जव भक्तपुरमा गोली चल्यो ..............


फाल्गुन ८, २०८०, मङ्गलबार | विहान ११:४५ बजे | 35


जव भक्तपुरमा गोली चल्यो ..............

राकस्था
पृथ्वीनारायण शाहको गोली
आर्थिक नाकाबन्दी र अनेक दुष्प्रचार गर्दै पृथ्वीनारायण शाहले कीर्तिपुर, काठमाडौँ र ललितपुर कब्जा गरे । उनी विसं १८२६ मा भक्तपुरतिर हानिए । काठमाडौँ र ललितपुरका राजाहरू जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल भक्तपुरको शरणमा पुगेका थिए । गोर्खाली सेनाविरुद्ध लड्ने तयारी गरियो । पृथ्वीनारायण शाहको सेनाको आक्रमणपछि भीषण युद्ध भयो । अन्ततः आक्रमणकारीहरू दरबारभित्र छिरे । काठमाडौँको ‘जन बहा’ (विहार) को एक लेखोटअनुसार पृथ्वीनारायण शाहको सेनाले सन् १७६९ नोभेम्बर २५ (विसं १८२६ मङ्सिर १४, शनिबार) राति भक्तपुर कब्जा ग¥यो । आक्रमणकारी सेनाले २ हजार १ जनाको हत्या ग¥यो भने ५ सय १ घरमा आगो लगायो । यसरी मल्ल वंशको अन्त भएर शाह वंशको उदय भयो ।
अहिले हामी कल्पना पनि गर्न सक्दैनौँ, ५ सय घर जलाउँदा कति जना पोलिए होलान्, कति बिचल्लीमा परे ! सायद वर्षौँसम्म भक्तपुर मसानमा परिणत भएको थियो । युद्धमा मारिएका परिवारले शासकहरूको कति शासन भोग्नुप¥यो होला !
करिब २२० वर्षपछाडि पञ्चायती व्यवस्थाले ‘भक्तपुर काण्ड’ मच्चाई यहाँका जनतामाथि अर्को दमनचक्र चलायो, २०४५ भदौ ९ गते । भक्तपुरका जनप्रेमी तथा परिवर्तनकामी ६७ जना राजनीतिक नेता तथा कार्यकर्ताविरुद्ध झूटो ज्यानमुद्दा चलाइयो । सयौँ मानिस पक्राउमा परे, कैयौँ भूमिगत बस्न बाध्य भए । कैयौँको जागीर तथा घरजग्गा खोसियो, कैयौँको शिक्षा अवरुद्ध भयो । करिब २० महिना भक्तपुरलाई खुला बन्दीगृहजस्तो बनाइयो । शासकवर्गले शत्रु सेनालाई समेत नगरिने नृशंस व्यवहार भक्तपुरका जनतालाई ग¥यो । त्यो एक वर्गीय दमन थियो ।
जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ भन्ने साश्वत नियम छ । जनतामाथिको दमनको परिणाम थियो, २०४६ फागुन ८ गतेको विद्रोह ! दबिएर रहेका जनताले ‘क्रान्ति’ को नारा दिए । यहाँका न्यायप्रेमीहरूले जीवन उत्सर्गको भावना बोकी ‘इन्क्लाब’ को नारा घन्काए । किनभने, उनीहरूको त्यो नै अन्तिम विकल्प थियो । फेरि अर्को हत्याकाण्ड मच्चियो भक्तपुरमा, ४ जना होनहार युवाहरूले सहादत प्राप्त गरे ।
गङ्गालालको प्रेरणा !
