भक्तपुर
भक्तपुरस्थित चाँगुनारायण नगरपालिकाले विद्यालय सञ्चालन सम्बन्धी नयाँ कार्यान्वयन निर्देशिका जारी गरेको छ। नगरपालिकाको शिक्षा निर्देशन शाखाद्वारा जारी सूचनाअनुसार अब सामुदायिक तथा संस्थागत विद्यालयहरूमा शनिबार र आइतबारको दुई दिने बिदा प्रणाली पूर्ण रूपमा लागू नहुने भएको छ।
नगरपालिकाले विशेष परिस्थितिका कारण आइतबार पनि विद्यालय सञ्चालन गरिएको उल्लेख गर्दै नेपाल सरकार र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्णयअनुसार शैक्षिक क्रियाकलापलाई व्यवस्थापन गर्न निर्देशन दिएको हो। सूचनामा प्रत्येक दिन प्रार्थना समय १५ मिनेट र खाजा समय ३० मिनेट कायम गर्नुपर्ने उल्लेख छ। त्यस्तै सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
नगरपालिकाले हिउँदे तथा वर्षे बिदा अवधिलाई साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरेको जनाएको छ। पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्यांकन पठनपाठनमा असर नपर्ने गरी सञ्चालन गर्न सकिने तथा अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन प्रयोग गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यस्तै विद्यालयहरूले स्वीकृत पाठ्यक्रम र सिकाइ उपलब्धिका आधारमा परियोजना तथा प्रयोगात्मक कार्यलाई समुदाय, परिवार र सूचना प्रविधिसँग जोडेर सञ्चालन गर्नुपर्ने निर्देश दिइएको छ। परियोजना कार्यका लागि पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा उपलब्ध सहजीकरण पुस्तिका प्रयोग गर्न सकिने नगरपालिकाले जनाएको छ। साथै सबै विद्यालयमा अनिवार्य रूपमा दैनिक योग कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।
यसअघि पनि भक्तपुरका स्थानीय तहहरूले संघीय सरकारले लागू गरेको दुई दिने बिदा प्रणालीको विरोध गर्दै आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेका थिए। स्थानीय तहहरूले पाठ्यक्रम पूरा गर्न कठिन हुने भन्दै पुरानै शैक्षिक क्यालेन्डरअनुसार विद्यालय सञ्चालनमा जोड दिएका थिए।
