भजन–गान
जेठ १४, २०८३, बिहीबार | दिउँसो ०१:१२ बजे | 90
डा इन्दुल केसी
पृष्ठभूमि
यस संसारमा सामवेदले सङ्गीत र गानको सुरुवात गरेको पाइन्छ । भजन–गानले ईश्वर (भगवान्) प्रति समर्पित भई प्रेम र श्रद्धा व्यक्त गरेर गाइने गीतलाई जनाउँछ । हिन्दू धर्मावलम्बीहरूमा भजन–गान अति लोकप्रिय छ । यो आध्यात्मिक भावनालाई प्रस्तुत गर्ने सशक्त माध्यम पनि हो । यस प्रकारको गीत वा स्तुति – प्रार्थनामा ईश्वरको गुणगान गरिएको हुन्छ । भित्री मनले हृदयदेखि नै गाउने गानले गायक र श्रोतालाई शान्ति प्रदान गर्छ । मन्दिर वा भजनघरमा गायक एक्लैले वा गायक समूहले भजन गाउने गरिन्छ । भजन गाउँदा प्रायः विभिन्न प्रकारका बाद्यसाधन प्रयोग गरी कर्णप्रिय बनाइन्छ । भजन–गानले आध्यात्मिक लाभ प्राप्त गर्छ तथा मन शुद्ध र पवित्र गराउनुका साथै ध्यानलाई एकै ठाउँमा केन्द्रित गराउँछ ।
यिनै पृष्ठभूमिमा हरि मञ्जुश्रीले रचना गरेर सङ्गीत भर्नुभएका विभिन्न भजन – गानहरूमध्ये १० वटा भजन – गानहरूलाई लिएर प्रसिद्ध अन्वेषक, समालोचक तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले ’हरि मञ्जुश्रीका उद्बोधन गान’ नाउँको पुस्तक लेख्नुभयो । त्यो पुस्तक शब्दयात्रा प्रकाशनबाट प्रकाशित गरियो । त्यस पुस्तकका विषयमा मैले समीक्षात्मक टिप्पणी गरी प्रकाशित गरेको थिएँ । त्यो पुस्तक पढ्दा मलाई आफूले पनि यस्तै पुस्तक लेख्न पाए हुन्थ्यो भन्ने लागेको थियो । त्यसैले मैले पनि हरि मञ्जुश्रीले रचना गरी सङ्गीत भरेका अरु १० वटा अन्य भजन – गानहरूलाई लिएर ’हरि मञ्जुश्रीका जागरण गान’ नामको मेरो पुस्तक प्रकाशित पनि भइसकेको छ । हरि मञ्जुश्रीका भजन – गानहरू व्यक्तिपरक र स्तुतिपरक परम्परागत सगुण भजन – गानभन्दा केही फरक छन् भन्ने मेरो धारणा रहेको छ ।
जागरण गान
रचनाकार, सङ्गीतकार तथा गायक हरि मञ्जुश्रीले तयार गरेका र त्यस पुस्तकमा समावेश गरिएका १० वटा गानहरूमध्ये ४ वटामा प्रार्थना, एउटामा जयगान शब्द प्रयोग भएका छन् । ४ वटा गानमा आफू याचक भई विभिन्न कुराहरू माग गरिएका छन् । एउटा गानमा सच्चिदानन्द विशुद्धदेवको महिमा वर्णन गरिएको पाइन्छ । यी १० वटै गानहरूलाई मैले ‘जागरण गान’ नाम दिनु उपयुक्त ठानेको छु । सम्पूर्ण मानव जातिको भलोका लागि सचेतना जगाउने, समाजमा देखिने विकृति र विसङ्गतिलाई हटाउने, अचेतन अवस्थामा रहेका मान्छेलाई चेतना दिने, समाज र राष्ट्रको एकता र कर्मशीलताका लागि शक्तिको माग गर्नुका साथै सकारात्मक योगदान दिन आह्वान गरिएका गानहरू भएकाले यी गानहरू जागरण गान हुन् । यहाँ देवीदेवताहरुलाई प्रार्थना गरिएको देखिए तापनि अन्धभक्त भएर मूर्तिपूजा गर्नका लागि र मोक्षप्राप्तिका लागि नभई जनजागरणका लागि प्रार्थना गरिएको छ । वर्तमान पुस्ताले मन पराउने सङ्गीत र बाद्यवादनको प्रयोग भएकाले पनि भजनको आधुनिकीकरण भएको छ र युगानुकूल सङ्गीतमा बद्ध भएकाले पनि यी गानहरूलाई जागरण गान भन्न सकिन्छ ।
