अदालत सत्यको पक्षमा भन्दा पैसाको पक्षमा फैसला गर्ने थलो हो ?
कार्तिक २१, २०८०, मङ्गलबार | विहान १०:०४ बजे | 40
रामकृष्ण प्रजापति
मेरो हजुरबुबा लतंकुमार प्रजापतिको नाममा जोत जनिएको ताथली वडा नं. ९ कित्ता नं. ३५८ को १ रोपनी १० आना जग्गा २०६५ सालमा तत्कालीन ताथली गाउँपालिका र भूमि सुधार कार्यालयका कर्मचारीहरूको मिलिमतोमा जग्गाको संधियार ताथलीका लतंकुमार साखकर्मीका ६ जना छोराहरूले आफ्ना अन्य कित्तामा घुसाएर मोही लगत कट्टा गराएका थिए । यसको विरुद्ध मैले दर्ता गरेको मुद्दामा भक्तपुर जिल्ला अदालतबाट २०८०।५।३ गते मेरो दाबी नपुग्ने फैसला भयो । मेरो हजुरबुबाको मात्र होइन, हाम्रो पुर्खाको जग्गा अर्कैले नामसारी गराई लिएकोलाई जिल्ला अदालतले सदर गरेको कानुनी शासनविपरीत हो, भूमाफियाको रजगज चलेको हो ।
भक्तपुर जिल्ला अदालतको बेन्च ४ का न्यायाधीस उमानाथ गौतमबाट भएको यो फैसलाबाट ललिता निवासको सरकारी जग्गा र काठमाण्डौं ठमेलस्थित थँवहीको सार्वजनिक कमल पोखरीलाई व्यक्तिको नाममा दर्ता गराई छायाँ कम्प्लेक्स बनाइएको घटना स्मरण भयो । न्यायाधीसहरूकै कारण सत्यतथ्यको हार हुने अवस्था अन्त्य हुनु जरुरी छ । पु“जीवादी व्यवस्थामा अदालतबाट सर्वसाधारण जनतालाई न्याय नमिल्ने भनाई सत्य सावित भयो ।
मेरो हजुरबुबा लतंकुमार प्रजापतिले जोति कमाई आउनुभएको ताथलीको साविक लगत १९ नं. तैकाबु कासाँचो रोपनी ।।क।, ।क।।१ र ।३।२ को साविक नम्बर ८०, ८४ र ८३ भिडेको २०२१ सालको नापीमा कि.नं ३५८ कायम भएको तत्कालीन मालपोत कार्यालयका कर्मचारीहरूसँगको मिलिमतोमा २०२२।०९।१२ गते जग्गाका सँधियार लतंकुमार साखकर्मीलाई स्रेस्ता बनाई लगेको बेठीक थियो । यो विषय हामीलाई धेरै वर्षसम्म थाहा भएन । २०२१।०९।२१ गते मेरो हजुरबुबा लतंकुमार प्रजापतिको नाममा जग्गावालाले भर्ने पारिवारिक लगत समेतमा सो जग्गा उल्लेख भएको र २०२३।०६।०५ गते हजुरबुबा लतंकुमार प्रजापतिको नाममा जोताहा अस्थायी निस्सा समेत प्राप्त भएको जग्गा हजुरबुबाको जीवनकालमा उहाँले र उहाँको परलोक पछि पिता गोपाल प्रजापति र उहाँको पनि परलोक पछि मैले हालसम्म जोतकमोत गर्दै आएको हो । २०२१ सालको नापीअनुसार ताथली कित्ता नं. ३५८ क्षेत्रफल १–१०–०–० कित्ता कायम भएको हजुरबुबा लतंकुमार प्रजापतिबाट जोत नामसारी गर्न भुमिसुधार तथा मालपोत कार्यालय, भक्तपुरमा २०७४।८।१ गते मैले निवेदन दिएको विचाराधीन अवस्थामा छ । जोत नामसारी प्रकृया अगाडि बढ्दै गर्दा विपक्षीहरुले उक्त साविक कित्ता नं. ३५८ को जग्गा कित्ताकाट गरी ऐ.कित्ता नं. १८२८, १८२९, १८६९, १८७०, १८३१ कायम गरी विभिन्न मानिसहरुलाई बिक्री गरेको रहेछ ।
किनं ३५८ को मेरो जग्गाको जग्गाधनी स्रेस्तामा साखकर्मीको नाम हटाउन २०५८।६।८ गते जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट नाता प्रमाणित गराई मालपोत कार्यालय भक्तपुरमा पेश गरेको र मालपोत कार्यालय भक्तपुरका सम्बन्धित कर्मचारीले जग्गाधनीको नाम संशोधनको लागि भनी विपक्षीको नाम उल्लेख भएको जग्गाको जग्गाधनी स्रेस्तामा लेखी संकेतसमेत गरेको थियो ।
