६ महिनामा १६ करोड राजस्व संकलन – उपमेयर श्रेष्ठ


माघ ४, २०८०, बिहीबार | दिउँसो १२:५४ बजे | 35


६ महिनामा १६ करोड राजस्व संकलन – उपमेयर श्रेष्ठ

मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका नगरउपप्रमुख विजयकृष्ण श्रेष्ठ चालु आर्थिक वर्षको ६ महिनामा मथिनपामा १६ करोड रुपैंया राजस्व (कर) संकलन भएको जानकारी दिनु भएको छ । शंखधर मार्ग बायरिलाँ टोल सुधार समितिको सातौं वार्षिक साधारण सभाको उद्घाटन गर्दै उपमेयर श्रेष्ठले मध्यपुर थिमि नगरपालिकाले विगत २० महिनामा गरेका कार्यहरुको छोटो बुदाँगत जानकारी दिदैं शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासदेखि नीतिनियम ऐन कानुनको निर्माणमा प्राथमिकता दिएको बताउनु भयो । उपमेयर श्रेष्ठले सम्पदाको सहर मध्यपुर थिमिलाई आन्तरिक र बाह्रय पर्यटकको केन्द्र बनाउन गृहकार्य भईरहेको जानकारी दिदैं नगरवासीको आर्थिक उन्नति र रोजगारी सिर्जना गरिने दावि पनि गर्नुभयो । शंखधर मार्ग टोलसुधार समितिका अध्यक्ष उमेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नपा वडा नं.४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले बायरिलाँ टोल सुधार समिति कामको आधारमा उत्कृष्ट टोलसुधार समितिमा पर्ने भन्दै शुभकामना दिुनभयो । वडाध्यक्ष श्रेष्ठले वडाको विकास निर्माण बारे छोटो जानकारी दिदैं टोलमा जेष्ठ नागरिकलाई विश्रामस्थल बनाउन आर्थिक सहयोग गर्ने बताउनु भयो । 
टोलसुधार समितिका अध्यक्ष उमेश श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै टोलको सरसफाई, व्यवसाय प्रवर्धन, सडकको स्तरोन्नति, खानेपानीको व्यवस्थापन, ढलनिकासदेखि टोलमा सिसि क्यामेरा जडानका कार्यलाई वडा र नपाको सहयोगमा अघि बढाइने जानकारी दिनुभयो । समितिका उपाध्यक्ष रोशन बज्राचार्यले समितिको गतिविधिबारे जानकारी दिदैं स्वागत मन्तव्य व्यक्त गर्नुभयो । समितिका सचिव डा.रामहरि श्रेष्ठले सचिवको वार्षिक प्रतिवेदन पेश गर्दै समितिमा १ सय जना सदस्य पुगेको र १ सय ८० पसलहरु रहेको जानकारी दिनुभयो । कार्यक्रममा ७५ वर्षमाथिका २६ जना जेष्ठ नागरिकहरुलाई उपहार सहित सम्मान गरिएको थियो । समितिका सल्लाहकार एवं लेखापरीक्षक ज्ञानकृष्ण श्रेष्ठले सुझाव सहित शुभकामना मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा समितिका कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समितिका निवर्तमान अध्यक्ष राजेश श्रेष्ठले दशैं तिहार मेलामा करीब ५ लाख रुपैंया खर्च भएको जानकारी दिदैं उक्त टोलमा गणेशको मन्दिर, जेष्ठ नागरिक विश्रामस्थल र सीसी क्यामेरा जडानको महत्व सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । गत असोज कार्तिक महिनामा भएको उक्त दशैं तिहार मेलामा विशेष सहयोग गर्ने व्यवसायीहरु शिव सापकोटा, मणि अर्याल, सञ्चारकर्मीद्धय रत्नकृष्ण श्रेष्ठ, सागर गुरागाईं, नृत्य निर्देशक बालमुकुन्द प्रजापति, युनिक प्mलेक्सका प्रोपाइटर रोशन बज्राचार्य लगायतलाई उपहार सहित प्रशंसा पत्र वितरण गरिएको थियो । स्थानीय यचु पार्टी भेन्युमा भएको उक्त सातौं वार्षिक साधारण सभाले अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिनुभयो ।

Comments