भक्तपुरमा जबरजस्ती करणीका ४ वटा मुद्दा


जेठ ४, २०८३, सोमबार | साँझ ०५:५० बजे | 180


भक्तपुरमा जबरजस्ती करणीका ४ वटा मुद्दा

नेपाल प्रहरी अन्तर्गत जिल्ला प्रहरी परिसर भक्तपुरले सार्वजनिक गरेको २०८३ साल बैशाख महिनाको प्रेस विज्ञप्तिअनुसार भक्तपुरमा एक महिनामा १३६ वटा मुद्दा दर्ता भएका छन् भने ५७ वटा मुद्दा फर्छ्योट गरिएको छ ।

प्रहरीका अनुसार बैशाख महिनामा १६ वटा जघन्य तथा गम्भीर अपराधका मुद्दा दर्ता भएका छन् । जसमा लागूऔषधका १०, ज्यान मार्ने उद्योगका २ र जबरजस्ती करणीका ४ वटा मुद्दा रहेका छन् । आर्थिक अपराधतर्फ बैंकिङ कसुरका ४६ र ठगीका १० गरी ५६ वटा मुद्दा दर्ता भएका छन् ।

लागूऔषध नियन्त्रण अभियानअन्तर्गत प्रहरीले १३ जनालाई पक्राउ गरेको जनाएको छ । बरामद लागूऔषधमा डाइजोपाम, नुर्फिन, फेनार्गन, ट्रामाडोल, नाइट्राजेपाम, ट्यापेन्टाडोल ट्याब्लेट, पोल्याण्ड, गाँजा र खैरो हेरोइनसमेत रहेको छ । यस्तै, बैशाख महिनामा ८८ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११८ जना घाइते भएका छन् । दुर्घटनाको मुख्य कारण लापरवाहीपूर्वक सवारी चलाउनु रहेको प्रहरीले जनाएको छ ।

घरेलु हिंसाका ९ वटा उजुरी परेकोमा सबै उजुरी मिलापत्रमार्फत टुंग्याइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९ वटा अपराधका मुद्दा दर्ता भएका छन् ।

प्रहरीले समुदाय तथा विद्यालय केन्द्रित १४७ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ती कार्यक्रममा ७ हजार ६२२ जनाको सहभागिता रहेको थियो । साइबर अपराध, लागूऔषध नियन्त्रण, चोरी नियन्त्रण र आत्महत्या न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको विज्ञप्तिमा उल्लेख छ ।यसैगरी, राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले करिब १४ लाख ८२ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ ।

Comments