मेरो जग्गा समेत घुसाई ताथलीका लतंकुमार शाखकर्मीका छोराहरूले तत्कालीन गाउँ विकास समितिको कार्यालयका कर्मचारी बद्रीप्रसाद सिंख्वालसमेतलाई प्रभावमा पारी फिल्ड सर्जमिन नगराई विपक्षीले नै जोत भोग गरी आएकोजस्ता झुटा ब्यहोरा लेखी लेखाई २०६५।१०।२८ गते सिफारिस लिई मेरो हजुरबुबाको नामको समेत आफ्नो नाममा नामसारी गराइएको थियो । नामसारीका क्रममा २०६५।११।०८ गतेको टिप्पणी आदेशमा भूमिसुधार कार्यालयका कर्मचारी सुरेन्द्र थापाले कित्ता नं. ३५८ मा मोही लतंकुमार प्रजापति उल्लेख भएको, कार्यालयको २ नं. अनुसूची भिडाउँदा कित्ता नं. ३५८ को जग्गाको मोहीमा लतनकुमार शाखकर्मीको नाम नभिडेको उल्लेख गरेका थिए भने कित्ता नं. ३५८ को जग्गाको किसानको ब्यहोरामा “यो जग्गा मेरो हो” भनी मेरा हजुरबुबा लतंकुमार प्रजापतिले लेखाउनु भएको कागजपत्र अहिले पनि मौजुद छ ।
भूमिसुधार कार्यालयका कर्मचारीहरूले आर्थिक प्रलोभनमा लगत कट्टा जनाई मेरो हजुरबुबा लतंकुमार प्रजापतिको कित्ता नं. ३५८ को जग्गा समेत घुसाई मोही लगत कट्टा गरेका थिए । यो गलत निर्णय बदरको लागि मैले सम्मानीत जिल्ला अदालत भक्तपुरमा २०७९ जेठ २७ गते निवेदन दिएको थिएँ ।
एक तहमाथिका सम्बन्धित कर्मचारी रामहरी खड्काले “संलग्न प्रमाणहरूका आधारमा एकापरिवारका मोही लगत कट्टा निर्णयको लागि” भनी अर्को झूटा र जालसाजी राय पेश गरेका थिए । भुमिसुधार कार्यालयका तत्कालीन प्रमुख हरिप्रसाद दुलालले “मोही एकै परिवारको देखि“दा भूमिसम्वन्धि ऐन २०२१ को दफा २ (ख) ले मोही नहुने हु“दा लगत कट्टा जनाइ दिने गरी सदर’ भनी तेस्रो झूटा र जालसाजी निर्णय गरेका थिए । सोही आधारमा मेरो बाजे लतंकुमार प्रजापतिको जध र जोतसमेतको जग्गा किनं ३५८ लाई घुसाई बाबुकाजी साखकर्मीसमेतले लगतकट्टा गरी तत्कालै बेचबिखन समेत गरे ।
मेरो बाजेको नामको जग्गाको मोही लगत कट्टा गरी बाबुकाजी साखकर्मीसमेतले जग्गाधनी आफै बनाई बिक्री गरेको थाहा भएपछि मिसिल खोजतलास गर्दा भूमिसुधार कार्यलयमा मिसिल नभेटिएबाट मेरो जग्गाको जोत नामसारी, जग्गा वेचविखन र कित्ताकाट समेतमा कर्मचारी र बाबुकाजी साखकर्मीसमेतको मिलिमतो भएको स्पष्ट हुन्छ । साखकर्मी र प्रजापति एकै परिवारको नभएको हु“दा भूमि सम्बन्धि ऐन विपरीतको निर्णयमा संलग्न तत्कालीन गाविस सचिव सिंख्वाल र जोत नामसारी गरिदिने भूमि सुधार कार्यालयका तत्कालीन कर्मचारीहरू थापा, खड्का, दुलाललाई पक्राउ गरी जेल चलान गर्नु आवश्यक छ ।
