भक्तपुर २ मा स्वतन्त्रबाट महतले गरे उम्मेदबारी घोषणा, को हुन् महत?


पुष २८, २०८२, सोमबार | राति ०८:४८ बजे | 6510


भक्तपुर २ मा स्वतन्त्रबाट महतले गरे उम्मेदबारी घोषणा, को हुन् महत?

भक्तपुर । भक्तपुर क्षेत्र न २ बाट नबिन कुमार महतले उम्मेदबारी दिने घोषणा गरेका छन् । उनले स्वतन्त्र उम्मेदवारी दर्ता गर्ने तयारी गरेका हुन् । रामेछापका उनी आफनो उम्मेदबारी वर्तमान नेपाली राजनीतिमा देखिँदै आएको एउटा नयाँ प्रवृत्तिको संकेत भएको बताउँंछन् । लामो समयदेखि गठबन्धन, दलगत स्वार्थ र अनुहार–केन्द्रित राजनीतिले थिलथिलो बनेको अवस्थामा स्वतन्त्र उम्मेदवारप्रतिको जनआकर्षण स्वाभाविक रूपमा बढ्दै गएको उनको विश्लेषण छ ।
को हुन् महत ? 
पछिल्लो समय नेपाली राजनीतिलाई नजिकबाट अध्ययन र विश्लेषण गरिरहेका छन् महत । उनको निष्कर्ष स्पष्ट छ—भक्तपुर ऐतिहासिक जिल्ला मात्र होइन, चेतनशील र परिवर्तनप्रेमी जनताको भूमि पनि हो । क्षेत्र नं. २ का मतदातामा पुराना अनुहार र पुरानै शैलीबाट आजित भई नयाँ विकल्प खोज्ने मनोविज्ञान बलियो देखिन्छ । यही कारणले यसपटकको निर्वाचन अनुमान गर्न कठिन छ, र परम्परागत दलहरूको जित सुनिश्चित छैन ।
राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका महत केवल सिद्धान्तमा सीमित पात्र होइनन्, उनी दुई दशक देशमै बसेर विकास निर्माणमा संलग्न भए, दुर्गम क्षेत्रमा लामो समय सेवा गरे, र देशभर सडक सञ्जाल विस्तारमा प्रत्यक्ष योगदान दिए । यो व्यवहारिक अनुभव नै उनको मुख्य राजनीतिक पूँजी हो । गठबन्धन गरेर आएका दलहरूलाई समेत कडा टक्कर दिन सकिने आत्मविश्वास उनको व्यक्तिगत संघर्ष र कामको इतिहासबाटै आएको देखिन्छ ।
आजको नेपाली राजनीति भाषणभन्दा काम खोज्ने चरणमा प्रवेश गरिरहेको छ । जनताको सोच परिवर्तन हुँदैछ—नाम होइन, परिणाम खोजिँदैछ । यही परिवर्तित जनभावनामा विश्वास गर्ने भएकाले महतप्रतिको चासो र लोकप्रियता पछिल्लो समय बढ्दै गएको देखिन्छ ।
भक्तपुर क्षेत्र नं. २ को चुनाव केवल जित–हारको प्रतिस्पर्धा मात्र होइन, पुरानो राजनीतिक संस्कार र नयाँ राजनीतिक सम्भावनाबीचको टकराव पनि हो । यदि मतदाताले साँच्चै परिवर्तन चाहेका छन् भने, नबिन कुमार महतजस्ता स्वतन्त्र र कामबाट परिचित उम्मेदवारले यो निर्वाचनको दिशानिर्देश नै बदल्न सक्ने सम्भावना नकार्न सकिँदैन ।

Comments