भ्रष्टाचार गर्नेहरुलाई पदको कारण उन्मुक्ति दिन नहुने


साउन २, २०८०, मङ्गलबार | दिउँसो ०१:०८ बजे | 15


भ्रष्टाचार गर्नेहरुलाई पदको कारण उन्मुक्ति दिन नहुने

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारीबाट जम्मा भएको सामुदायिक विकास कोष जनताको हितमा ख्वप अस्पतालमार्फत थप सेवा प्रदान गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको सहकारीकर्मीहरुको भेलामा सम्बोधन गर्दै उहाँले आर्थिक कारोबारमा संलग्न पदाधिकारीहरु उदार हुन नहुने बताउँदै उदारताले नै संस्थाहरु डुब्ने बताउनुभयो ।
२०२५ सालमा नवदुर्गा बहुमुखी संस्थाका पदाधिकारीहरुले गरेको भ्रष्टाचारविरुद्ध स्थानीय जनताले कारबाही गरेको सम्झनामा सहकारीकर्मीहरुको भेला आयोजना गरेको बताउँदै उहाँले भ्रष्टाचार गर्नेहरुलाई पदको कारण उन्मुक्ति दिन नहुने जनताको भावना रहेको उल्लेख गर्नुभयो ।
भारत, जापान, दक्षिण कोरियामा प्रधानमन्त्री भइसकेका व्यक्तिहरुलाई समेत त्यहाँका अदालतले जेल र ज्यान सजायँ दिएकोबाट नेपालले सिक्नुपर्ने बताउँदै उहाँले सहकारी संस्थाहरुले आर्थिक पारदर्शिता र अनुशासनमा बसी व्यापक जनताको हितमा काम गर्न मार्गनिर्देशन गर्नुभयो ।
कार्यक्रममा सहकारी समितिका संयोजक एवम् वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी संस्थाहरुले सामुदायिक विकास कोषको रकम भक्तपुर नपालाई हस्तान्तरण गर्ने क्रम चालु रहेको बताउँदै उक्त कोषको रकम जनताकै हितको निम्ति प्रयोग हुने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले सहकारीकोे संक्षिप्त इतिहासबारे प्रष्ट पार्दै समुदायमा आधारित सहकारीहरुले जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्व, जिल्ला बचत संघका अध्यक्ष कृष्णगोविन्द लाखाजु, वडा सदस्यद्वय श्यामसुन्दर मातां र नारायणप्रसाद त्वानाबासु समेतले बोल्नुभएको थियो ।

फाेटाेमा हेर्नुहाेस्...

भ्रष्टाचार गर्नेहरुलाई पदको कारण उन्मुक्ति दिन नहुने

Comments