भूमि सुधार कार्यालयको १ नं मोही लगतमा पनि किनं ३५८ को जग्गा साखकर्मीको होइन, लतंकुमार प्रजापतिकै भएको उल्लेख छ । नापी कार्यालय भक्तपुरको फिल्डबुकमा किनं ३५८ को जोताहा महलमा लतंकुमार प्रजापति भ.पु तौलाछें’ उल्लेख भएको र जोताहा किसानको व्यहोरामा ‘यो जग्गा मेरै हो जोती आएको’ उल्लेख भई मेरा बाजे लतंकुमार प्रजापतिकै भएको स्पष्ट हुँदाहुँदै भूमि सुधार कार्यालय भक्तपुरले कि.नं ३५८ समेत गाभेर साखकर्मीको नाममा मोही नामसारीको निर्णय गरेको अवैध छ ।
मेरो हकको किनं ३५८ को जोत लगत कट्टा र स्रेस्ता निर्माणसम्बन्धि भूमि सुधार कार्यालय भक्तपुरको सम्पूर्ण निर्णय बदर गर्ने फैसला हुनुपर्नेमा भक्तपुर जिल्ला अदालतबाट मेरो दाबी नपुग्ने फैसला भएको सत्यले न्याय नपाएको नै हो । मैले जोति आएको व्यहोरा २०६६।०७।१२ को तत्कालीन ताथली नमूना गाविसको स्थलगत सर्जमिन र २०६६।०७।१३ को च.नं. ६५८ को सिफारिसपत्र, २०७४।०७।३० गते चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीबाट प्राप्त च.नं. १२४८ को सिफारिसपत्र समेतमा उल्लेख छ । र.नं. १११८ मिति २०७२।०६।२७ को हाम्रो अंशबण्डाको लिखतअनुसार साविक दर्तावाला मोही बाजे लतनकुमार भन्ने लतंकुमार प्रजापतिको नामबाट निवेदक नाती म रामकृष्ण प्रजापतिको नाममा मोही नामसारी हुने सिफारिस समेत भूमिसुधार कार्यालय भक्तपुरमा पेश भएको थियो ।
कागज प्रमाणहरुमा दर्तावाला मोहीको नाम लतंकुमार प्रजापति नै प्रष्ट उल्लेख भईरहेको अवस्थालाई बेवास्ता गरी हचुवा र गैर कानूनीरुपमा मेरो हकको जग्गालाई बाबुकाजी साखकर्मीसमेतको भनी २०६५।११।०८ गते भएको भूमिसुधार कार्यालयको जालसाजी निर्णय प्राकृतिक न्यायको सिद्धान्त तथा सम्मानीत सर्वोच्च अदालतको २०६६ को निर्णय नं, ८१०५ र २०६८ को निर्णय नं ८७०२ विपरीत २०८० भदौ ३ गते जिल्ला अदालतबाट हदम्याद र हक कायम नहुने फैसलाले मेरो पुर्खाको जग्गा मैले नपाउने अवस्था ल्यायो । तसर्थ आर्थिक अपराधीको कव्जामा परेका जिल्ला न्यायाधीश र भूमिसुधार तथा मालपोत कार्यालयका प्रमुखहरूलाई यसरी आफ्नो पुर्खाको जग्गा मेरोजस्तै अरू कसैले नामसारी गरि लगे मान्य होला र ?
ताथलीमा रहेको क्यान्सर अस्पताल भवन बनेको जग्गामा पनि मोहिले पुस्तौं पुस्ता जोति आएको हुँदा सो जग्गा खरिद गरेका जग्गाधनीले मोहिको कुनै प्रमाण नै नभएपनि आधा जग्गा बराबरको रकम उपलब्ध गराएको इतिहास साछी छ । किनं ३५८ को जग्गाको जोतपोत दुवै मेरो हकको र हालसम्म जोतभोग गर्दै आएको जग्गा हो ।
न्यायाधीसहरू सत्यको पक्षका न्यायमूर्ति हुन भन्ने नेपाली जनताले अनुभव गर्न सक्ने अवस्था कहिले आउँछ ? सम्मानीत अदालत प्रति जनताको विश्वास जगाउने कार्य कहिले हुन्छ ? कसैले पनि आफ्नो पुर्खाको जग्गा त्यतिकै छाड्दैन । मेरो जग्गाको विषयमा यो पाठक पत्रमार्फत् सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु । अकालमा मैले र मेरो परिवारले मृत्युवरण गर्नुपर्ने अवस्था नआओस् भनी यो सम्पादकीय चिठी लेखेको हुँ । आशा छ, सत्यको पक्षमा तपाईको पत्रिकाले यो पत्र छापिदिनु हुनेछ । धन्यवाद !