पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि


जेठ ५, २०८३, मङ्गलबार | विहान १०:३९ बजे | 15


पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि

दैलेख पेट्रोलियम परियोजनामा ढिलाइ नगर्न कांग्रेसको चेतावनी

नेपाली कांग्रेसकी प्रमुख सचेतक वास्ना थापाले दैलेखको पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले प्राथमिकतामा राख्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। रफत सञ्चार क्लबमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले सुर्खेत–दैलेख सडकको कमजोर अवस्थाका कारण उत्खनन कार्य प्रभावित भएको बताइन्। नेपालकै आर्थिक रूपान्तरण गर्न सक्ने क्षमता बोकेको यो परियोजनालाई तीव्र गतिमा अघि बढाउन सरकार गम्भीर हुनुपर्ने उनको भनाइ थियो। थापाले संसदमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिमाथि पनि प्रश्न उठाइन्। सांसदहरूले उठाएका विषयमा प्रधानमन्त्रीले प्रत्यक्ष जवाफ नदिनुले संवैधानिक जिम्मेवारी र संसदीय मर्यादामाथि प्रश्न उठेको उनको टिप्पणी थियो। उनले नेपाली कांग्रेस संविधान र लोकतन्त्रको पक्षमा दृढतापूर्वक उभिने स्पष्ट पार्दै सरकारका सकारात्मक कामलाई समर्थन र कमजोरीमाथि खबरदारी गरिरहेको बताइन्। कांग्रेसभित्र विभाजनको चर्चा चलिरहेको विषयमा प्रतिक्रिया दिँदै थापाले पार्टीभित्रको बहस, गुट–उपगुट र विचार मन्थनलाई लोकतान्त्रिक अभ्यासको हिस्सा भएको उल्लेख गरिन्। महाधिवेशन नजिकिँदै जाँदा यस्ता गतिविधि स्वाभाविक हुने भन्दै उनले शीर्ष नेतृत्वले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विश्वास व्यक्त गरिन्।

Comments