भक्तपुरका कुन नगरपालिकाका कति वटा सहकारी संस्थाले दिन सकेका छैनन् बचत फिर्ता ?
जेठ २४, २०८३, आइतबार | राति १०:०८ बजे | 70
भक्तपुर । भक्तपुरमा अझै पनि ३० वटा भन्दा वढी सहकारी संस्थाहरुले वचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेको बताइएको छ । सहकारी अध्यादेश सम्वन्धी आइतबार भक्तपुरमा भएको छलफल कार्यक्रममा जनाइए अनुसार जिल्लाका चारवटामध्ये सवैभन्दा वढी सूर्यविनायक नगरपालिकाका १६ वटा भन्दा वढी सहकारी संस्थाहरुले वचत रकम फिर्ता गर्न सकेका छैनन् । सूर्यविनायकपछि वढी मध्यपुर थिमि नगरपालिकाका नौ वटा भन्दा वढी सहकारी संस्थाहरुले वचत रकम फिर्ता गर्न सकेका छैनन् । यस्तै भक्तपुर नगरपालिकाका चार वटा र चाँंगुनाराण नगरपालिकाका एउटा सहकारी संस्थाले बचत रकम फिर्ता गर्न नसकिएको बताइयो ।
शुभकामना वचत तथा श्रृण सहकारी संस्था लिमिटेड भक्तपुरको २६ औ स्थापना दिवसको अवसरमा आयोजित सहकारी अध्यादेश सम्वन्धी अभिमुखीकरण तथा असल श्रृणी सम्मान कार्यक्रममा यति वटा सहकारी तथा बचत संस्थाहरुले वचत रकम फिर्ता गर्न नसक्नु संख्याको हिसावले कम भएको बताइयो । कार्यक्रममा देशभर ३२ हजार वढी सहकारी संस्थाहरुमध्ये पांच सय कम सहकारी संस्थाहरुले मात्रै बचत रकम फिर्ता गर्न नसकेको तथ्यांक रहेको जनाइयो । त्यसकारण कम सहकारी संस्थाको समस्यालाई लिएर सरकारले विधेयक ल्याएको पनि कार्यक्रममा बताइयो ।
तीन वर्षभित्र फिर्ता हुन्छः सांसद रञ्जित
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर क्षेत्र नं १ का सांसद् रुकेश रञ्जितले तीन वर्षभित्र सवै वचतकर्ताको रकम फिर्ता हुने दावी गरेका छन् । सरकारले यही कारण सहकारी अध्यादेश ल्याएको उनको भनाई छ ।
उनले सरकारले वचत रकम फिर्ताको लागि भरमग्दुर प्रयास गरिरहेको र यो प्रयासमा बाधा नअड्काउन अनुरोध गरे । उनले भने, तीन वर्षभित्र वचत फिर्ता गराउने योजनासाथ सरकार काम गरिरहेका छ ।
कार्यक्रममा दस जना असल श्रृणीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रामप्रसाद कासुलाको सभापतित्वमा सम्पन्न भएको थियो ।
