दिवा खाजा वितरण कार्यक्रम–२०८३ औपचारिक रूपमा सुरु


जेठ ९, २०८३, शनिबार | विहान ११:२७ बजे | 75


दिवा खाजा वितरण कार्यक्रम–२०८३ औपचारिक रूपमा सुरु

भक्तपुर । बिहानको सात बज्न नपाउँदै मध्यपुर थिमि नगरपालिका -९ बोडेस्थित केन्द्रीकृत भान्छाघर ( सेन्टर किचेन) मा चहलपहल सुरु भइसकेको हुन्छ । ठूलो भाँडामा पाकिरहेको खाना, तरकारी काट्न व्यस्त कर्मचारी, प्याकिङको तयारी र विद्यालय पुग्ने समयसँगै बढ्दै जाने हतारो-यी सबै दृश्यले यहाँ केवल खाना मात्र पकिरहेको छैन, हजारौँ बालबालिकाको भविष्य पनि सँगै निर्माण भइरहेको अनुभूति गराउँछ ।

कहिल्यै विद्यालयमा पौष्टिक खाजा खाने अवसर नपाएको पुस्ताले अहिले नयाँ पुस्ताका लागि फरक अभ्यास सुरु गरेको छ । विश्व खाद्य कार्यक्रम र फुड फर लाइफको सहकार्यमा मध्यपुर थिमि नगरपालिकाले सेन्टर किचेनमार्फत दिवा खाजा वितरण कार्यक्रम–२०८३ औपचारिक रूपमा सुरु गरेसँगै सामुदायिक विद्यालयका हजारौँ बालबालिकाको दैनिकी बदलिन थालेको छ ।

विश्व खाद्य कार्यक्रम र फुड फर लाइफको सहकार्यमा मध्यपुर थिमि नगरपालिकाले सञ्चालनमा ल्याएको विद्यालय दिवा खाजा कार्यक्रम अहिले नगरभित्रका १८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत २२०० भन्दा बढी विद्यार्थीका लागि आशाको आधार बनेको छ ।

नगरपालिकाले केन्द्रीकृत भान्छाघरमार्फत ईसीडीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दैनिक पोषणयुक्त दिवा खाजा उपलब्ध गराउन थालेपछि विद्यालयको वातावरण मात्रै होइन, विद्यार्थीको दैनिकीसमेत बदलिन थालेको छ ।

भान्छाघरमा अहिले १५ जना कर्मचारी दैनिक रूपमा खटिएका छन् । कसैले तरकारी तयार पारिरहेका हुन्छन्, कसैले खाना पकाइरहेका हुन्छन् भने कसैले प्याकिङ र वितरण व्यवस्थापनमा जुटिरहेका हुन्छन् । खाद्य निरीक्षकको नियमित निगरानीमा तयार हुने खाजा विद्यार्थीसम्म ताजा, स्वस्थ र स्वच्छ रूपमा पुर्‍याइन्छ ।

हरेक दिन फरक-फरक परिकार तयार गरिन्छ । पोषण सन्तुलनलाई ध्यानमा राखेर बनाइने खाजाले बालबालिकाको दैनिक आवश्यक पोषण पूरा गर्ने लक्ष्य राखिएको छ । विद्यालयमा खाजा वितरण हुने समय अहिले विद्यार्थीका लागि उत्सुकताको क्षण बन्न थालेको छ ।

कार्यक्रम उद्घाटनका क्रममा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ भावुक देखिनुभयो । उहाँले आफ्नै विद्यार्थी जीवन सम्झिँदै भन्नुभयो, “हामीले विद्यालयमा पौष्टिक खाजा खाने अवसर पाएनौँ । कहिलेकाहीँ एक मुठी चिउरा बोकेर विद्यालय जान्थ्यौँ । अहिलेका बालबालिकालाई त्यो अवस्था भोग्न नपरोस् भनेर हामीले यो कार्यक्रम सुरु गरेका हौँ ।”

