नेपाली र चिनिया जनताबीचको सम्बन्ध अझ प्रगाढ बन्नेछ


मंसिर २६, २०८०, मङ्गलबार | दिउँसो १२:२२ बजे | 40


नेपाली र चिनिया जनताबीचको सम्बन्ध अझ प्रगाढ बन्नेछ

सुनिल प्रजापति, प्रमुख भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकाको निमन्त्रणामा आउनुभएका मित्र देश जनवादी गणतन्त्र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाका उपप्रमुख लेइ चियनसिनज्यू, टोलीमा सहभागी सम्पूर्ण प्रतिनिधिमण्डलका सदस्यज्यूहरू र यस समारोहमा उपस्थित जनप्रतिनिधिहरु तथा आदरणीय व्यक्तित्वहरुलाई भक्तपुर नगरपालिकाको तर्फबाट हार्दिक स्वागत गर्दछौं ।
देशको सानो नगरमध्ये एक भक्तपुर नगरपालिका नेपालको राजधानी काठमाडौंबाट १३ कि.मी. पूर्वमा अवस्थित छ । सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले यो अत्यन्त महत्वपूर्ण नगर हो । आठौं शताब्दीमा स्थापित यो नगर १२ औंदेखि १५ औं शताब्दीसम्म राजधानी नगरको रुपमा रहेको र  १८ औं शताब्दीसम्म स्वतन्त्र राज्यको रुपमा रहेको थियो ।
भक्तपुरको दरवार क्षेत्र, टौमढी क्षेत्र र दतात्रय क्षेत्र पर्यटकीय दृष्टिले महत्वपूर्ण क्षेत्रहरु हुन् । दरवार क्षेत्रमा अवस्थित ५५ झ्याल दरवार र सुनढोका, टौमढी टोलमा रहेको नेपालकै अग्लो पाँच तल्ले मन्दिर (ङातापोल्हँ) र दतात्रयमा अवस्थित मयुर झ्याल वास्तुकलाको दृष्टिले अनुपम उदाहरणहरु हुन् । समय समयमा हुने जात्रा, पर्व, नाचगानजस्ता अमूर्त सम्पदाहरु र विश्व प्रख्यात सम्पदाहरुकै आधारमा  सन् १९७९ मा युनेस्कोले ती क्षेत्रहरुलाई विश्व सम्पदा सूचिमा सुचिकृत गरेको थियो । ती क्षेत्रहरुको अवलोकन भ्रमणको लागि हरेक वर्ष संसारका विभिन्न देशबाट लाखौं पर्यटकहरु आउने गर्छन् । भक्तपुर भ्रमण गर्ने पर्यटकहरुबाट केही शुल्क उठाई त्यस रकमबाट भक्तपुरको मूर्त र अमूर्त सम्पदाहरूको संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाइ, खेलकूदलगायतका क्षेत्रमा खर्च गर्दै आएका छौं ।
राजनैतिक रुपमा यो नगर १० वटा वडामा विभाजित छ । ९० प्रतिशतभन्दा बढी नेवार जाति रहेको यो नगरमा बि.सं. २०७८ को जनगणनाअनुसार ७८,८५४ जना स्थायी बसोबास गर्ने जनसंख्या रहेको तथ्यांक छ । कृषि यहाँका मानिसहरूको मुख्य पेशा रहेको र घरेलु तथा साना उद्योग, व्यापार व्यवसाय, पर्यटन, हस्तकला आदि याहाँका नागरिकहरुका रोजगारीका क्षेत्रहरू हुन् ।
नगरसभा नगरपालिकाको उच्च निकाय हो । कानुनी व्यवस्थाअनुसार प्रमुख, उपप्रमुख सहित वडा वडाबाट निर्वाचित जनप्रतिनिधिहरू नगरसभाका सदस्य रहनेछन् । नगर सभाले नगरको आवश्यकताअनुसार ऐन, नियम, विनियमहरू बनाउँछ । जनताको हितमा कानुनहरु निर्माण गरी हामीले कार्यान्वयन गर्दै आएका छौं ।
२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणपछि दुईवटा स्थानीय तहको निर्वाचनहरू सम्पन्न भए । ती दुबै निर्वाचनहरुमा यस नगरपालिकाका सम्पूर्ण वडाहरूमा नेपाल मजदुर किसान पार्टीका जनप्रतिनिधिहरू निर्वाचित भए । नेपाल मजदुर किसान पार्टी वैज्ञानिक समाजवादलाई विश्वास गर्ने कम्युनिष्ट पार्टी हो । माक्र्सवाद, लेनिनवाद र माओत्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्तको रुपमा अङ्गिकार गर्दै आएको यो पार्टीले निर्वाचनलाई पनि जनताको हितमा उपयोग गर्दै आएको छ । नेपाल मजदुर किसान पार्टीको नेतृत्व नेपालका वरिष्ठ राजनीतिज्ञ का. नारायणमान बिजुक्छेँ (रोहित)ले गर्दै आउनुभएको छ । 
