हरित यातायात रयाली : विद्युतीय सवारीको गुञ्जनसँगै वातावरण संरक्षणको सन्देश नगरकोटसम्म
जेठ २४, २०८३, आइतबार | राति ०८:५० बजे | 205
भक्तपुर, जेठ २४
पेट्रोलको धुवाँ नभई विद्युतीय सवारीको मौन गुञ्जनसँगै वातावरण संरक्षणको सन्देश बोकेर एउटा ऐतिहासिक रयाली मध्यपुर थिमीदेखि नगरकोटसम्म पुग्यो । ५४ औं विश्व वातावरण दिवस २०२६ को अवसरमा "सम्वृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास" भन्ने नारालाई साकार पार्न राष्ट्रको लागि २ घण्टा अभियान भक्तपुरले आयोजना गरेको हरित यातायात रयाली चाँगुनारायण, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाको सहकार्यमा सफलतापूर्वक सम्पन्न भयो ।
मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले रिबन काटेर रयालीको विधिवत् उद्घाटन गरे । शुभारम्भ गर्दै उनले अभियानले पर्यावरण संरक्षणमा लिएको लक्ष्य र ध्येयप्रति नगरपालिकाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा विद्युतीय सवारी साधन सहितको रयाली चारवटै नगरपालिकाका मुख्य मार्गहरू हुँदै नगरकोटमा आइपुग्यो । नगरकोटस्थित शोल्टी होटेलमा सम्पन्न समापन समारोह कार्यक्रमको सबैभन्दा भावपूर्ण क्षण बन्यो । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले राष्ट्रको लागि २ घण्टा अभियानबाट शुभारम्भ गरिएको वातावरणमैत्री अभियानलाई चाँगुनारायण नगरपालिकाका सबै वडाहरूमा कार्यान्वयनमा ल्याईएको जानकारी गराउनुभयो साथै उहाँले वातावरण जोगाउन विद्युतीय सवारी साधनको प्रवर्द्धनमा विशेष जोड दिनुपर्ने धारणा व्यक्त गर्दै यस कार्यको लागि अभियानप्रति हार्दिक धन्यवाद समेत ज्ञापन गरे ।
वागमती प्रदेश सरकारकी पूर्व माननीय प्रतिमा श्रेष्ठले जलवायु परिवर्तनका विरुद्ध स्थानीय तहबाट भइरहेका यस्ता प्रयास अत्यन्त सामयिक र महत्त्वपूर्ण रहेको बताउँदै अब यस दिशामा सबै अग्रसर हुनुपर्ने आह्वान गरिन् । चाँगुनारायण नगरपालिका वन तथा वातावरण शाखाका प्रमुख सोम प्रसाद प्रधानले हरित यातायातको प्रवर्द्धन नगर तहको दायित्व मात्र नभई सामूहिक जिम्मेवारी भएको धारणा राखे। समाजसेवी श्रीभक्त काँशिछवाले पनि यस अभियानले समाजमा वातावरण चेतना जगाउन पुर्याउने योगदानको सराहना गरे । कार्यक्रमको अध्यक्षता गर्नुभएका अभियान अध्यक्ष मधु ढुंगेलले भने — "आजको यो रयाली केवल एउटा कार्यक्रम होइन, यो हाम्रो भावी पुस्ताप्रतिको दायित्वको अभिव्यक्ति हो । जलवायु परिवर्तनको मारमा परेको यो धर्तीलाई बचाउन हामीले आफ्नै दैनिकीबाट सुरुवात गर्नुपर्छ। हरित यातायात त्यसको पहिलो कदम हो।
भक्तपुरका चारवटा नगरपालिकाको एकताबद्ध सहभागिताले यस अभियानलाई थप बलियो बनाएको छ, यसको निरन्तरता दिन हामी प्रतिबद्ध छौं।" कार्यक्रम संयोजक एवं अभियान उपाध्यक्ष नरेश रन्जितले भने — "विद्युतीय सवारी साधनको प्रयोगलाई जनजीवनको अभिन्न हिस्सा बनाउन सकियो भने मात्र हाम्रो कार्बन उत्सर्जन घट्छ। यो रयालीले त्यही सन्देश बोकेर चार नगरपालिकाका गल्ली र सडक हुँदै नगरकोट पुग्यो। अब यो सन्देश घरघरमा पुग्नु जरुरी छ । स्थानीय सरकारहरूको सक्रिय साथले हाम्रो अभियानलाई नयाँ उचाइ दिएको छ।" अभियानका महासचिव तथा कार्यक्रम सञ्चालक नबराज काफ्लेले भने -"५४ औं विश्व वातावरण दिवसको यो शुभ अवसरमा भक्तपुरबाट उठेको हरित यातायातको आवाज राष्ट्रिय स्तरमा गुञ्जिनु पर्छ । हामीले आज देखाएको एकता र प्रतिबद्धता नै आउँदो पुस्तालाई स्वच्छ वातावरण दिने सबैभन्दा ठूलो उपहार हो । अभियानमा सहभागी हुनुभएका सबै नगरपालिका, संघसंस्था र व्यक्तित्वहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु।"
अभियानमा सक्रिय र उल्लेखनीय योगदान पुर्याएका पाँच जना अभियन्ता -गणेश दाहाल, विजया दाहाल, अर्जुन खत्री, मिना पोख्रेल र प्रमोद कुमार यादवलाई समारोहमा विशेष सम्मान गरियो । उहाँहरुको समर्पण र मेहनतकै कारण अभियानले यो उचाइ प्राप्त गरेको अभियानका पदाधिकारीहरूले बताए । जलवायु परिवर्तनका असरहरू अनुभव गर्दै गरेको नेपालको सन्दर्भमा यस रयालीले एउटा स्पष्ट सन्देश दियो -परिवर्तन माथिदेखि होइन, स्थानीय तहबाट सुरु हुन्छ । कार्बन उत्सर्जन घटाउने, स्वच्छ ऊर्जा अपनाउने र हरित यातायातलाई प्रोत्साहन दिने यो अभियान भक्तपुरका चारवटा नगरपालिकाको संयुक्त प्रतिबद्धताको जीवन्त प्रमाण भएको कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको भनाई थियो ।
