भक्तपुरका मुर्त र अमूर्त सम्पदाहरू पर्यटकको मुख्य आकर्षण
असोज ३०, २०८०, मङ्गलबार | विहान १०:१७ बजे | 10
सुनिल प्रजापति, प्रमुख—भक्तपुर नगरपालिका
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा भूकम्प इन्जिनियरिङ तथा विपद पछिको पुनःनिर्माण विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ।
विज्ञहरुको भनाइअनुसार नेपाल भूकम्पीय दृष्टिले अत्यन्त जोखिम मुलुक हो । भूकम्पलाई नियन्त्रण गर्ने आजसम्म प्रविधिको विकास नभए पनि भूकम्प आउनु अघि सूचना दिने प्रविधिको कारण धेरैले जीवन सुरक्षित भएको महशुश गरेका छन् । भूकम्पले भन्दा पनि मानव निर्मित संरचनाहरुको कारण धनजनको क्षति हुने कुरालाई ध्यानमा राखी कुनै पनि भौतिक संरचनाहरु निर्माण गर्दा हामी अत्यन्त सचेत हुनु आवश्यक छ । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङले भूकम्पसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरु नियमित रुपमा गर्दै आएका छन् ।
६ फेब्रुअरी सन् २०२३ मा टर्कीमा ठूलो भूकम्प गयो । त्यहाँ सडक, यातायात, सञ्चार सबै क्षतिविक्षत भए । सरकारी अधिकारीहरूले भूकम्पमा ढलेका ठूलो भवनहरूको डिजाइन गर्ने १०० भन्दा बढी कम्पनीहरूलाई वारेन्ट जारी गरे, दर्जनौं निर्माण कम्पनीहरूलाई तत्काल गिरफ्तार गरे । ६.८ र ७.६ रेक्टर स्केलमा प्रभावित सबै भवनहरूको छानबिन गरे । सरकारले कैयौं निर्माण कम्पनीलाई कार्वाही गर्यो ।
त्यहा“ विज्ञहरूले नयाँ निर्माण गरेका भवनहरू भवन संहिताअनुसार नभएको भनी आलोचना गर्दै आएका थिए । भ्रष्टाचारको कारण ती कुरालाई त्यहाँका सरकारले बेवास्ता ग¥यो । त्यसैको परिणाम धेरै धनजनको क्षति भएको अनुमान गरिएको छ ।
सन् २००८ मा चीनको सिचुवान प्रान्तमा गएको ८ रेक्टर स्केलको भूकम्पले ८० हजारभन्दा बढी मानिसको ज्यान लिनुका साथै लार्खौ घरहरु भत्के र करोडौ मानिसहरु घरबार बिहीन भए । चिनियाँ सरकारले ३ वर्ष भित्र लाखौं घरहरु, सयौं विद्यालयहरु र आवश्यक अस्पतालहरुको पुनःनिर्माण सम्पन्न गरेर सबैलाई बसोबासको व्यवस्था मिलाइ दियो । भूकम्प पछिको पुनःनिर्माण कसरी गर्नु पर्छ भन्ने उदाहरण चीनको सिचुवान प्रान्तको पुनःनिर्माण कार्यबाट हामीले सिक्नु पर्छ ।
नेपालमा हाम्रै पालामा पनि २०४५ भाद्र ५ गते र २०७२ साल बैशाख १२ गते गरी दुइ वटा ठूलठूला भूकम्पहरु गए । भूकम्प पछिको पीडा कस्तो हुन्छ ? हामी सबै जानकार छौं । २०४५ सालको भन्दा २०७२ सालको भूकम्प तुलनात्मक रुपमा शक्तिशाली थियो । २०७२ सालको भूकम्पबाट देशभर लाखौं घरहरू भत्के, हजारौं मानिसहरूको ज्यान गयो र लाखौं मानिसहरु घरबारबिहीन भएर सडकमा पुगे । त्यो पीडादायी क्षण हामीले कहिल्यै बिर्सने छैनौं । त्यत्रो ठूलो क्षति हुँदा समेत न कुनै निर्माण कम्पनीमाथि छानबिन भयो न कुनै किसिमको कार्वाही नै । सबै कुरा स्वभाविक जस्तै भयो । भवन निर्माण संहितालाई ध्यान नदिइ जथाभावि कमजोर भवन निर्माण गर्ने भ्रष्ट निर्माण कम्पनीहरुमाथि के कार्वाही हुनु पर्ने होइन र ? भूकम्प गएको ८ वर्ष बिति सक्दा पनि देशभर अझै लाखौंको संख्यामा घर र सयौंको संख्यामा सम्पदा पुनःनिर्माण गर्न बाँकी छन् ।
