विद्यार्थीले प्रतिशोधपत्रबापत १ लाख रुपैयाँ सहयोग पाउने
असार १२, २०८०, मङ्गलबार | विहान ०२:५४ बजे | 35
काभ्रेको बेथानचोक गाउँपालिकाबारे स्नातकोत्तर र विद्यावारिधि तहमा शोधपत्र तयार गर्ने विद्यार्थीले प्रतिशोधपत्रबापत १ लाख रुपैयाँ सहयोग पाउने भएका छन्। देश विदेशसम्म गाउँपालिकाको प्रचारप्रसार गर्ने अपेक्षासहित यस्तो नीति ल्याइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले आइतबार आर्थिक वर्ष ०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्। उक्त कार्यक्रम १३औँ गाउँसभाबाट सर्वसम्मत पारित भएको छ। त्यसैगरी, प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाभित्र पूर्वाधार विकासअन्तर्गत कम्तीमा ५ किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
दुर्लुङखोला च्याम्राङबेँसी सुरुङ मार्ग, बाघद्वार खोला बहुउद्देश्यीय ताल निर्माण, बेथानचोक एकीकृत सहरी विकास कार्यक्रमलगायत पूर्वाधार विकासका कार्यक्रम यस नीतिमा समावेश छन्। कृषिलाई आधुनिकीकरण गर्नका लागि पशुमा कृत्रिम गर्भाधानलाई निःशुल्क गरिने भएको छ।
त्यस्तै, ६० वर्ष पुगेका नागरिकहरूलाई निःशुल्क होलबडी चेकअप, बेथानचोकका महिलाहरूले गाउँपालिकाबाहिरका अस्पतालमा गएर सुत्केरी गराउनुपर्ने अवस्था भएमा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, मधुमेह तथा उच्च रक्तचाप नियन्त्रणका लागि ४० वर्षमाथिका सबै नागरिकहरूको स्वास्थ्य संस्थाबाट स्क्रिनिङ गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेलगायत विषय नीति तथा कार्यक्रममा समेटिएका छन्।
गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि एग्रो टुरिजम तथा इको टुरिजमको प्रवर्द्धन गर्ने नीति ल्याएको छ। बेथानचोकका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक वस्तुको संरक्षण तथा प्रवर्द्धनका लागि बेथानचोक म्युजियम स्थापना गर्ने, राष्ट्रिय तथा विदेशी सहरसँग भगिनी सम्बन्ध स्थापनाका लागि प्रयास गर्ने, बेथानचोक नारायणस्थान जानका लागि निजी क्षेत्रको सहकार्यमा केबलकारको विकास गरिनेलगायत कार्यक्रम पर्यटन नीतितर्फ समावेश छन्।