शिक्षा र सीप भए आत्मनिर्भर बन्न सकिने


जेठ २५, २०८३, सोमबार | राति ०७:०७ बजे | 65


शिक्षा र सीप भए आत्मनिर्भर बन्न सकिने

भक्तपुर । ‘चार वर्षमा चार सीप’ प्रदान गर्ने नीतिअन्तर्गत बागीश्वरी कलेजमा स्नातक तह बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुमा व्यवसायिक सीप अभिवृद्धिका लागि सञ्चालित तालिम सोमबार सम्पन्न भयो ।
कलेजमा आयोजित सीप विकास तालिम समापन कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षालाई सीपसँग जोड्न सके बेरोजगारी दर घट्ने बताउँदै हरेक व्यक्तिसँग शिक्षा र सीप भए आत्मनिर्भर बन्न सकिने उल्लेख गर्दै आत्मनिर्भर व्यक्ति कसैसामु झुक्न नपर्ने धारणा राख्नुभयो ।
बागीश्वरी कलेजले राम्रो शिक्षासँगै अनुशासित, देशभक्त, आत्मनिर्भर तथा स्वाभिमानी नागरिक उत्पादन गर्ने उद्देश्यका साथ शिक्षालाई उत्पादनमूलक श्रम र सीपसँग जोडेर अघि बढिरहेको बताउँदै उहाँले कुनै पनि विषयको सीप आफैंमा शिक्षा भएको बताउँदै सीप जहाँ गए पनि सँगै जाने र व्यक्तिलाई पेशा–व्यवसायमार्फत जीविकोपार्जन गर्न सहयोग पुग्ने बताउनुभयो । 
कार्यक्रममा बोल्दै उहाँले केही कलेजहरू विदेशी श्रम बजारका लागि सस्तो जनशक्ति उत्पादन गर्ने कारखानाजस्तो बनेकोमा आलोचना गर्दै बागीश्वरी कलेजले त्यस्तो प्रवृत्तिविपरीत काम गरिरहेको बताउनुभयो ।    
देश विदेशको वर्तमान राजनीतिक प्रसंगमा बोल्दै प्रजापतिले फागुन २१ गतेको निर्वाचनपछि बनेको नयाँ सरकारका सरकार प्रमुख संसदप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।
    महाकाली, कोशी, गण्डक तथा कर्णालीलगायत जलस्रोत तथा सीमासम्बन्धी विषयमा नेपालले दृढ अडान लिनुपर्ने भनाइ व्यक्त गर्दै नगर प्रमुख प्रजापतिले संसद जस्तो गरिमामय स्थानबाट नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिनु राष्ट्रिय हितविपरीत भएको टिप्पणी गर्दै त्यस्तो भनाइ भारतसामु लम्पसार पर्ने र आत्मसमर्पण गर्ने प्रवृत्ति हो भन्नुभयो ।
    उहाँले सिक्किमको इतिहासबाट पनि नेपालले शिक्षा लिनुपर्ने उल्लेख गर्दै राष्ट्रिय हित र सार्वभौमिकताको संरक्षणमा सबै नागरिक सचेत रहनुपर्ने बताउनुभयो ।
    कार्यक्रमका सभापति बागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले तालिममा विद्यार्थीलाई उत्कृष्ट ज्ञान तथा सीप प्रदान गर्नुहने स्रोतव्यक्ति नविन प्रजापतिलाई विशेष धन्यवाद व्यक्त गर्दै तालिम सफलतापूर्वक पूरा गरी प्रमाणपत्र प्राप्त सबै विद्यार्थीलाई उज्ज्वल भविष्यको लागि शुभकामना दिनुभयो ।
    बागीश्वरी माविका प्रअ कृष्णप्रसाद कर्माचार्यले बागीश्वरीले सहकार्य र समन्वयमा आफ्ना कार्यक्रमहरु अगाडि बढाउँदै आएको बताउँदै विद्यार्थीले प्राप्त गरेको सीप प्रयोग गरी उज्ज्वल भविष्य निर्माण गर्न सकोस् भनी शुभकामना दिनुभयो ।
    त्यस्तै बागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले नन क्रेडिट कोर्समार्फत दिइने सीपले विद्यार्थीहरुमा क्षमता अभिवृद्धि गर्ने र आत्मनिर्भर भई रोजगारमा संलग्न हुने भएकोले यस्ता कक्षाहरुको निरन्तरतामा जोड दिनुभयो ।    
    उक्त कार्यक्रममा बागीश्वरी कलेजको मानविकी संकाय इन्चार्ज राजन फेलु, शिक्षिका अविना श्रेष्ठ र  प्रशिक्षार्थी राज कुस्माले पनि तालिमको औचित्यबारे प्रकाश पार्नुभयो ।
 

फाेटाेमा हेर्नुहाेस्...

शिक्षा र सीप भए आत्मनिर्भर बन्न सकिने

Comments