“नेता जेतादि सबले मर्नु साझा सबैको
सब शव गई बस्छन् काखमा नै चिताको
किन डरूँ मृत्यु देखी मर्न कम्मर कसेको
हुँ एक वीरपुत्र वीर माता नेपालको ।”
प्रस्तुत कवितांश सहिद गङ्गालालको अन्तिम अभिव्यक्तिको रूपमा लिइएको छ । २०४६ साल फागुन ८ गते सहादत प्राप्त सहिद राजकुमार सुवालले ‘रणसङ्ग्राम’ बनेको भक्तपुरको टौमढी चोकमा आन्दोलनकारीसँग हेलिँदै छातीमा पञ्चायती व्यवस्थाको गोली थाप्नुअगाडि सायद गङ्गालालको यही कविताबाट उत्पे्ररणा पाएका थिए होलान् । “हत्याराहरू ! तिमीहरूले कति जनालाई मार्नसक्छौ ? लौ, मार !” सहिद सुवालको हुङ्कार यस्तै थियो । आन्दोलनको आँधी उठेको बेला वीरहरू गोलीले ढल्न थालेपछि उद्वेलित भएका सुवालले आफ्नो ज्याकेट फुकालेर छाती फर्काए । उनको छातीमै गोली दागियो । कवि भूपी शेरचनको कविता “हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए, बन्दैन मुलुक दुई–चार सपुत मरेर नगए, ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को देशको पीरले भेटी जब वीरले चढाउँछ” जस्तो मृत्युवरण ! सायद उनलाई पनि थाहा थियो होला, महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘वन’ कवितामा गर्नुभएको वीरहरूको बलिदानी भएको ठाउँमा पूजा गर्ने अठोट गर्नुभएको कुरा । निरङ्कुश राणा शासनविरोधी देवकोटाको कविता भन्छ ः “धर्म बोले – कुन मन्दिरमा पूजा गर्छौै आऊ ? मैले बोलेँ – वीरहरूको बलिदान भएको ठाउँ” (शारदा, १९९७ भदौ) ।
आज भक्तपुरको तलेजु मन्दिर पस्दा पित्तलको मूर्तिमा लागेको पृथ्वीनारायण शाहको गोलीको निसाना हेरेर राजा रणजीत मल्लको नियतिको अन्दाजमात्र गर्नसक्र्छौँ । त्यो गोली आफ्नै मितछोराकै भए पनि शत्रु राज्यको थियो । तर, फागुन ८ गते भक्तपुरका जनताले आफ्नै राज्यका शासकहरूको गोली खानुपरेको थियो । भक्तपुरको साकोठाबाट टौमढी निस्किने गल्लीको मुखैमा ठड्याइएको दूरसञ्चारको एउटा पोलमा २०४६ सालमा पञ्चायती व्यवस्थाले हानेको गोलीको निसाना आज पनि देख्न सकिन्छ ।
के फागुन ८ भक्तपुरको मात्र सहिद दिवस हो ?
उज्यालोको निम्ति, स्वतन्त्रता तथा स्वाधीनताको निम्ति हाँसीहाँसी छातीमा तातो गोली थाप्न नहिच्किचाउने सहिदलाई कुनै भूगोलको सीमाभित्र बाँध्न सकिन्न । सहिद कुनै पार्टी विशेषको मात्र रहन्न । नत्र कुनै विचार सङ्कीर्णतामा परिणत हुन्छ ।
नेपालको राजनीतिक परिवर्तनमा २०४६ फागुन ८ गते ऐतिहासिक आन्दोलन सुरु भएको दोस्रो दिन थियो । त्यो प्रारम्भिक धक्का अपितु चोटिलो थियो । दमित भावना विस्फोट हुने क्रममा सहिद बन्न तयार भए युवाहरू ! राजकुमार सुवाल, कृष्णराम दुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्यले सहादत प्राप्त गरेपछि देशभर निरङ्कुश पञ्चायती सत्ताविरुद्ध आन्दोलनको आँधीबेहरी सुरु भयो ।
‘खेत छिमेकी’ (बुँ जलाखला) भएकैले पनि यो पङ्क्तिकारले सहिद सुवाललाई राम्ररी चिन्दथ्यो । कसिलो शरीर भएका गहुँगोरा राजकुमार ! खेती गर्न सिपालु, घरको जेठोबाठो ! उनी नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सक्रिय कार्यकर्ता थिए । उनको राजनीतिक चेतना सहादतको भूमिका बन्यो ।
फागुन ८ का पूर्वदृश्यहरू