उहाँले आजभन्दा दुइ दशक अगाडि भक्तपुरको भविष्यको कल्पना गर्नुहुँदै ‘सय वर्षपछिको भक्तपुर’ नामको पुस्तक प्रकाशित गर्नुभयो । त्यो पुस्तक नै भक्तपुर नगरपालिकाको अहिले काम गर्ने मार्गचित्र बनेको छ । हामी पार्टीको नीति र निर्देशनमा रहेर भक्तपुरको विकासको निम्ति जनताको सेवामा समर्पित भएर काम गर्दैछौं । भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, पर्यटकीय गन्तव्यस्थल, सांस्कृतिक नगर बनाउने हाम्रो उद्देश्य हो । 
यस नगरमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा सरकारका उच्चपदस्थ पदाधिकारीहरुले बराबर भ्रमण गर्नु भएको छ । २०८० जेठ १७ गते जनवादी गणतन्त्र चीनको स्—छुवान प्रान्तका पार्टी सचिव वाङ स्याओहुईले, २०८० साउन ८ गते चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी समितिका सचिव युआन चियाच्युनले र २०८० कार्तिक २६ गते चीनको सिन्चाङ(तिब्बत) स्वायत्त क्षेत्रका चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ च्युङचङले नेपाल मजदुर किसान पार्टीका आदरणीय नेता नारायणमान बिजुक्छेँ (रोहित) सित भेटघाट गरी दुई देश र दुई पार्टीबीच सम्बन्ध विस्तारका बारेमा छलफल गर्नुभएको थियो । त्यसैगरी २०८० असार १४ गते जनवादी गणतन्त्र चीनको सान्तोङ प्रान्तको हुआन थाई नगरपालिकाका प्रतिनिधिमण्डललगायतले भक्तपुरको अवलोकन भ्रमण गर्नु भएको थियो भने २०८० मंसिर ३ गते चिङकाङशान नगरपालिकाका उप प्रमुख ह्वामिङले पनि यस नगरपालिकाको भ्रमण गर्नु भएको थियो । त्यस क्रममा भएको भेटघाटमा दुइ नगरपालिकाबीच सम्बन्ध बिस्तार र आपसी अनुभव आदानप्रदान गरी अगाडि बढ्नेबारे सकारात्मक छलफल भएको थियो । आज हामी लसान नगरपालिकाका उप प्रमुखज्यूको नेतुत्वमा आएको प्रतिनिधिमण्डलाई स्वागत गर्दैछौं । समय समयमा हुने चिनियाँ उच्चस्तरीय प्रतिनिधि मण्डललाई हामीले यस नगरमा स्वागत गर्न पाउँदा हामी अत्यन्त खुशी छौं । यस्ता अवसरहरु फेरि फेरि पनि पाइरहने आशा गर्छौ ।
कोभिड १९ ले विश्व आक्रान्त भएको बेला चिनियाँ सरकारले त्यसको विरुद्ध खोपको उत्पादन गरी विश्वका जनतासँगै नेपाली जनतालाई पनि सहयोग गरेको थियो । त्यो गुणलाई नेपाली जनताले कहिल्यै बिर्सने छैनन् । त्यस संकटको घडीमा भक्तपुर नगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको तिब्बत स्वशासित क्षेत्रस्थित सान्नान नगरपालिकाले भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप अस्पताललाई विभिन्न स्वास्थ्य उपकरणहरू उपलब्ध गराएर सहयोग गरेको थियो । हामी यसै कार्यक्रममार्फत पनि उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छौं ।
चिनियाँ कम्युनिष्ट पार्टीको तर्फबाट नेपाल मजदुर किसान पार्टीलाई त्यतिबेला स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो । नेपाल मजदुर किसान पार्टीलाई प्राप्त ती स्वास्थ्य सामग्रीहरु पार्टी सचिव एवं साँसद प्रेम सुवाल स्वयम् ख्वप अस्पताललगायत देशका विभिन्न अस्पतालहरुमा पुगेर वितरण गर्नुभएको पनि यो अवसरमा जानकारी गराउन चाहन्छौं । 
