७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट प्रस्तुत
असार १२, २०८०, मङ्गलबार |
विहान ११:१५ बजे
|
40
Share0
नमोबुद्ध– काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाको दोस्रो नगर सभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आर्थिक बर्ष २०८०÷८१ को लागि नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयकका साथै बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ ।
आइतबार बसेको बैठकमा नगर प्रमुख कुनसाङ लामाले आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने नगर उपप्रमुख रत्नबहादुर लामाले आर्थिक बर्ष २०८०/८१ को लागि बजेट प्रस्तुत गरेका थिए ।
उपप्रमुख लामाले बजेट ७२ करोड ७५ लाख ६४ हजार ८ सय २७ रुपैयाको अनुमानित बजेट तथा कार्यक्रम प्रस्तुत गरे । लामाले आगामी आर्थिक बर्षको लागि चालुतर्फ १७ करोड ९४ लाख २४ हजार १ सय ९७ र पुँजीगततर्फ ५४ करोड ८१ लाख ४० हजार ६ सय ३० रुपैयाँको बजेट प्रस्ताव गरेको छ ।
बैठकमा सार्वजनिक लेखा समितिका संयोजक एवं वडा नं ११ का वडाअध्यक्ष कृष्णबहादुर तामाङले आर्थिक बर्ष २०८०/८१ को आर्थिक विधेयक, विधायन समितिका संयोजक एवं नगर प्रवक्ता टिकाबहादुर केसीले विनियोजन विधेयक प्रस्तुत गरेका थिए ।
न्यायिक समितिका संयोजक समेत रहेका उपप्रमुख लामाले न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्माले चालु आर्थिक बर्ष २०७९/८० को बार्षिक नगर योजना माथिको वित्तिय प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नगर सभाको अर्काे बैठक २०८० असार २७ गते बस्ने तय भएको नगरपालिकाले जनाएको छ ।