भक्तपुरका भ्यागुताहरुलाई खुवाइयो भोज


भदौ १३, २०८०, बुधबार | विहान ०६:५६ बजे | 35


भक्तपुरका भ्यागुताहरुलाई खुवाइयो भोज

भक्तपुर– सबैका हातमा किस्ती । तिनमा ठूल्ठूला पात । पातमाथि सजाइएका छन्, थरीथरी परिकार । गोलाकार पारेर काटिएका मूलाका चाना सिन्कोले घोचेर भातमा अड्याइएको छ । छरिता रोटीसँगै मौसमी तरकारी क्वाँटी र बोडी छुटाइएको छैन । रक्षाबन्धन धागो र सिन्दूर पनि त्यहीँ राखिएका छन् । छेवैमा धुवाइरहेको धूपले सुगन्ध फैलाइरहेछ ।
जनैपूर्णिमाका अवसरमा बुधबार सबेरैदेखि मठमन्दिरमा भिड चुलिँदै जाँदा भक्तपुरका किसान भने यिनै सामग्री बोकेर आफ्ना खेततिर लागे । अनि, आलीमा टुक्रुक्क बसेर ’पाहुना’ डाक्न थाले ।
आजका पाहुना कुनै विशिष्ट आफन्त वा नातागोता थिएनन् । यो सत्कार थियो, भ्यागुतालाई । किसानले भ्यागुतालाई परिकार पस्किदिए । सामुन्ने नआए पनि तिनलाई रक्षाबन्धनको धागो दिए । सांकेतिक रूपमा सिन्दूर पहि¥याइदिए । अनि ऐना (भातमा गाडिएका मुलाका चाना) देखाइदिए । किसानले आलीमै बसेर भोज खाए । आफू हिँडेपछि भ्यागुताले खाने विश्वासमा उनीहरूको भाग त्यहीँ छाडिदिए ।
प्रकृतिपूजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वास गर्छन्। र, त्यही गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउँछन्। यही परम्परा धान्न भक्तपुरे किसान परिवारका कम्तीमा एक सदस्य बिहीबार किस्ती बोकेर खेततिर लागे। धेरैतिर खेत हुनेहरूलाई सबैतिर पुग्न भ्याइनभ्याइ थियो। कोही साइकलमा त कोही मोटरसाइकलमा हुइँकिइरहेका थिए।
प्रत्येक वर्ष गाईजात्राको अघिल्लो दिन (रक्षाबन्धन) भ्यागुतालाई भोज खुवाउने परम्परा छ। यसलाई स्थानीय किसान ’ब्यां चा जानका वानेगू’ भन्छन्। नेपालभाषामा ’ब्यां’ को अर्थ भ्यागुतो र ’जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ।
कृषक लक्ष्मीकेशरी खाताखो यसपालि पनि खानेकुरा बोकेर बिहानै आफ्नो खेत पुगिन्। हरिया पात बिच्छ्याएर भ्यागुतालाई ’भोज’ पस्किदिइन्। मसलाका रूपमा सुपारीको कुड्को पनि राखिदिइन्।
’भ्यागुताले खान्छ नै भन्ने छैन, तैपनि उनीहरूका लागि एक भाग छाडिदिनु परम्परा हो,’ उनले भनिन्, ’म मात्रै होइन, यो दिन यहाँका सबै किसान भ्यागुतालाई भोज खुवाउँछन्।’
अर्का किसान रामबहादुर कासुला भ्यागुतालाई भाग लगाइसकेपछि आफूले पनि त्यहीँ भोज खाएर आउने चलन रहेको सुनाउँछन्। ’खास गरी यो दिन भ्यागुतालाई नै भोज खुवाउने हो। हामी पनि त्यो छाक उनीहरूकै बीचमा बसेर खान्छौं, घरबाटै पुग्ने गरी खानेकुरा लैजान्छौं,’ उनले भने।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिई सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउँछन्। बालीनाली संरक्षण गरिदिएको कदरसहित वर्षमा एकपटक भ्यागुतालाई सम्झने परम्परा अहिले पनि जस्ताको त्यस्तै रहेको ठान्छन् उनी। ’भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गरिरहेको हुन्छ,’ उनले भने, ’भ्यागुतो उफ्रँदा बारीमा मल फिँजिन्छ, बाली बिगारिदिने कीटाणु खाइदिन्छ।’

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरका भ्यागुताहरुलाई खुवाइयो भोज

Comments