स्वस्थ वृद्धावस्थाका लागि योग: विश्व योग दिवस २०२६ मनाउन शिक्षा मन्त्रालयको ९ बुँदे निर्णय


जेठ २५, २०८३, सोमबार | साँझ ०६:५५ बजे | 85


स्वस्थ वृद्धावस्थाका लागि योग: विश्व योग दिवस २०२६ मनाउन शिक्षा मन्त्रालयको ९ बुँदे निर्णय

नबराज काफ्ले

काठमाडौं, जेठ २५

नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयले बाह्रौं विश्व योग दिवस २०२६ (असार ७, २०८३) मनाउनका लागि मूल समारोह तयारी समितिको बैठक बसी ९ वटा महत्त्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको छ । मन्त्रालयका सचिव चुडामणी पौडेलको अध्यक्षतामा बसेको सो बैठकमा मन्त्रालयका सहसचिव रुद्रप्रसाद अधिकारी लगायत मूल समारोह समितिका प्रतिनिधिहरू,यौगिक संघसंस्थाका प्रतिनिधिहरु, मन्त्रालय भित्र रहेका विभिन्न शाखाका कर्मचारीहरू तथा नेपाल सरकारका सम्बद्ध कार्यालयका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।

शिक्षा मन्त्रालयको अनुरोधमा योग ध्यान आरोग्य सञ्जाल नेपालले पनि विश्व योग दिवस कार्यक्रमको तयारीका सम्बन्धमा आवश्यक रायपरामर्श शिक्षा सचिवको अध्यक्षतामा बसेको बैठकमा पेश गरेको थियो । सञ्जालका महासचिव नबराज काफ्लेले यस सम्बन्धमा जानकारी गराएका थिए । मन्त्रालयका सहसचिव रुद्र प्रसाद अधिकारीले जनाए अनुसार वैठकबाट गरिएका ९ वटा निर्णयहरू यस्ता थिए:- १. नेपाली सन्दर्भमा आदर्श वाक्य: "स्वस्थ वृद्धावस्थाका लागि योग" अन्तर्राष्ट्रिय स्तरमा विश्व योग दिवस २०२६ को आदर्श वाक्य "Yoga for Healthy Ageing" निर्धारित गरिएको सन्दर्भमा बैठकले नेपालको लागि यसको नेपाली भावानुवाद "स्वस्थ वृद्धावस्थाका लागि योग" प्रयोग गर्ने निर्णय गर्‍यो । यो निर्णयले वृद्धजनको स्वास्थ्य र सक्रिय जीवनशैलीमा योगको महत्त्वलाई राष्ट्रिय प्राथमिकतासँग जोड्दछ। २. चलचित्र, रक्तदान, प्रभातफेरी, सामूहिक योगसहित बहुआयामिक कार्यक्रम विश्व योग दिवसको अवसरमा देशभर विविध रचनात्मक, प्रवर्द्धनात्मक र प्रचारात्मक कार्यक्रमहरू आयोजना गर्न विभिन्न संघ-संस्थाहरूलाई अनुरोध गर्ने निर्णय भयो। यसअन्तर्गत : चलचित्र प्रदर्शनी,पुस्तक विमोचन,रक्तदान,सार्वजनिक परिसंवाद,प्रभातफेरी,दीप प्रज्ज्वलन,र्‍याली तथा झाँकी,सामूहिक योग अभ्यास,योग प्रदर्शन,वक्तृत्वकला तथा वादविवाद प्रतियोगिता,चित्रकला प्रतियोगिता लगायतका कार्यक्रम सम्पन्न भएपछि सहभागी संख्या, मुख्य क्रियाकलाप र उपलब्धि सहितको प्रतिवेदन असार १ गतेभित्र मन्त्रालयमा उपलब्ध गराउनु पर्ने समेत निर्देशन दिइएको छ । ३. प्रदेश तहमा समन्वयात्मक आयोजना प्रदेश स्तरमा विश्व योग दिवस मनाउन प्रदेशमा शिक्षा हेर्ने मन्त्रालयको संयोजनमा शिक्षा, स्वास्थ्य र पर्यटनसम्बद्ध मन्त्रालयका प्रतिनिधि समेतको सहभागितामा कार्यक्रम