भक्तपुरका अमितसहित ६ फोटोग्राफरकहरुको फोटो प्रदर्शनी हेर्न जाने कि ?


भदौ १०, २०८०, आइतबार | विहान ०६:०९ बजे | 30


भक्तपुरका अमितसहित ६ फोटोग्राफरकहरुको फोटो प्रदर्शनी हेर्न जाने कि ?

काठमाडौँ । नेपालका ६ जना फोटोग्राफरहरूले विभिन्न विषयमा खिचेको तस्बिरहरूको प्रदर्शनी ‘एउटा भन्ने तरिका’ वा ‘अ वे अफ टेलिङ’ धौगलमा रहेको पाटन हाउसमा सुरु भएको छ । शुक्रवार बेलुकी उद्घाटन भएसँगै यसको प्रदर्शनी प्रारम्भ भएको हो । 
फोटो सर्कल नेपालले अन्य अन्तर्राष्ट्रिय संस्थासँग मिलेर सञ्चालन गरेको इन्टरनेशनल स्टोरीटेलिङ वर्कसप २०२३ अन्तर्गतको यो प्रदर्शनी एक महिनासम्म चल्नेछ । ओस्लो मेट्रोपोलिटन युनिभर्सिटी, पाठशाला साउथ एसियन मिडिया इन्स्टिच्युट र फोटो सर्कल नेपालको सहभागितामा ४५ दिनसम्म ६ जना नेपाली फोटोग्राफर वर्कसपमा सहभागी भएका थिए ।
नेपाली फोटोग्राफरका अलावा वर्कसपमा ६ बङ्गलादेशी र ९ नर्वेजियन फोटोग्राफरको पनि सहभागिता थियो । वर्कसपका दुई सेसन म्याडस् निस्सन र मुनेम वासिफले सञ्चालन गरेका थिए ।
हाल प्रदर्शनीमा राखिएका तस्बिरहरूले नेपालका विभिन्न क्षेत्रका कथाहरू देखाउँछन् । मित्रता, बढ्दो सहरीकरणको प्रभाव, प्रकृति, लैङ्गिकता र हराउँदै गएका मौलिकताबारे फोटो मार्फत देखाएको छ ।
प्रदर्शनीमा अमित मचामसी, असिम बाँस्तोला, डेनिस महर्जन, निशा खालिङ् राई, निष्ठ थापा श्रेष्ठ र सुन्दुप दोर्जे लामाले खिचेका तस्बिरहरू राखिएका छन् ।

Comments