नेकका विद्यार्थीहरूलाई जापानमा रोजगारीको अवसर
असार ७, २०८०, बिहीबार | विहान ०१:२० बजे | 45
जापानको राजधानी टोकियोको आइमाक इन्जिनियरिङ कम्पनीका निर्देशक श्री मासाकि ओसाकिले आज चाँगुनारायण नगरपालिका भक्तपुरमा मुनाफारहित शैक्षिक संस्थाको रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक)मा भ्रमण गरी उक्त कलेजबाट अध्ययन पुरा गरेका विद्यार्थीहरूलाई जापानमा रोजगारी दिने बारेमा कलेजका सहायक प्राचार्य सहप्राध्यापक इन्जिनियर दुर्गा प्रसाद भण्डारी तथा अन्य शिक्षकहरूसँग छलफल गरे। जापानका इन्जिनियरहरूको बढ्दो मागलाई जापानी इन्जिनियरहरूले मात्र धान्न नसक्ने तथ्याङ्क जापानी सरकारी तथ्याङ्कमै देखिएपछि उक्त समस्या समाधानको लागि विभिन्न जापानी कम्पनीहरू एसियाका कलेजहरू भ्रमण गरी राम्रो शैक्षिक गुणस्तर कायम गर्न सफल कलेजहरूबाट अध्ययन पुरा गरि सकेका विद्यार्थीहरूलाई जापानमा रोजगारी दिन नेपाल आउने क्रममा नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका थिए। यस कलेजबाट विगतमा पनि धेरै विद्यार्थीहरू जापानको विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षाको लागि गइ सकेको र कयौं विद्यार्थीहरू अध्ययन पुरा गरी जापानका विभिन्न संस्थाहरूमा काम गरिरहेका छन्। ती विद्यार्थीहरूको कामको गुणस्तर र काम प्रतिको लगनशीलता उच्च भएकोले नेपाल इन्जिनियरिङ कलेज जापानको आइमाक इन्जिनियरिङ कम्पनीको रोजाईमा परेको कम्पनीका निर्देशक श्री ओसाकिले बताए। कलेजको भक्तपुर परिसरको भ्रमण तथा अन्तरकृया पश्चात निर्देशक ओसाकिले कलेजको ललितपुर स्थित स्नातकोत्तर अध्ययन केन्द्रको भ्रमण गरी कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ तथा केन्द्रका निर्देशक प्रा.डा. तुसिता चाँदनी शाहिसँग पनि भेटवार्ता गरेका थिए। प्रा.डा. श्रेष्ठ र प्रा.डा. शाहि दुई दशक अगाडि जापानमा आफ्नै कामको सिलसिलामा केही वर्ष वर्ष बस्नु भएको थियो। प्रा.डा. श्रेष्ठले जापानको इहिमे विश्वविद्यालयबाट इन्जिनियरिङमा विद्यावारिधि गर्नुभएको थियो। आज सम्पन्न उक्त कार्यक्रमहरूमा आइमाक इन्जिनियरिङ कम्पनीका नेपाली प्रतिनिधि राजीव बज्राचार्यले सहजकर्ताको भूमिका निभाउनु भएको थियो। यी दुई संस्थाहरू बीच छिटै समझदारी पत्रमा हस्ताक्षर हुने र त्यसपछि छानिएका विद्यार्थीहरूलाई नेपालमै ६ महिनाको तालिम पश्चात जापानमा रोजगारीको करार गरिने निर्देशक ओसाकिले बताए। जापानमा दुई वर्ष अस्थाई रोजगारी दिइने र त्यस पछि काम राम्रो भएमा स्थाई रोजगारीमा नियुक्त गरिने जानकारी निर्देशक ओसाकिले दिए।