भक्तपुर नगरपालिकाले शिक्षामा वडा वडामा शिशुस्याहार तथा बालविकास केन्द्रहरू संचालन गर्दै आएको छ । यस नगरमा ९२ वटा विद्यालयहरु छन् । नगरपालिकाले उच्च शिक्षा प्रदान गर्न २ वटा इन्जिनियरिङ कलेजहरुसहित ८ वटा शैक्षिक संस्थाहरु संचालन गर्दै आएको छ । ती शिक्षण संस्थाहरुमा देशका ७७ वटै जिल्लाका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । शिशुस्याहार केन्द्रदेखि उच्च शिक्षा प्रदान गर्ने कलेजहरु संचालन गर्ने भक्तपुर नेपालकोे एक मात्र नगरपालिका हो । हामीले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारी पनि गरिरहेका छौं ।
घरदैलो नर्सिङ, वडा वडामा स्वास्थ्य उपचार केन्द्र र १०० शैय्याको आफ्नै स्वामित्वमा ख्वप अस्पताल तथा श्वासप्रश्वास केन्द्र सञ्चालन गरी कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौं भने नगरपालिकाकै व्यवस्थापनमा संचालित ख्वप तिलगंगा आँखा अस्पताल र नागरिक आरोग्य केन्द्रले पनि जनतालाई स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र समेत गरी यस नगरमा ४ वटा सरकारी अस्पतालहरु संचालनमा छन् ।
यहाँका सम्पदाहरूको संरक्षण गरी पर्यटन उद्योग विकास गर्नेतर्फ हामीले ध्यान दिइरहेका छौं । २०७२ सालको भूकम्पले यहाँका धेरै घरहरू भत्केसँगै सयौं सम्पदाहरू क्षतिग्रष्त भए ।  नगरपालिकाले तीमध्ये धेरै सम्पदाको पुनःनिर्माण र जीर्णोद्धार सम्पन्न गर्यो । आत्मनिर्भरतालाई जोड दिंदै यस नगरपालिकाले स्थानीय सीप र प्रविधिको प्रयोग गरी मौलिक शैलीमा सम्पदाहरु संरक्षणमा जोड दिईआएको छ । अझै केही सम्पदाहरूको पुनःनिर्माण र जीर्णोद्धार कार्य जारी छन् ।
नेपालको जीवित संग्रहालयको रुपमा रहेको यस नगरलाई अझ समृद्ध बनाई देशको उत्कृष्ट नगरपालिका बनाउन हामी कार्यरत छौं ।
नेपालको भक्तपुर नगरपालिका र चीनको स्—छुवान प्रान्तको लशान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य र सम्बन्ध स्थापना गरी उपयुक्त समयमा भगिनी सम्बन्ध कायम गर्ने उद्देश्यले आज यो समझदारीपत्रमा हस्ताक्षर गर्दैछांै । आगामी दिनमा यस समझदारी पत्रमा उल्लेख भए बमोजिम दुइ नगरपालिकाबीच समानता र पारस्परिक हितलाई ध्यानमा राखेर अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य, संस्कृति, पर्यटन, हस्तकला, खेलकुदलगायतका क्षेत्रमा सहयोग आदानप्रदान हुने आशा गर्छौ ।
हामी चीनलाई संधै असल मित्रको रुपमा लिन्छौं । नेपाली जनता  र चिनिया“ जनताबीचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्दछौं । धन्यवाद !
(संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको भक्तपुर नगरपालिका र जनवादी गणतन्त्र चीनको स्—छुआन प्रान्तको लशान नगरपालिकाबीच मंगलबार मैत्रीपूर्ण सहकार्य सम्बन्ध स्थापनासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर समारोहमा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिको मन्तव्य)

फाेटाेमा हेर्नुहाेस्...

नेपाली र चिनिया जनताबीचको सम्बन्ध अझ प्रगाढ बन्नेछ

Comments