'इब्राहिमको घोडा र बिकिनीहरू' लघुकथासङ्ग्रहको लोकार्पण


जेठ ४, २०८३, सोमबार | दिउँसो १२:५८ बजे | 85


'इब्राहिमको घोडा र बिकिनीहरू' लघुकथासङ्ग्रहको लोकार्पण

माधव घिमिरे 'अटल'

बहुआयामिक साहित्यकार महेश प्रसाईको लघुकथासङ्ग्रह 'इब्राहिमको घोडा र बिकिनीहरू' को एक विशेष समारोहबीच ज्येष्ठ तीन गते राजधानीमा लोकार्पण गरियो । कृति सार्वजनीकरण कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले महेश प्रसाई सशक्त कवि मात्र नभई एक विशिष्ट कथाकारसमेत भएको 'इब्राहिमको घोडा र बिकिनीहरू' लघुकथासङ्ग्रहले पुष्टि गरेको बताए । प्रसाई नेपाल र सिक्किमको साहित्य-सेतु भएको पनि उप्रेतीले खुलासा गरे । प्रसाईका हरेक विधा विचारोत्तेजक हुने भन्दै उप्रेतीले प्रसाईको मुक्तकण्ठले सराहना गरे । लघुकथाको सौन्दर्यशास्त्रीय व्याख्यामा आधारित भएर प्रसाईले लघुकथा सिर्जना गरेको उप्रेतीको स्पष्टोक्ति थियो । समारोहका प्रमुख वक्ता गोपी मैनालीले महेशको शिल्प आख्यानको जस्तो र भाव भने कविता जस्तो रहेको भन्दै रहर र हुटहुटीमा लेख्नेहरूको जमातबीच महेश प्रसाई साधना गरी लेख्ने साधक भएको ठोकुवा गरे । उनी त्रासदीका नायक मात्र नभई ईश्वर बल्लभझैँ लाग्ने, पढेपछि एउटा कुतूहल छोड्ने, प्रश्न उब्जाइदिने एउटा अनुकरणीय लेखक भएको मैनालीको जिकिर थियो । एउटा पुस्तकमा यतिधेरै विषय उठान अत्यन्त कम लेखकबाट मात्र सम्भव हुने दाबी गर्दै छनोट र ग्रहण गर्ने, सुषुप्त चेतना सतहमा ल्याउने ताकत भएका बिरलाकोटी स्रष्टामध्ये प्रसाई एक भएको मैनालीको कथन थियो । मजबुन आख्यानीकरण नै लघुकथा हुने भन्दै आकार र आकृतिले मात्रि लघुकथा बन्न नसक्ने मैनालीको दाबी थियो । आफूले भोगेका कुराले पाठकको दिमाग बिथोल्ने बन्यो भने बल्ल प्रभावकारी लघुकथा मानिने मैनालीले बताए । कथामा निबन्धकारिता र निबन्धमा काव्यकारिता प्रसाईको विशेषता भएको मैनालीको कथन थियो । कृतिकार महेश प्रसाईले समारोहमा उपस्थित अधिकांशको नाम लिएरै आभार अभिव्यक्त गर्दै गोपी मैनालीलाई ओजपूर्ण भूमिका लेखेकोमा विशेष आभार व्यक्त गरे । खासगरी मनमिल्दा साथीहरूसित एक छाक सँगै खाना खाने संयोग मिलाउन यो कार्यक्रम आयोजना गरेको प्रस्ट्याए । यदि समाजमा गोपी मैनाली, विनोद मन्जन, हरिप्रसाद सिलवाल भएनन् भने गुणस्तरीय सिर्जनाको मूल सुक्ने प्रसाईले बताए । खेमराज पोखरेलले कृतिको गुणवत्ताका हिसाबले महेश प्रसाईका लघुकथा आहा क्याबात् भन्ने खालका छन् भने । लघुकथामा विधा भञ्जन हो वा विधा मिश्रण हो यकिन गर्न भने कठिन भएको पोखरेलको कथन थियो । 'भाषा दुर्बोध्य यसर्थ छ कि उहाँका मिथक पश्चिमबाट ल्याइएका छन्', पोखरेलले थपे । लघुकथाका कतिपय पाटा पक्ष नवोदितहरूले सिक्नुपर्ने नमुना रहेको पोखरेलको भनाइ थियो । सिक्किमका सर्जक राजेन सिवाकोटीले प्रसाईको साहित्यिक योगदानको प्रशंसा गर्दै नेपाली साहित्यलाई विश्व साहित्यसम्म पुर्‍याएको श्रेय दिए । समालोचक डा. हरिप्रसाद सिलवालले विधा सिद्धान्तका हिसाबले काव्यिक ढङ्गले लेखिएका लघुकथा सर्वस्वीकार्य बनिसकेका भन्ने तर्क गर्दै उपन्यासलाई छोट्याएर कथा, कथालाई छोट्याएर लघुकथा बनाउन खोज्नेहरूलाई प्रसाईले सिर्जनशील झापड हानेको दाबी गरे । कविता वा लघुकथालाई सांस्कृतिक चेतनाको दृष्टिले भाषान्तर कठिन छ भन्ने सन्देश प्रसाईले दिएको सिलवालले जिकिर गरे । अर्का समालोचक डा. विनोद मन्जनले विश्व एक आयामतिर ढल्किरहेको दाबी गर्दै दुध उम्लिएर नपोखिने बरु भाँडो सानो भएर पोखिने भनी मनोविनोद गरे । मन्जनले विभिन्न लघुकथामा प्रसाईले विद्रोहलाई खुब महत्त्व दिएको खुलासा गरे । हास्यदेखि अद्भुत रससम्म प्रसाईले प्रयोग गरेको भन्दै गहिरो र साङ्केतिक भाषा प्रयोग गरिएको बताए । वरिष्ठ र कनिष्ठ भनेको चेतनाको तह, दर्शनको तह, समाज बुझ्ने तहले निर्धारण गर्ने दाबी गर्दै बौद्धिक विलासका निम्ति अत्यन्त मनोरञ्जक र सामान्य पाठकका निम्ति कथाहरू दुर्बोध्य भएको खुलासा गरे । समालोक युवराज मैनालीले महेश प्रसाई बीपी कोइराला, शङ्कर कोइराला र ईश्वरबल्लभको संयुक्त रूप हो भन्दै अब इन्द्रबहादुर चाहियो भनेर इन्द्रबहादुरको माग गरे । लघुकथा यतिखेर अत्यन्त फस्टाइरहेको यथार्थता पस्कँदै लघुकथा लेखन लता केसीदेखि प्रकाशचन्द्र लोहनीसम्म भएको मैनालीले तर्क गरे । हरेक वक्तालाई महेश प्रसाई मलाई जस्तै उच्चस्तरीय साधक लाग्दोरहेछ भन्दै अब्बललाई हेर्ने नजरमा एकरूपता आएकोमा सन्तोष व्यक्त गरे । नम्रता पाण्डेले स्वागत मन्तव्य प्रकट तथा यादव भट्टराईले सहजीकरण गरेको उक्त कार्यक्रमलाई दायित्व वाङ्मय प्रतिष्ठान,नेपालका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष रामप्रसाद पन्तले गरेका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

'इब्राहिमको घोडा र बिकिनीहरू' लघुकथासङ्ग्रहको लोकार्पण

Comments