वार्षिक सात सयको मूल्यमा पाँच लाख ३० हजारको लाइफ केयर
फाल्गुन १५, २०८०, मङ्गलबार | विहान ०५:१६ बजे | 50
काठमाडौं । भुक्तानी सेवा प्रदायक तथा डिजिटल वालेट कम्पनी ईसेवाले ईसेवाकेयरको सफलतासँगै ईसेवा लाइफ केयर योजना सार्वजनिक गरेको छ । जीवन बीमा हुने गरी कम्पनीले ईसेवा लाइफ केयर योजना सार्वजनिक गरेको हो ।
यसअघि दुर्घटना तथा बिरामी पर्दाको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले ल्याएको ईसेवाकेयरलाई ग्राहकले अत्यधिक मन पराएपछि यो नयाँ योजना थप गरिएको बताइएको छ । ईसेवा लाइफ केयर एक टर्मलाइफ जीवन बीमा प्याकेज हो, जसले पाँच लाख ३० हजारसम्मको जीवन बीमाको ग्यारेन्टी गर्छ । यो जीवन बीमा योजना सन लाइफ इन्स्योरेन्स, हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा सञ्चालन गरिएको हो । यस योजनामा ईसेवा केयरमा जस्तै विभिन्न स्वास्थ्य सम्बन्धी सेवाहरूमा अफर तथा छुट समेत समावेश गरिएका छन् । जसमा वार्षिक सात सयको सुरुवाती मूल्यमा पाँच लाख ३० हजार रुपैयाँको लाइफ केयर प्राप्त गर्न सकिन्छ । यस योजनाले सस्तो मूल्यमा १८ देखि ४५ वर्ष उमेरसम्मको बीमाका साथै अन्य स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
ईसेवा प्रयोगकर्ताले यो सेवा लिन सुरुमा ईसेवाको मोबाइल एप अथवा वेब पेजमा जानुपर्नेछ ।
कसरी खरिद गर्ने इसेवालाइफ केयर ?
१. ईसेवाको एपमा गएर ईसेवा केयर अप्सनमा क्लिक गर्नुहोस् ।
२. त्यसपछि त्यहाँ ईसेवाकेयर र ईसेवा लाइफ केयरको अप्सन देखिनेछ ।
३. ईसेवालाइफ केयरमा क्लिक गरी आवश्यक विवरण भरेर भुक्तानी गरेपछि यो सेवा लिन सकिन्छ ।
४. यो योजना खरिद गर्नका लागि प्रयोगकर्ताले ईसेवामा आफ्नो केवाईसी प्रमाणित गरेको हुनुपर्नेछ भने खरिद गरेको २४ घन्टामा यो योजना लागु हुनेछ ।
५. प्रयोगकर्ताले बीमा सेवाको उपभोग गर्न बीमा गरेको प्रमाण साथमा राख्नुको साथै दाबीका लागि आवश्यक कागजात बोक्नु पर्ने हुन्छ । ईसेवा प्रयोगकर्ताले दुर्घटना, अस्पताल भर्ना, मृत्यु दाबीका लागि हिमालयन एभरेस्ट इन्स्योरेन्समा सम्पर्क गरी आवश्यक कागजात पेस गरी भुक्तानीका लागि दाबी गर्नुपर्ने हुन्छ ।