चाँगुनारायणको वडा नं.२ बन्यो वागमती प्रदेशको 'एक जिल्ला एक वडा प्लाष्टिकमुक्त अभियान'को अग्रपंक्ति
जेठ २४, २०८३, आइतबार | राति ०८:५८ बजे | 160
भक्तपुर, जेठ २४
प्लाष्टिकले पृथ्वी र मानवजातिमाथि निम्त्याइरहेको विकराल खतराविरुद्ध वागमती प्रदेश सरकारले घोषणा गरेको "एक जिल्ला एक वडा प्लाष्टिकमुक्त अभियान"लाई व्यावहारिक कार्यान्वयनमा ल्याउने पहिलो कदम चाँगुनारायण नगरपालिका वडा नं.२ ले चाल्यो ।
५४औँ विश्व वातावरण दिवसको अवसरमा "समुदायको लागि २ घण्टा अभियान" अन्तर्गत १६२औँ हप्ताको विशेष कार्यक्रमका रूपमा शून्य प्लाष्टिक एवं वृक्षारोपण सहितको वातावरणीय प्रभातफेरि र अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । चाँगुनारायण नगरपालिकाको नगरस्तरीय वन वातावरण तथा विपद व्यवस्थापन उपशाखा एवं वडा नं.२ को कार्यालयको आयोजनामा सम्पन्न यस कार्यक्रममा डिभिजन वन कार्यालय भक्तपुर, राष्ट्रको लागि २ घण्टा अभियान भक्तपुर, आईसेट नेपाल, डिसिए नेपाल, आसेज, नेप्सेम्याक भक्तपुर र नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखाले सहकार्य गरे ।
कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद माननीय रुकेश रन्जितले वातावरण संरक्षणमा सरकारबाट जुनसुकै कदम चाल्न पनि पछि नहट्ने दृढ उद्घोष गरे । उनले जिल्लाबासीले ईटाभट्टाबाट भोग्नुपरेको स्वास्थ्य समस्यालाई समेत सार्वजनिक रूपमा उजागर गर्दै यस प्लाष्टिकशून्य अभियानलाई कार्यान्वयनमा ल्याउन सांसदको भूमिकामा पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । यस्तो ऐतिहासिक अभियानको थालनी गरेकोमा आयोजक प्रति धन्यवाद ज्ञापन गर्दै सहभागी सबैलाई वडालाई प्लाष्टिकशून्य बनाउने लिखित प्रतिबद्धतापत्र वाचन गराई दुवाकोट मोडबाट विरुवामा जलसेचन गरी प्रभातफेरिको शुभारम्भ गरे । कार्यक्रमका अध्यक्ष तथा नगरस्तरीय वन वातावरण तथा विपद व्यवस्थापन उपशाखाका प्रमुख तथा वडा नं. २ एवम प्लाष्टिकमुक्त वडा निर्माण अभियान समितिका अध्यक्ष सोम प्रसाद प्रधानले वडा नं.२ लाई ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगमुक्त बनाउँदै यसलाई अन्य वडाका लागि अनुकरणीय नमुनाका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको बताए । प्रदेश सरकारको यो योजनाको सफल कार्यान्वयनले भक्तपुर जिल्लाभरि सकारात्मक सन्देश फैलाउने उनको आशा छ । वातावरण क्षेत्रका अनुसन्धानकर्ता ओम प्रकाश अविरल जंग शाहले प्लाष्टिकमुक्त वडा निर्माणको औचित्य, राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा प्लाष्टिकबाट उत्पन्न जोखिम र यसका व्यावहारिक विकल्पहरूबारे विस्तृत अभिमुखीकरण प्रस्तुत गरे । वागमती प्रदेश वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालय, स्थानीय वडा र वडाबासीहरूको भूमिकाबारे उनले दिएको जानकारीले सहभागीमा नयाँ ऊर्जा भरेको थियो ।
