“वडास्तरिय स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” सुरु हुँदै
जेठ ९, २०८३, शनिबार | राति ०८:१४ बजे | 90
काठमाडौं । खेलकुद केवल मनोरञ्जन मात्र होइन, समाजलाई एकताबद्ध बनाउने शक्ति पनि हो । युवाको ऊर्जा, अनुशासन, संघर्ष र सपनालाई एउटै मैदानमा उतार्ने माध्यम हो फुटबल । यही भावनालाई आत्मसात गर्दै काठमाडौं महानगरपालिका वडा नं। १६ ले स्वर्गीय मुकुन्द रिजालको स्मृतिमा “वडा स्तरिय स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता २०८३” आयोजना गर्ने भएको छ । वर्षौंसम्म समाज, युवा र खेलकुद क्षेत्रप्रति समर्पित व्यक्तित्वका रूपमा चिनिएका स्वर्गीय मुकुन्द रिजालको सम्झनालाई जीवित राख्ने उद्देश्यले यो प्रतियोगिा आयोजना हुन लागेको १६ नं. वडाका वडा सचिव प्रकाश खड्काले बताउनु भयो । वडाको संयोजकत्वमा आयोजना हुन लागेको यो प्रतियोगिताले राजधानीको खेलकुद वातावरणलाई फेरि एकपटक तात्ने विश्वास गरिएको छ । प्रतियोगिताको उद्घाटन २०८३ साल जेठ १० गते बिहान ७ बजे हुने आयोजकले जनाएको छ । राजधानीको ऐतिहासिक तथा चर्चित लैनचौर खेल मैदानमा हुने उद्घाटन समारोहलाई विशेष र भव्य बनाइने तयारी गरिएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम रहेको छ । प्रतियोगितामा काठमाडौं महानगरपालिकाका विभिन्न वडाका गरी १३ वटा टिमको सहभागिता रहनेछ । प्रतियोगिताको पहिलो खेल आयोजक वडा नं. १६ र वडा नं. १० बीच हुने तय भएको छ । उद्घाटन खेललाई नै प्रतिष्ठाको भिडन्तका रूपमा हेरिएको छ । स्थानीय खेलप्रेमीहरूमा अहिलेबाटै उत्साह र चासो बढ्न थालेको छ । आयोजकका अनुसार प्रतियोगिताले केवल उपाधिका लागि प्रतिस्पर्धा गराउने मात्र होइन, युवामा सकारात्मक सोच, अनुशासन र सहकार्यको भावना विकास गराउने लक्ष्य राखेको छ । पछिल्लो समय कुलत, हिंसा र निराशाले युवालाई असर गरिरहेको बेला खेलकुदमार्फत सही बाटोमा डोर्याउने प्रयासस्वरूप प्रतियोगिता आयोजना गरिएको बताइएको छ । स्थानीय बासिन्दाहरूले पनि प्रतियोगितालाई निकै सकारात्मक रूपमा लिएका छन् । “स्वर्गीय मुकुन्द रिजालले समाजका लागि धेरै योगदान गर्नुभएको थियो । उहाँको सम्झनामा हुने यो प्रतियोगिता केवल खेल मात्र होइन, भावनासँग जोडिएको अभियान हो,” एक स्थानीय युवाले बताए । लैनचौर मैदानमा हुने यो प्रतियोगिताले बिहानैदेखि खेलप्रेमीको भीड तान्ने अनुमान गरिएको छ । खेल मैदानमा युवा खेलाडीहरूको दौड, दर्शकको हुटिङ, जितका लागि हुने संघर्ष र हारपछि पनि देखिने खेल भावना—यी सबै दृश्यले राजधानीलाई केही दिन खेलमय बनाउने अपेक्षा गरिएको छ । विशेषगरी वडा नं.१६ र वडा नं. १० बीचको उद्घाटन खेल निकै रोमाञ्चक हुने खेल विश्लेषकहरूको अनुमान छ । दुवै टोलीले पछिल्ला केही सातादेखि तीव्र अभ्यास गरिरहेका छन् । समर्थकहरू पनि आफ्नो टिमको जितका लागि सामाजिक सञ्जालदेखि स्थानीय टोलसम्म उत्साहपूर्वक प्रचारमा जुटेका छन् । प्रतियोगिताले नयाँ प्रतिभाशाली खेलाडी जन्माउने विश्वाससमेत गरिएको छ । स्थानीय स्तरबाटै राष्ट्रिय खेलाडी उत्पादन गर्ने सपना बोकेको यो प्रतियोगितालाई भविष्यमा अझ ठूलो स्वरूप दिने तयारीसमेत भइरहेको आयोजक स्रोतले जनाएको छ । स्वर्गीय मुकुन्द रिजालको नाममा हुन लागेको यो फुटबल प्रतियोगिता केवल खेलकुद कार्यक्रम होइन, एउटा भावना, एउटा सम्झना र युवालाई सकारात्मक दिशामा अघि बढाउने प्रेरणादायी अभियानका रूपमा हेरिएको छ । राजधानी काठमाडौं फेरि एकपटक फुटबलको उत्साहमा रमाउने निश्चित देखिएको छ ।
फाेटाेमा हेर्नुहाेस्...