भक्तपुर नगरभित्र मात्रै करिब ८ हजार घर र १३० भन्दा बढी सम्पदामा क्षति पुगेको थियो । त्यतिबेला जन प्रतिनिधिबिहीन थियो । पुनःनिर्माणको काम सहज थिएन । २०७४ सालमा भएको स्थानीय निर्वाचनबाट हामी निर्वाचित भएपछि भूकम्पबाट क्षतिग्रस्त घर र सम्पदाहरूको पुनःनिर्माणलाई हामीले पहिलो प्राथमिकतामा राखेर काम शुरु गर्यौ । ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङका प्राविधिकहरूले त्यतिबेला निकै ठूलो सहयोग गर्नुभयो ।
हाम्रो सम्पदाहरू पुनःनिर्माणको लागि हामीले कहिल्यै विदेशीको मुख ताकेनौं । स्थानीय जनताको साथ र सहयोगमा पहिलो कार्यकालमा १२४ वटा र हालसम्ममा १३५ वटा सम्पदाहरु पुनःनिर्माण र जिर्णोद्वार सम्पन्न गर्यौ । अझै दर्जनौं सम्पदाहरु निर्माणाधिन अबस्थामा छन् । स्थानीय जनशक्ति, मौलिक प्रविधि, स्रोत र साधनको प्रयोग गरी प्राचीन शैलीमै निजी घर र सम्पदाहरु पुनःनिर्माण गर्न पाउँदा हामीलाई खुशी लागेको छ ।
सम्पदा पुनःनिर्माण सरकारको प्राथमिकतामा नपर्नु, सरकारले सहज काठ उपलब्ध नगराउनु र सम्पदा पुनःनिर्माण ठेक्कामा गराउनु पर्ने व्यवस्था भक्तपुरका केही महत्वपूर्ण सम्पदाहरु पुनःनिर्माणका लागि बाधक बनेका छन् । हाम्रो निरन्तरको प्रयाशबीच पनि भक्तपुर दरबार क्षेत्रस्थित कला संग्रहालय रहेको न्हयेकं झ्यो दरबार पुनःनिर्माण हुन सकेको छैन । कानुनी, प्राविधिक र आर्थिक कारण त्यो दरबारको पुनःनिर्माण हुन नसकेको हो । यही वर्षदेखि दरवार क्षेत्रमा अवस्थित थन्थु दरबारको पुनःनिर्माण कार्य सुरु गरेका छौं । हामीले मौलिक शैलीलाई बचाइ राख्ने प्रयत्न गदैैछौं । त्यसका लागि मौलिक शैलीमा घर बनाउने घर धनीहरुलाई घरको मोहडाको लागि हुने खर्चको ३५ प्रतिशत नगरपालिकाले अनुदानको नीति बनाएर लागू गर्दै आएका छौं ।
हाम्रा मुर्त र अमूर्त सम्पदाहरू आज पर्यटकहरुका लागि आकर्षण बन्दैछन् । हामीले हाम्रो र भावी पुस्ताका लागि सम्पदाहरूको संरक्षण ग¥यौं तर त्यो विदेशीहरूका लागि पनि भएको छ । भक्तपुर भ्रमणमा आउने विदेशीहरूसँग केही पर्यटन शुल्क उठाएर मूर्त र अमूर्त सम्पदाहरुको संरक्षण, शिक्षा, स्वास्थ्य, सर सफाइ,विकास निर्माणलगायतका जनताको हितमा खर्च गर्दै आएका छौं ।
भवन संहिताअनुसार निर्माण गरेका घरहरु र सम्पदाहरु तथा समय समयमा मर्मत गरिएका संरचनाहरुमा भूकम्पबाट कममात्र क्षति भएको नेपालीहरुको अनुभव छ ।
यसर्थ प्राविधिक मित्रहरूले आगामी दिनमा भूकम्पबाट हुने क्षति न्युनीकरणका लागि भवन संहिताअनुसार मात्रै भवनहरू निर्माण गर्न र त्यसको लागि जनचेतना जगाउन आवश्यक कार्यक्रमहरू गर्नेतर्फ ध्यान दिने आशा गर्छौ ।
स्वदेश र विदेशका विभिन्न विश्वविद्यालयहरूबाट पाल्नुभएका प्रतिनिधिहरूले यस सम्मेलनबाट नयाँ निष्कर्ष निकाल्न सफल हुने विश्वास गर्छौ । धन्यवाद ¤
(भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २०८० असोज ३० गते, मंगलबार सम्पन्न ‘भूकम्प इन्जिनियरिङ तथा विपद पछिको पुनःनिर्माण’ विषयक तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)