भक्तपुर जिल्लाका डिभिजनल वन अधिकृत श्रद्धा सिग्देलले डिभिजन वन कार्यालयको प्राविधिक र संस्थागत सहयोग निरन्तर रहने बताइन् । "राष्ट्रको लागि २ घण्टा अभियान" भक्तपुरका अध्यक्ष मधु ढुंगेलले सामुदायिक सहभागिता नै यस्ता अभियानको मेरुदण्ड भएको बताए । नेप्सेम्याक भक्तपुरका गोविन्द आचार्य र आसेज नेपालका कुमार तामाङले आ-आफ्ना संस्थाको पूर्ण साथ रहने प्रतिबद्धता व्यक्त गरे। आईसेट नेपालका भरत ढुंगाना, डिसिए नेपालका अशोक महर्जन, नेपाल रेडक्रस सोसाईटी दुवाकोट उपशाखाकी कार्यवाहक सभापति प्रमिला प्रधान र डिभिजनल वन कार्यालयका एक जिल्ला एक वडा प्लाष्टिकमुक्त अभियानका संयोजक रुपक खत्री पनि कार्यक्रममा उपस्थित रहे। कार्यक्रम सञ्चालन गर्दै प्लाष्टिकमुक्त वडा निर्माण अभियान समितिका उपाध्यक्ष नबराज काफ्लेले "वडालाई प्लाष्टिकशून्य बनाउन सम्पुर्ण वडाबासीको साथ र सहकार्य विना सम्भव नहुने उल्लेख गर्दै,यस कार्यको लागि पुर्वत गठित वडा अध्यक्षको संयोजकत्वको अभियान समिति वडाको हरेक घर चुलोमा यो कार्यक्रमलाई लिएर जोडीने प्रतिबद्धता व्यक्त गरे"। कार्यक्रम दुवाकोट मोडबाट प्रमुख अतिथिद्वारा विरुवामा जलसेचन र प्रतिबद्धतापत्र वाचनसँगै शुरू भयो । सहभागीहरू प्रभातफेरीमा निस्केर दुवाकोट ब्यान्केटमा पुगे, जहाँ वडालाई शून्य प्लाष्टिक बनाउने विषयमा विस्तृत अभिमुखीकरण कार्यक्रमका साथ सहभागी सबैलाई प्लास्टिकको वैकल्पिक कपडाको झोला वितरण गरि सम्पन्न गरियो । वडा नं.२ भित्रका विद्यालयका शिक्षक प्रतिनिधि तथा विद्यार्थी, सरकारी एवं गैरसरकारी संघसंस्थाका प्रतिनिधि,पत्रकार र स्थानीय वडाबासीहरूको उल्लेखनीय उपस्थिति रह्यो । वागमति प्रदेश सरकारले यो योजना घोषणामात्र होइन, चरणबद्ध कार्यान्वयनको प्रारुप पनि तयार पारेको देखिन्छ । वागमती प्रदेश सरकारको यो योजना अनुसार डिभिजन वन कार्यालयमार्फत प्रत्येक जिल्लाको कम्तीमा एक वडालाई ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगमुक्त बनाइनेछ । वडाको छनौट, समिति गठन, प्रतिबन्ध सम्बन्धी वडा कार्यालयको निर्णय, विद्यालय-टोल-बजारमा जनचेतना अभियान, वैकल्पिक सामग्रीको वितरण र अनुगमन, र अन्तमा सम्बन्धित सांसद तथा सरकारी कार्यालयहरूको उपस्थितिमा "प्लाष्टिकमुक्त वडा" घोषणा, यही चरणबद्ध प्रक्रियाले यो अभियान अघि बढ्नेछ । यस अभियानको लागि विनियोजित रकम स्वयंसेवक परिचालन, तालिम, नाटक, वक्तृत्वकला, वैकल्पिक सामग्री खरिद-वितरण र नियमित अनुगमनमा उपयोग गरिने आयोजकले जनाएको छ । प्लाष्टिकले निम्त्याएको विश्वव्यापी संकटविरुद्ध चाँगुनारायणको वडा नं.२ ले चालेको यो पहिलो कदम भक्तपुर जिल्लाकै लागि होइन, वागमती प्रदेशभरि एउटा अनुकरणीय नजिर बन्ने विश्वास कार्यक्रममा सहभागी सबैले व्यक्त गरे ।
फाेटाेमा हेर्नुहाेस्...
