रास्वपा थिमि नगर सभापतिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत
जेठ ९, २०८३, शनिबार | राति ०७:१८ बजे | 455
भक्तपुरको मध्यपुर थिमि रास्वपाको नगर सभापतिमा न्हुछेरत्न मानन्धर सर्वसम्मत
केके मानन्धर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यपुर थिमि नगर समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । एभरेस्ट पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले १३ सदस्यीय नगर कार्यसमिति, जिल्ला प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा महाधिवेशन प्रतिनिधिहरू चयन गरेको हो ।
अधिवेशनबाट सर्वसम्मत रूपमा न्हुछेरत्न मानन्धर सभापतिमा निर्वाचित भएका छन् । त्यसैगरी उपसभापतिमा उषा प्रजापति, सचिवमा मुरारी नेपाल तथा सहसचिवमा बोध कुमार भण्डारी निर्वाचित भएका छन् । सदस्यहरूमा चन्द्र भक्त श्रेष्ठ, रिता खनाल, राजेन्द्र चक्रधर, महेश्वर श्रेष्ठ, समिर पौडेल, प्रविना कायस्थ, सलिना कार्की र सजिना प्रजापति रहेका छन् । दलित महिला सदस्य भने पछि मनोनित गरिने जनाइएको छ ।
त्यसैगरी जिल्ला प्रतिनिधिमा सुस्मिता श्रेष्ठ, संयम कोइराला र सुरज श्रेष्ठ चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा राजेश उप्रेती र राधाकृष्ण श्रेष्ठ चयन भएका छन् । अधिवेशनको लागि निर्वाचन समिति संयोजकको जिम्मेवारी पाएका अमिर न्यौपानेले महाधिवेशन प्रतिनिधिमा उज्वल श्रेष्ठ र हेमन्त राज बराल चयन गराएका हुन् ।
कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार २०८० जेठ २० गते न्हुछेरत्न मानन्धरको संयोजनमा तदर्थ समिति गठन भएपछि नगरस्तरीय संगठन निर्माण तथा विस्तारलाई तीव्रता दिइएको थियो । हाल मध्यपुर थिमिमा रास्वपाका ५९८ सक्रिय सदस्य रहेका छन् । नगरका ८ वडामा अधिवेशन सम्पन्न भइसकेको तथा एउटा वडामा तयारी भइरहेको जानकारी दिइएको छ ।
प्रतिवेदनमा गत प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट राजीव खत्रीलाई विजयी गराउन नगर समितिले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ । त्यसपछि नगरमा पार्टीप्रतिको विश्वास र जनसमर्थन बढ्दै गएको दाबी गरिएको छ ।
सभापति मानन्धरले प्रस्तुत गरेको “मभन्दा हामी: समृद्ध मध्यपुर निर्माण” शीर्षकको प्रतिवेदनमा मौलिकता र आधुनिकतालाई जोड दिँदै योजनाहरू अघि सारिएको छ । ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्व बोकेको पुरानो बस्ती क्षेत्रमा मौलिक शैली संरक्षण गर्ने तथा नयाँ बस्ती क्षेत्रमा योजनाबद्ध, एकीकृत र पैदलमैत्री विकास अवधारणा अघि बढाइने उल्लेख गरिएको छ ।
त्यस्तै स्थानीय उत्पादन प्रवद्र्धन, रोजगारी सिर्जना, कला–संस्कृति, सम्पदा र पर्यटनलाई अर्थतन्त्रसँग जोड्न “लाइभ कल्चर इन अडिटोरियम” अवधारणा विकास गर्ने योजना पनि प्रस्तुत गरिएको छ । साथै रात्रीकालीन पर्यटन, खानेपानीको समुचित वितरण, कृषि, वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन, स्वास्थ्य सेवा विस्तार, प्रशासनिक सुधार, सुशासन, शिक्षा तथा सामाजिक सुरक्षाका विषयलाई प्राथमिकतामा राखिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)