किन मूलढोका माथि नागको चित्र टाँसिन्छ ?


भदौ ५, २०८०, मङ्गलबार | विहान ०५:४८ बजे | 40


किन मूलढोका माथि नागको चित्र टाँसिन्छ ?

नविना श्रेष्ठ
घरको मूलढोका माथि नागको चित्र टाँसेर नागको पूजा आराधना गरिन्छ । तपाईँलाई थाहा छ किन टाँसिन्छ घरको मूलढोका माथि नागको चित्र ?  ढोकामाथि टाँसिएको नागको चित्रले वर्षभरि उक्त घर परिवारका सदस्यहरूको रक्षा गर्ने जनविश्वास रहिआएको छ।
श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो पर्व नाग देवताका लागि समर्पित गरी पूजा अर्चना गरेमा वास्तवमै नाग देवता समक्ष पुग्ने समेत जनविश्वास रहेको पाईन्छ। नागपञ्चमीको दिन नागको चित्रमा दुध, दही, अक्षता, फुल, दुबो राखी गाईको गोबरको सहायताले घरको ढोका माथि अष्ट नागको चित्र टाँस्ने चलन रही आएको छ। यो दिनदेखि वर्षायाम समाप्त भई हिउँदयाम सुरु भएको मानिन्छ ।
नागलाई धारण गर्ने भगवान् भोलेनाथको पूजा आराधना गर्नु पनि यो दिनमा शुभ मानिन्छ । नागका अष्टकुल अर्थात् अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागको चित्र जुन घरमा टाँसिन्छ त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्प बिच्छीलगायतका जीवले दुःख नदिने धार्मिक विश्वास रहेका छन्। ज्योतिषशास्त्रअनुसार पञ्चमी तिथिका स्वामी नाग देवता हुन् । भूमिमा नाग देवताको बसोबास हुने र भूमि खन्दा नागलाई कष्ट हुने सम्भावना भएकाले नाग पञ्चमीका दिन भूमिमा हलो जोत्नु वा जग राख्नु शुभ हुदैन।
सबैको घर–घरको जगमुनि नाग देवताको बास रहेको हुन्छ । त्यसैले घरको जग खन्दा नाग देवतालाई कुनै क्षति भएमा उनी रिसाउँछन् र उनी रिसाएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो ।

Comments