"AI Tools को व्यावहारिक ज्ञान तथा सीप विकास सम्बन्धी" तालिम सम्पन्न
जेठ ९, २०८३, शनिबार | साँझ ०४:०४ बजे | 95
भक्तपुर, ९ जेठ । केदारनाथ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा एक दिवसीय "AI Tools को व्यावहारिक ज्ञान तथा सीप विकास सम्बन्धी" विशेष तालिम भक्तपुरको जगाती-७ मा सभा हलमा सम्पन्न भएको छ । "भविष्यको आधार सुरक्षित लगानी, सुरक्षित लगानीको लागि केदारनाथ सहकारी" भन्ने मूल नाराका साथ संचालित यस संस्थाले पछिल्लो प्रविधिलाई आत्मसाथ गर्दै आफ्ना सदस्य तथा सरोकारवालाहरूका लागि यो तालिम आयोजना गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका सल्लाहकार रामकृष्ण प्रजापतिले प्रविधिलाई डर वा चुनौतीका रूपमा नभई एक ठूलो अवसरका रूपमा लिनुपर्नेमा जोड दिनुभयो। उहाँले तालिममा सिकेका प्रविधियुक्त कुराहरूलाई समाजको हितको निम्ति प्रयोग गर्न सक्नुपर्छ भन्नुभयो । उहाँले तालिममा सिकेको ज्ञानबाट सहकारी सदस्यहरूको आर्थिक र सामाजिक स्तर उकास्ने र सहकारीको विज्ञापन र प्रवर्द्धनमा जोड्न सके मात्र तालिमको वास्तविक सार्थकता रहने विचार व्यक्त गर्नुभयो।
तालिममा प्रशिक्षकका श्रीराम कासिछ्वाले एआई (AI) टूल्सका विभिन्न आयाम, यसको दैनिक जीवनमा हुने प्रयोग र महत्त्वबारे व्यावहारिक ज्ञान प्रदान गर्नुभएको थियो। प्रशिक्षणका क्रममा उहाँले एआई टूल्सहरूलाई संस्थाको प्रवर्द्धन, व्यवसाय वृद्धि र डिजिटल सामग्री (Content) निर्माणमा कसरी प्रभावकारी रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुरा सिकाउनुभयो। प्रशिक्षक कासिछ्वाले भन्नुभयो, "एआई अब भविष्य मात्र होइन, हाम्रो वर्तमानको अपरिहार्य आवश्यकता बनिसकेको छ। यसको सही सदुपयोग गर्दै हामीले साइबर अपराध र यसको दुरुपयोगबाट बच्न पनि उत्तिकै सजग हुनुपर्छ।"
कार्यक्रमका सभापति एवं केदारनाथ साकोसका अध्यक्ष श्री राजभाई तजलेले तालिमबाट प्राप्त ज्ञानलाई सिर्जनात्मक र सकारात्मक कार्यमा मात्र प्रयोग गर्न अनुरोध गर्नुभयो। उहाँले प्रविधिको क्षेत्रमा संस्थालाई अझ अगाडि बढाउन आगामी दिनहरूमा पनि यस्ता उपयोगी र व्यावहारिक तालिमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाका व्यवस्थापक श्री दयाराम तजलेले पछिल्लो समय सामाजिक सञ्जाल र एआईको दुरुपयोगमार्फत भइरहेका चरित्र हत्या, नक्कली फोन कल (Deepfake Audio/Video), ब्ल्याकमेलिङ र अनलाइन सपिङमा हुने डिजिटल ठगीका घटनाहरूबारे चर्चा गर्दै सहभागीहरूलाई अपरिचित नम्बर वा शंकास्पद म्यासेजहरूबाट सचेत रहन आग्रह गर्नुभयो।
संस्थाका कोषाध्यक्ष साजन कस्पालले स्वागत मन्तव्य दिनुभएको उक्त कार्यक्रममा सल्लाहकार रामकृष्ण छुस्यावाग लगायत तालिममा सहभागी प्रशिक्षार्थीहरुले तालिम बारे आ आफ्नो अनुभव समेत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमको समापन सत्रमा तालिमलाई सफलतापूर्वक सम्पन्न गराउनुहुने प्रशिक्षक श्रीराम कासिछ्वालाई संस्थाको तर्फबाट कृतज्ञता ज्ञापन गर्दै प्रशंसा-पत्र र मायाको चिनो प्रदान गरिएको थियो। साथै, तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
उक्त तालिममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सहकारीका पदाधिकारी तथा कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