भक्तपुरमा जनआन्दोलन उठाउनको निम्ति वस्तुगत परिस्थिति तयार थियो । जनता पुरानो व्यवस्थाबाट आजित भइसकेका थिए भने शासकहरू असफल । तर्कमा हारेको व्यक्ति रिसाएझैँ शासकहरू रन्थनिन थालेका थिए । आफ्नै छायादेखि डराउन थालेका शासकहरू विपक्षीलाई कुटिल राजनीतिको सिकार बनाएर पनि चैनको निद्रा सुत्न सकिरहेका थिएनन् । यद्यपि, पञ्चायतका पृष्ठपोषकहरू निभ्न लागेको बत्तीझैँ अलि बढी चम्किरहेका थिए ।
भक्तपुरका जनता कुनै पनि हालतमा आन्दोलनलाई सफल बनाउन चाहन्थे किनभने निर्दलीय पञ्चायती व्यवस्थाले सिङ्गो भक्तपुरलाई बन्दीगृह बनाएको थियो । देशभक्त, इमानदार र निःस्वार्थ भावनाले जनसेवाको निम्ति राजनीति गर्ने पार्टी कार्यकर्ताहरूलाई जेलमा कोचिएको थियो । २०४५ साल भदौ ९ गते रातिदेखि पञ्चायती व्यवस्थाले जनताविरुद्ध दमनको ताण्डव चलाएको थियो । जनताले हिँडडुल गर्नसमेत पाइरहेका थिएनन् । लोग्नेमानिस घरबाट निस्कनेबित्तिकै पक्राउ परिहाल्थे । भक्तपुरको राजनीतिसँग गोरु बेचेको साइनो भएका व्यक्तिसमेत प्रहरी यातनाको सिकार भए । भक्तपुरका जनप्रिय नेता तथा कार्यकर्तालाई प्रहरी हिरासतमा दिइएको यातनाका खबरले सर्वसाधारणमा पञ्चायती व्यवस्था र त्यसका समर्थकप्रति व्यापक घृणा फैलिरहेको थियो । शिक्षकहरू विद्यालय जान पाएनन्, किसान खेत जान सक्दैनथे । कैयौँ मजदुर काममा हिँड्दा पनि पक्राउ परे, कर्मचारीसमेत शासकहरूको कोपभाजनमा परे । विद्यार्थीले पढ्न पाएनन् । भक्तपुरलाई बदनाम गर्न गोयवल्सका अनेक झूटा प्रचारहरू गरियो । घरघरमा खानतलासीको नाममा पुस्तक तथा पत्रिका जफत गर्ने, महिलामाथि अभद्र व्यवहार गर्नेजस्ता क्रियाकलापले प्रहरी प्रशासनप्रति जनआक्रोश बढ्दै थियो । प्रहरीको प्रतिकार गर्न स्थानीय महिला तयार भए भने भक्तपुरका जनता आत्मरक्षार्थ राती धुनी बालेर जाग्राम बस्ने काम गर्न थाले । आन्दोलनका अनेक रूपको अभ्यास प्रारम्भ भयो । पञ्चायती व्यवस्थाकै अन्त्य नभई आफ्ना प्यारा नेता तथा कार्यकर्तालाई जेल र भूमिगत जीवनबाट मुक्त गर्न सकिन्न भन्ने चेतनाको विकास भयो । अत्याचारीविरुद्ध लडेरै मर्ने सङ्कल्पक २०४६ सालको आन्दोलनको ऊर्जा बन्यो ।
जुलुसको आवेग !
नेपाली काङ्ग्रेस र संयुक्त वाममोर्चाको आह्वानमा सुरु भएको २०४६ सालको ऐतिहासिक जनआन्दोलनको पहिलो दिन फागुन ७ गते काठमाडौँमा जुलुस प्रदर्शन भयो । आन्दोलनकारी र प्रतिगामीहरूबिच भिडन्त भयो । फागुन ८ गते बन्दको आयोजना गरिएको थियो । त्यस दिनको बन्द सफल पारेरै जनता परिवर्तनका पक्षमा रहेको प्रस्ट हुन्थ्यो । पञ्चायती व्यवस्थाका पृष्ठपोषकहरूले जनआन्दोलनलाई असफल बनाउने कुत्सित प्रयास गरिरहेका थिए । प्रहरीको संरक्षणमा बिकाउ मानिसहरू बजार बन्दलाई चुनौती दिइरहेका थिए । कतिपय व्यापारीलाई पसल बन्द गर्दा पञ्चायती प्रशासनको नजरमा पर्ने सन्त्रास पनि थियो । बहुदलीय प्रजातन्त्र घोषणा भएपछि काङ्ग्रेस र एमाले बनेका तत्कालीन पञ्चहरू बन्दकर्तामाथि अनेक धम्की दिइरहेका थिए ।
बन्द सफल गर्नु राजनैतिक नैतिकताको प्रश्न थियो । बिहान करिब ८ बजेतिर जुलुस प्रदर्शन गर्ने निर्णय भयो । सोहीअनुसार भक्तपुरको राजनीतिक प्रदर्शनको ऐतिहासिक स्थल सूर्यमढीबाट जुलुस सुरु गर्ने कार्यक्रम थियो । सूर्यमढी चोकबाट केही मिटर अगाडि सडकपेटीमा उभिएर विद्यार्थी नेता रवीन्द्र खर्बुजाले केही मिनेट भाषण गरी जुलुसमा सहभागी हुन आह्वान गरे । ताली बज्यो र नाराका साथ जुलुस अगाडि बढ्यो । जुलुस सुरु हुँदा सहभागीको सङ्ख्या थोरै थियो । सहभागीमध्ये बढी विद्यार्थी थिए । दत्तात्रयमा तैनाथ प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गर्ने वा कुनै खालको दमन हुने सम्भावना थियो । भर्खर एसएलसी दिएको यो पङ्क्तिकारजस्ता युवामा अलिकति रोमाञ्च, अलि बढी जोश, अलिकति अनौठोको लेप हुनु स्वाभाविकै हो ।