उहाँका अनुसार अहिलेका बालबालिका बाहिरका अस्वस्थकर खानेकुराको प्रभावमा परिरहेका छन् । विद्यालयमै स्वस्थ, सुरक्षित र पोषणयुक्त खाना उपलब्ध गराउँदा उनीहरूको स्वास्थ्य मात्र होइन, पढाइप्रतिको रुचि पनि बढ्ने विश्वास नगरपालिकाको छ ।

नगर प्रमुख श्रेष्ठले कार्यक्रम सुरु गर्नु मात्रै ठूलो कुरा नभई त्यसलाई दीगो बनाउनु सबैभन्दा चुनौतीपूर्ण पक्ष भएको बताउनुभयो । “सुरुमा यो कार्यक्रम कसरी सञ्चालन गर्ने, कसरी सफल बनाउने भन्ने धेरै छलफल भयो । नगरपालिकाको स्रोत, साधन र उपलब्ध स्थानको व्यवस्थापन गर्दै सबैको सहकार्यबाट आज यो सम्भव भएको हो,” उहाँले भन्नुभयो ।

यो कार्यक्रम सुरु गर्नु अधि हामीले विद्यालयमा पुगेर शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालासँग प्रत्यक्ष प्रतिक्रिया लिइएका थियौँ । प्राप्त प्रतिक्रिया अत्यन्त सकारात्मक रहेको उहाँले बताउनुभयो ।

नगर प्रमुख श्रेष्ठले यो कार्यक्रम केवल खाना वितरणमा सीमित नभई सामाजिक समानताको अभ्याससमेत भएको उल्लेख गर्नुभयो । “पहिले कसैले राम्रो खाना ल्याउँथ्यो, कसैले सामान्य र कतिपय विद्यार्थीले केही पनि ल्याउँदैनथे । अहिले सबै विद्यार्थी एउटै स्थानमा बसेर एउटै प्रकारको पौष्टिक खाना खान्छन् । यसले उनीहरूबीच समानता, आत्मीयता र मित्रताको भावना विकास गरेको छ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार अहिले ईसीडीदेखि कक्षा ५ सम्म कार्यक्रम लागू गरिएको भए पनि भविष्यमा कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई पोषणयुक्त खाजा उपलब्ध गराउने लक्ष्य नगरपालिकाले लिएको छ ।

नगर उप-प्रमुख विजयकृष्ण श्रेष्ठका अनुसार कार्यक्रम सञ्चालनका लागि नगरपालिकाले भान्सा निर्माण, पूर्वाधार व्यवस्थापन र खाद्य सामग्री आपूर्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । “नेपाल सरकारले प्रति विद्यार्थी उपलब्ध गराउने रकममा नगरपालिकाले थप सहयोग गरेको छ,” उहाँले भन्नुभयो, “केन्द्र सरकार, स्थानीय सरकार र विकास साझेदारबीचको सहकार्यले यो कार्यक्रम सफलतापूर्वक अघि बढिरहेको छ ।”

उहाँले स्वस्थ विद्यार्थीबाट मात्रै सक्षम र गुणस्तरीय जनशक्ति निर्माण गर्न सकिने भएकाले शिक्षा र स्वास्थ्यलाई सँगसँगै अघि बढाउन खोजिएको बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेले विद्यालय दिवा खाजा कार्यक्रम नेपाल सरकारको पोषणसम्बन्धी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार कार्यक्रमपछि विद्यार्थीको विद्यालयप्रतिको आकर्षण र नियमित उपस्थितिमा सुधार देखिन थालेको छ । “अभिभावकहरू पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउन थप उत्साहित भएका छन्,” उहाँले भन्नुभयो । यद्यपि विद्यार्थी सङ्ख्या, पूर्वाधार, जनशक्ति व्यवस्थापन र स्थानीय आवश्यकताजस्ता चुनौती अझै रहेको उहाँको भनाइ छ ।

