मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवश्यक


जेठ ४, २०८३, सोमबार | राति १०:०६ बजे | 45


मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवश्यक

महिला र बालबालिकाको मानसिक स्वास्थ्य कल्याण तथा हिंसा न्यूनीकरणका लागि विभिन्न धर्मका धार्मिक अगुवामार्फत सरकारले काम गर्न सके प्रभावकारी हुने सरोकारवालाहरूले बताएका छन् । महिला हिंसाविरुद्ध राष्ट्रिय अन्तरधार्मिक सञ्जाल (निरन) नेपालले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

हानिकारक परम्परागत अभ्यास अन्त्यका लागि धर्मगुरुहरूको भूमिकाको प्रशंसा गर्दै अब महिला हिंसा न्यूनीकरण र महिलाको मानसिक स्वास्थ्यका क्षेत्रमा काम केन्द्रित गर्न लागिएको निरनका उपाध्यक्ष एवं ओसोधाराका प्राचार्य डा. नर्मता पाण्डेले बताउनुभयो ।

अन्तरधार्मिक गतिविधिमार्फत विभिन्न कार्यक्रम सञ्चालन गरी समाजमा रहेका कुरीतिहरू अन्त्य गर्न सकिएको उदाहरण प्रस्तुत गर्दै अब मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि धर्मगुरुहरू केन्द्रित हुने योजना रहेको निरनका व्यवस्थापक नहिदा बानुले जानकारी दिनुभयो ।

इसाई धर्मका पास्टर रुविन पाख्रीनले धर्मका नाममा हुने कुरीतिहरूको अन्त्य गर्दै मानव तथा परिवार कल्याणका लागि आफूहरूले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न धर्मका संघसंस्थाका नेतृत्ववर्ग, धर्मगुरु, धार्मिक अगुवा, सरकारका प्रतिनिधि तथा सरोकारवालाबीच छलफल भएको थियो । कार्यक्रममा सहभागी मुस्लीम आयोगका कार्यवाहक अध्यक्ष महमुद्धिनी अलीले यस्ता अन्तरधार्मिक छलफलबाट धेरै कुरा सिक्न पाएको बताउनुभयो ।

महिला आयोगका उपसचिव शिता अधिकारीले महिला आयोगले पनि महिला हिंसा न्यूनीकरण तथा मानसिक स्वास्थ्यका क्षेत्रमा अन्तरधार्मिक संस्थासँग सहकार्य गर्ने बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले मानसिक स्वास्थ्य प्रवर्द्धन तथा महिला हिंसा अन्त्यका लागि सञ्चारमाध्यम र सामाजिक सञ्जालको क्षमता विकास आवश्यक रहेको बताउनुभयो ।

समाज कल्याण परिषद्का निर्देशक भगवती संग्रौलाले परिषद् सधैं समाज कल्याण तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका गतिविधि सञ्चालन गर्ने संस्थासँग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

मानसिक स्वास्थ्य सुधारका लागि धार्मिक अगुवा र सरकारको सहकार्य आवश्यक

Comments