ख्वप अस्पतालको सिटी–स्क्यान मेसिन उदघाटनका प्रमुख अतिथिबारे विमति
माघ ३, २०८२, शनिबार | साँझ ०५:४४ बजे | 4350
विक्रम कर्माचार्य
५ करोड रुपैयाँ आर्थिक सहयोग गरी नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर नगरवासीको स्वास्थ्य उपचारलाई सहज बनाउने उद्देश्यले ख्वप अस्पतालमा सिटी–स्क्यान मेसिन जडान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ । भक्तपुर नगरपालिकाले ६ करोड रुपैयाँ थप लगानी गरेको अवस्थामा उक्त सिटी–स्क्यान मेसिनको उदघाटन नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान विजुक्छेंद्वारा गराइनुका आधार के हुन् ? भक्तपुर नगरपालिका अन्तर्गत सञ्चालनमा रहेको नगर अस्पताल प्रचलित नियम, परम्परा र प्रशासनिक मर्यादा अनुसार यस्तो महत्वपूर्ण स्वास्थ्य संरचनाको उदघाटन सम्बन्धित क्षेत्रका जिम्मेवार व्यक्ति, विशेषगरी आर्थिक सहयोग गर्ने प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापालाई प्रमुख अतिथि बनाएर गरिनु स्वाभाविक देखिन्थ्यो । तर, ती सबै मापदण्ड र मर्यादालाई बेवास्ता गर्दै कुनै औपचारिक जिम्मेवारी नराख्ने नेताबाट उदघाटन गराइनुले जनमानसमा गम्भीर प्रश्न र असन्तोष उत्पन्न भएको छ । यस विशेष काममा नेमकिपाका अध्यक्षले के कस्तो ठोस भूमिका निर्वाह गरेका थिए, जसको आधारमा उदघाटन गर्ने अवसर दिइयो ?
यस प्रकारको निर्णयले योगदानकर्ताको सम्मानमाथि प्रश्न उठाउनुका साथै सार्वजनिक संस्थामा राजनीतिक पूर्वाग्रह हाबी भएको सन्देश जाने खतरा पनि रहेको छ । अतः यस्तो संवेदनशील र महत्वपूर्ण विषयमा निर्णय गर्दा योगदान, जिम्मेवारी र संस्थागत मर्यादालाई प्राथमिकता दिनु अत्यावश्यक देखिन्छ ।
(लेखक एमाले समर्थित युवा संघ भक्तपुर नगर अध्यक्ष हुन् ।)