फुड फर लाइफ कार्यक्रमका कार्यकारी निर्देशक चिरञ्जीवी दाहालले यो अभियान सन् २०१७ मा १८ जना बालबालिकालाई भोजन उपलब्ध गराएर सुरु गरिएको स्मरण गर्नुभयो । “सन् २०२० सम्म आइपुग्दा हामीले आफ्नै स्रोतसाधनबाट करिब १ हजार ५ सय बालबालिकालाई नियमित भोजन उपलब्ध गराएका थियौँ,” उहाँले भन्नुभयो । पछि टोखा र बुढानीलकण्ठ नगरपालिकासँग सहकार्य गर्दै कार्यक्रम विस्तार गरिएको र अहिले त्यहाँ कक्षा १० सम्मका विद्यार्थीलाई समेटिएको जानकारी दिनुभयो ।

अहिले यस मध्यपुर थिमिमा कार्यक्रम सञ्चालनका लागि करिब दुई वर्षदेखि तयारी गरिएको र नगरपालिकाको विशेष पहलमा कार्यक्रम कार्यान्वयनमा आएको उहाँको भनाइ छ । “कुनै कार्यक्रम सुरु गर्नु ठूलो उपलब्धि होइन, त्यसलाई दीगो र प्रभावकारी बनाइराख्नु नै वास्तविक सफलता हो,” दाहालले भन्नुभयो ।

विद्यालयस्तरमा कार्यक्रमको प्रभाव प्रत्यक्ष अनुभव गरिरहेका प्रधानाध्यापक बुद्धि कुमार घोले सुरुआती दिन सम्झिँदै विद्यालयले आफ्नै सीमित स्रोतसाधन प्रयोग गरेर बालबालिकालाई खाजा उपलब्ध गराउने प्रयास गरेको बताउनुभयो । “त्यसबेला सानो–सानो सहयोग जुटाएर निकै कठिन अवस्थामा कार्यक्रम चलाएका थियौँ,” उहाँले भन्नुभयो, “नगरपालिकाले दिवा खाजा कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको समाचार सुनेदेखि नै हामी उत्साहित थियौँ । अहिले कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा आएपछि विद्यार्थीहरूले गुणस्तरीय र पोषणयुक्त खाजा पाइरहेका छन् ।”

उहाँका अनुसार हालसम्मको अनुभव अत्यन्त सकारात्मक रहेको छ । विद्यार्थी, अभिभावक र विद्यालय समुदायबाट राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ। “यो केवल भोजन कार्यक्रम मात्र होइन,” प्रधानाध्यापक घोले भन्नुभयो, “यो शिक्षा, स्वास्थ्य, पोषण र बालबालिकाको समग्र विकाससँग जोडिएको अभियान हो ।” उहाँले यस्ता कार्यक्रम सरकार परिवर्तनसँगै रोकिनु नहुने बताउँदै दीर्घकालीन रूपमा निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बोडेको केन्द्रीकृत भान्छाघरमा दैनिक पाकिरहेको त्यो खाना केवल पेट भर्ने माध्यम मात्र होइन । त्यो सामुदायिक विद्यालयका बालबालिकाले पनि सम्मानजनक, स्वस्थ र गुणस्तरीय भोजन पाउनुपर्छ भन्ने सोचको प्रतीक हो । भोकले सिकाइ कमजोर बनाउँछ, कुपोषणले भविष्य सीमित बनाउँछ । तर मध्यपुर थिमिले सुरु गरेको यो अभियानले अब विद्यालयभित्र अब पक्कै नयाँ सन्देश दिने छ - स्वस्थ बालबालिका नै गुणस्तरीय शिक्षाको आधार हुन् ।

विद्यालयमा भोकै बस्ने बालबालिकाको संख्या घट्दै जाँदा सम्भवतः कक्षाकोठामा उनीहरूको ध्यान बढ्नेछ, सिकाइ सुधारिनेछ र भविष्यप्रतिको आत्मविश्वास पनि बलियो हुनेछ । मध्यपुर थिमिले सुरु गरेको यो अभियान अब केवल दिवा खाजा कार्यक्रममा सीमित छैन, यो स्वास्थ्य, शिक्षा र सामाजिक समानताको साझा अभियान बनेको छ ।

फाेटाेमा हेर्नुहाेस्...

दिवा खाजा वितरण कार्यक्रम–२०८३ औपचारिक रूपमा सुरु

Comments