इन्द्रजात्रामा २० विदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण
असोज ८, २०८०, सोमबार | दिउँसो ०२:४१ बजे | 45
नविना श्रेष्ठ काठमाडौं महानगरपालिकाले भगिनीसम्बन्ध भएका विभिन्न देशका २० विदेशी पाहुनाहरुलाई काठमाडौंको ऐतिहासिक पर्व इन्द्रजात्रा हेर्न आमन्त्रण गरेको छ । सोमबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरले भगिनीसम्बन्ध भएको चीन, अमेरिका, जापानलगायत देशका विभिन्न नगरका २० नगरप्रमुख इन्द्रजात्रा अवलोकनका लागि आउने निश्चित भइसकेको जनाएको छ। महानगरले २२ स्वदेशी पाहुना पनि अवलोकनका लागि आउने जानकारी गराएका छन्। काठमाडौ महानगरको इन्द्र जात्रामा राष्ट्रप्रमुखबाट श्रीगणेश, श्रीभैरव र कुमारीको दर्शन गर्ने परम्परा छ । भने जात्राका लागि शान्ति सुरक्षा, सरसफाइ, सम्पदाहरूको मर्मत–सम्भार, रङरोगन, रथयात्राको रुटमा पर्ने सडक मर्मत भइरहेको महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो। पत्रकार सम्मेलनमा महानगरकी उपप्रमुख सुनीता डंगोलले भगिनीसम्बन्ध भएका देश र विदेशका पालिकाका प्रमुखहरूलाई इन्द्रजात्राका लागि निम्तो दिइसकेको बताए ।जात्रालाई भव्य रूपमा सम्पन्न गर्ने गरी तयारी भइरहेको उपप्रमुख डंगोलले उल्लेख गरे। विभिन्न माग राख्दै सामाजिक अभियन्ता ईःले गरिरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै छलफल गर्न महानगरको ढोका खुला रहेको उनले बताइन् । ईःले उठाएको विषय महानगरको मात्र नभएर संघीय सरकारको पनि रहेकाले सबैको सहकार्यमा नै अघि बढ्नुपर्ने खाँचो देखिएको उनले बताएकी छिन। मंगलबार हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि विधिवत रूपमा जात्रा सुरु हुनेछ। असोज ११ गते रथयात्रा र देवीदेवताको पूजाआजा गरी इन्द्रजात्रा पर्व मनाइन्छ। इन्द्रजात्रा लिच्छविकालीन राजा गुणकामदेवका पालादेखि चलिआएको मानिन्छ ।