संगीत
‘गीतं वाद्यं तथा नृत्यं त्रयं सङ्गीतमुच्यते’ अर्थात् गाउनु, बजाउनु र नाच्नु, यी तीन विधाहरूको समूहलाई सङ्गीत भनिन्छ । गान भन्नुको अर्थ गीत हो अनि गीत शब्द सङ्गीतसँग जोडिन्छ । सङ्गीत भनेको ललितकला हो । सङ्गीतलाई शास्त्रीय सङ्गीत र भावसङ्गीत गरी दुई खण्डमा विभक्त गरिन्छ । लय र तालको संयोजनले सङ्गीत बन्दछ । भावसङ्गीत अन्तर्गत चित्रपट सङ्गीत, लोकसङ्गीत र भजनगीत पर्दछन् । आवाज अर्थात् स्वरलाई शास्त्रीय सङ्गीतमा सा, रे, ग, म, प, ध, नि भन्ने सातवटा स्वरहरूमा विभक्त गरिएका हुन्छन् । यी सङ्गीतका आधारभूत कुराहरू हुन् । यो विषय गहन छ । यसबारे विस्तृत रूपमा जान्न सङ्गीतशास्त्रको अध्ययन र गायनको अभ्यास गर्नु अति आवश्यक छ ।
साहित्य
साहित्यका क्षेत्रमा काव्यको अलग्गै सिद्धान्त प्रतिपादन भएको पाइन्छ । सामवेदलाई ज्ञेय काव्यका रूपमा लिइन्छ । भावनाको सहज स्फुरित काव्योद्गारलाई गीतिकाव्य भनिन्छ । ध्वनि वा नाद सङ्गीतका माध्यमबाट आकर्षित हुन्छ । गीतकारले व्यक्त गरेको अभिव्यक्ति वा सम्प्रेषित कुरा मार्मिक हुनु आवश्यक मानिन्छ । सर्वप्रथम ब्रह्माले सरस्वतीलाई सरस्वतीले नारदलाई, नारदले महर्षि भरतलाई सुनाएपछि भरतले नाट्यशास्त्रका माध्यमबाट सङ्गीतको प्रचारप्रसार गरेको भनिन्छ ।
अन्तमा
गीत–सङ्गीतका माध्यमबाट सशक्त जनचेतना जगाउने उद्देश्यले प्रगतिवादी गीतहरू रचना गरिएका पाइन्छ । त्यसै क्रममा ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ’ जस्ता गीत रचना गरी नेपालका विभिन्न गाउँ र सहरहरूमा फैलाइएका थिए । यसरी नै अहिले हरि मञ्जुश्रीले रचना र सङ्गीत गर्नुभएका जागरण गानहरूले पनि नेपाली साहित्य र सङ्गीतका क्षेत्रमा एउटा छुट्टै मानक खडा गरेको र मौलिक रूपमा प्रस्तुत भएको देखिन्छ । मेरो उक्त पुस्तकमा मैले चर्चा गरेका गानहरू निम्न शीर्षकहरूमा छन्
१. नीलकण्ठेश्वर महादेवको जयगान २. गणेशप्रार्थना
३. देवीप्रार्थना
५. शिवप्रार्थना
७. हे सच्चिदानन्द विशुद्धदेव
८. फूल हुँ भगवन् तिम्रो चरणको
९. ज्ञानको धन देऊ सबैलाईध
४. सूर्यप्रार्थना
६. विष्णुप्रार्थना
१०. सुन्दरताको बीज छर
फाेटाेमा हेर्नुहाेस्...
