रोशी गाउँपालिकाको बजेट सर्वसहमतले पारित
असार १७, २०८०, आइतबार | साँझ ०४:१२ बजे | 35
संगम लामा
काभ्रे । काभ्रेको रोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि प्रस्तावित नीति कार्यक्रम तथा बजेट सर्वसहमतले पारित गरेको छ । आज सम्पन्न गाउँसभाको १३ औं गाउँ अधिवेशनको दोस्रो बैठकले सर्वसम्मत पारित गरिएको हो ।
गत असार १० गते शुरु भएको अधिवेशनमा गाउँपालिका अध्यक्ष दिनेश लामाले प्रस्तुत गरेका नीति तथा कार्यक्रम र उपाध्यक्ष मिमबहादुर वाइबा (ज्वाला)ले प्रस्तुत गरेका बजेट आज बसेको गाउँसभाको बैठकले पारित गरिएको गाउँपालिकाको प्रवक्ता वसन्त कुमार तामाङले जानकारी दिए ।
पहिलो वैठकमा अध्यक्ष लामाले नीति तथा कार्यक्रम, उपाध्यक्ष मिम बहादुर वाईवाले विनियोजन विधेयक, २०८० र आर्थिक विधेयक २०८०, निर्णयार्थ पेश गरेका थिए । साथै उपाध्यक्ष वाईवाले रोशी गाउँपालिकाको आर्थिक वर्ष २०८०÷८१ को लागि ७४ करोड २७ लाख ६० हजार रुपैयाँ बजेट पेश गरेका थिए । एक हप्ता लामो छलफल पछि दोस्रो वैठकमा सर्वसम्मतले पारित गरेको प्रवक्ता तामाङले बताए ।
त्यसैगरी गाउँसभाको तेह्रौ अधिवेशनले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन, गाउँपालिकाको विधायन, लेखा र सुशासन तथा विकास समिति, गठन तथा सञ्चालन कार्यविधि र न्यायिक समितिको वार्षिक प्रतिवेदन समेत सर्वसम्मतले पारित गरेको छ ।
फाेटाेमा हेर्नुहाेस्...