जुलुस अगाडि बढ्यो, परिवर्तनकामी जनता थपिँदै गए । सय मिटरको दुरी पार गरेपछि दत्तात्रय चोक निस्कनु केहीअगाडि तलातुँछीमा पुग्दा एक हुल आन्दोलनकारी मिसिए । अर्कोतिरबाट जुलुस यातायात र बजार बन्द गर्दै आएको थियो । फेरि जुलुस अगाडि बढ्ने आह्वान गर्दै विद्यार्थी नेता खर्बुजाले केही समय भाषण गरे । जुलुस ‘पञ्चायती व्यवस्था मुर्दावाद’ भन्दै अगाडि बढ्यो । दत्तात्रयमा तैनाथ प्रहरीले पक्राउ वा दमन गर्ने साहस गरेन । प्रदर्शन अगाडि बढ्दै गयो । दत्तात्रयको ‘गौँडा’ छिचोलिसकेपछि सबैमा विजयको भाव उर्लियो । गल्लीगल्लीबाट क्रान्तिकारीहरू थपिने क्रम रोकिएन । बिहानको खाना खाएर खेत जान लागेका, मजदुरी गर्न हिँडेका मानिससमेत जुलुसमा सहभागी भए । त्यो जुलुसमा देखिएको सहभागिताबाट पञ्चायतविरुद्ध जनआक्रोशको स्तर मापन गर्न सकिन्थ्यो ।
पाँचतले मन्दिर (टौमढी) पुग्दा जुलुसको मध्यखण्डमा अचानक प्रहरी दमन सुरु भयो । लाठी प्रहार गरी जुलुस छिन्नभिन्न गर्ने कोसिस गरियो । जुलुसको पछिल्लो खण्डमा रहेको यो लेखक गल्लीबाट झरेर हनुमानघाट पुग्दा केही पड्किएको आवाज सुनियो । गोली लागेर मानिस घाइते भएको हल्ला जङ्गलमा आगो लागेसरि फैलियो । खबरले जनताको आक्रोशमा घिउ थपिदियो ।
फागुन ८ गते भक्तपुरका होनहार चार जना युवाहरूले सहादत प्राप्त गरे । कैयौँ घाइते भए । भक्तपुरमा प्रहार गरिएको गोली दोस्रो विश्वयुद्धमा प्रतिबन्ध लगाएको ‘डमडम’ गोली थियो । सहिदको रक्ताम्य शरीर देख्नेहरू भन्छन्, गोली छातीमा ताकेर हानिएको थियो । प्रहरीसँग भिडन्त भयो । जनआन्दोलन दमनको निम्ति बनेको प्रतिकार समितिमा बस्ने स्थानीय पञ्चहरूले टौमढीमै बसेर प्रशासनलाई गोली चलाउन उक्साइरहेका थिए । शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाइएकोमा विश्वभरका न्यायप्रेमी जनताले विरोध गरे । शान्तिपूर्ण आन्दोलनमाथि गोली चलाएर पञ्चायती व्यवस्थाले आफ्नो ‘काल’ निम्त्यायो ।
अर्को आन्दोलन अपरिहार्य
सहिदको रगत छर्केर भक्तपुरले जनआन्दोलनको दुन्दुभि बजायो । सुकेको जङ्गलको पातपतिङ्गरमा लागेको आगोको एक झिल्कोले डढेलो फैलिएझैँ देशभर आन्दोलनको आगो दन्कियो । चारभाइ सहिद आन्दोलनको बीज बने । हत्याको बदला लिने आह्वान नभएको होइन । आन्दोलनले नागबेली रूप लिँदै व्यापकता लियो । आन्दोलन सफल हुन थालेपछि सत्तातुर कतिपय नेताहरू सडकमा देखिन थाले । कतिपय पञ्चहरूले डुब्न लागेको जहाजबाट मुसा भागेझैँ रातारात कित्ता परिवर्तन गरे । कतिले बलेको आगो ताप्ने सुर कसे । न्याय र स्वतन्त्रताको निम्ति उठेको शान्तिपूर्ण जनआन्दोलनमाथि नृशंस दमन गर्ने पञ्चहरू नै बहुदलीय सत्तामा जानको निम्ति कसैको आडभरोसा पनि बने । तर, नयाँ शासक वर्गले सहिदको रगतको अपमान ग¥यो । जनताले फेरि आन्दोलनको बाटो समाते । २०६२–०६३ मा फेरि व्यवस्था बदलियो, व्यवस्थापन भने बदलिएन । यहाँ अन्याय, शोषण, दमनको संयन्त्र पुरानै छ । जनता तावाको माछा भुङ्ग्रोमा जस्तै भएका छन् । तर, परिवर्तनकामी जनता सङ्घर्षरत छन् । फेरि अर्को आन्दोलन अपरिहार्य छ । मजदुर 

Comments