गर्न सबै प्रदेश सरकारहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत अनुरोध गर्ने निर्णय भएको छ । ४. स्थानीय तहमा संघीय समन्वय विश्व योग दिवस देशका सबै स्थानीय तहसम्म पुर्‍याउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहरूलाई परिचालित गर्ने निर्णय गरियो । यसले कार्यक्रमलाई हरेक पालिकासम्म विस्तार गर्ने ढोका खोलेको छ । ५. जिल्ला तहमा जिल्ला स्तरीय समिति गठन जिल्ला तहमा जिल्ला समन्वय समितिका सभापतिको संयोजकत्व र जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला आयुर्वेद कार्यालय समेतको सहभागितामा जिल्लास्तरीय समिति गठन गरी विभिन्न कार्यक्रमसहित विश्व योग दिवस मनाउने निर्णय भयो । कार्यक्रममा सुरक्षा, सहभागिता, सहजीकरण र समन्वयका लागि गृह मन्त्रालय मार्फत जिल्ला प्रशासन कार्यालयहरूलाई पनि अनुरोध गर्ने व्यवस्था मिलाइएको छ । ६. दशरथ रङ्गशाला तथा त्रिपुरेश्वर कभर्ड हलमा मूल समारोह कार्यक्रम गर्न अनुरोध २०२६ जुन २१ अर्थात् असार ७ गते हुने विश्व योग दिवसको मूल समारोह दशरथ रङ्गशाला तथा त्रिपुरेश्वर स्थित कभर्ड हलमा आयोजना गर्न राष्ट्रिय खेलकुद परिषद्लाई उपयुक्त स्थान उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय भएको छ। ७. मूल समारोहको विस्तृत रूपरेखा तयार गर्न परामर्श मूल समारोह कार्यक्रमका प्रमुख अतिथि, अन्य अतिथि, वक्ता, सहभागी संख्या, विभिन्न संघ-संस्थाको भूमिका र क्रियाकलापको तर्जुमाका लागि सरोकारवाला संघ-संस्थाहरूको परामर्शमा शिक्षा तथा खेलकुद मन्त्रालयबाट टुङ्गो लगाउने निर्णय भयो । ८. सार्वजनिक अपिल: सबै नागरिक, संघ-संस्था र नागरिक समाजलाई आह्वान सबै सरकारी, गैरसरकारी संघ-संस्था, नागरिक समाज लगायत सबैलाई विश्व योग दिवस २०२६ मा सहभागी हुन, नियमित योग अभ्यासमा संलग्न हुन र आदर्श वाक्य अनुसरण गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले सार्वजनिक अपिलका लागि विज्ञप्ति जारी गर्ने निर्णय भयो । ९. मिडिया र सोसल मिडियामार्फत व्यापक प्रचार-प्रसार साप्ताहव्यापी योग दिवस कार्यक्रमहरूलाई प्राथमिकताका साथ प्रचार-प्रसार गर्न र विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूको प्रयोग, प्रसारण र प्रकाशनका लागि समन्वय एवम् पत्राचार गर्न सूचना तथा सञ्चार मन्त्रालय मार्फत सार्वजनिक प्रसारण सेवा र राससलाई अनुरोध गर्ने निर्णय भएको छ । नेपाल सरकार यस वर्ष विश्व योग दिवसलाई केवल एक दिनको औपचारिक समारोहमा सीमित नराखी साप्ताहिक राष्ट्रव्यापी अभियानको रूपमा आयोजना गर्ने दृढ संकल्पसहित अघि बढेको छ । संघ, प्रदेश र स्थानीय तीनै तहको सक्रिय सहभागिता, मिडिया परिचालन र नागरिक समाजको संलग्नतासँगै यो दिवस देशभर भब्य हुने समेत आकलन गरिएको छ ।

Comments