मेरा गुरु स्व.श्री प्रेमकृष्ण पाठक


बैशाख ३१, २०८०, आइतबार | विहान ०९:२६ बजे | 30


मेरा गुरु स्व.श्री प्रेमकृष्ण पाठक

डा इन्दुल केसी 
पृष्ठभूमि
२०७९ श्रावण २० गते नेपाल प्रज्ञा–प्रतिष्ठान, काठमाडौँमा नेपाली कविताका लघुतम उपविधा विषयमा भाग लिन पुगेँ । त्यस कार्यक्रमको सभाकक्षमा नारीश्वर (ध्यmबल ख्यष्अभ) पत्रिकाका प्रधान सम्पादक श्रीमती हिरण्यकुमारी पाठकज्यूसँग भेट भयो । उहाँ नेपाली साहित्य क्षेत्रमा सुपरिचित नारी हस्ताक्षर हुनुहुन्छ । ’आत्मनिर्भरता नै हाम्रो लक्ष्य हो ।’ भन्ने नारा बुलन्द गर्दै उहाँले यो पत्रिका वि.सं. २०६३ सालदेखि प्रकाशित गरिरहनु भएको छ । भलाकुसारीको क्रममा उहाँले मलाई एउटा कुराको जानकारी दिनुभयो । स्वर्गीय प्रेमकृष्ण पाठकज्यूको सम्झनामा एउटा स्मारिका ग्रन्थ प्रकाशन हुन लागेको छ । त्यस ग्रन्थमा समावेश गर्न मेरो एउटा लेख दिन अनुरोध गर्नुभयो । यो लेख त्यसैको लागि लेख्न पुगेँ ।
प्रारम्भ
नेपाली भाषा–साहित्य क्षेत्रमा विभिन्न विषय र विधामा अनेकौँ पुस्तिका, पुस्तक स्मारिका ग्रन्थहरू तयार गरी प्रकाशन भइरहेका छन् । प्रकाशित ती व्यक्तिको स्वर्गारोहणपछि उसले गरेका कामहरूको लिपिबद्ध गरी ग्रन्थ तयार गरी एउटा खोजीनिती अध्ययन÷अनुसन्धानको विषय हुन सक्दछ । कुनै विशिष्ट पाठ्यसामग्रीहरू समाजको लागि उपयोगी छन् ? पाठक वर्गले पढे–पढेनन, त्यो प्रकाशन गर्ने प्रचलन नेपालमा पनि चलिआएको छ । यस प्रसङ्गमा राष्ट्रकवि श्री माधवप्रसाद घिमिरेज्यूको ’गौरी’ शोककाव्यको याद मलाई आयो ।
विषयप्रवेश
स्व. प्रेमकृष्ण पाठकज्यू मेरा आदरणीय गुरु हुनुहुन्थ्यो । हिजोआज हाम्रो समाजमा गुरु शब्दको प्रयोग निकै बढेको छ । सार्वजनिक (पब्लिक) गाडी चलाउने ड्राइभरलाई यात्रुहरूले ’गुरुजी’ भन्ने सम्बोधन गरेको धेरैले देख्नु, सुन्नुभएको होला । पहिले नारायणहिटी दरबारमा गुरुजी, बडागुरुज्यू पदमा पदासिन भएको हुन्थ्यो । गुरुजुको पल्टन नै छ । हिजोआज पनि जात्रापर्वमा गुरुजुको पल्टन बाजागाजाका साथ काठमाडौँमा शहर परिक्रमा गर्ने गरिन्छ । बौद्धधर्म पालन गर्ने सुनचाँदीको व्यापार व्यवसाय गर्ने बाँडाहरूलाई गुरुजु गुरुमा शव्दले सम्बोधन गर्ने चलन पनि छ । गुरु संस्कृत शब्द हो जसले आफ्ना शिष्यलाई शिक्षा दिई अन्धकारबाट मुक्त गरी प्रकाशमा ल्याउने क्षमता राख्दछ । गुरुको महिमा वर्णातीत छ । यसैले गुरुर ब्रह्मा, गुरुर विष्णु, गुरुर देव महेश्वर भनिन्छ । प्रसङ्ग गुरुको हो, प्रोफेसर प्रेमकृष्ण पाठकज्यू मेरो गुरु हो । उहाँ जातको आधारमा ब्राह्मण अनि कर्ममा अध्यापन गर्ने प्रोफेसर हुनुहुन्थ्यो ।
हाल म ८२ वर्ष उमेर पुगेका जेष्ठ नागरिकमा दरिसकेको वृद्ध हुँ । कुरो आजभन्दा करीब साठी वर्षपहिलेको हो । भक्तपुर नगर मंगलाछें टोल ब्रह्मपुर चोकका मेरा पिता स्व. पण्डित केदारनाथ झाका छोरो हुँ । यही टोल यही चोक यही नगरमा मेरो बालककाल विद्यार्थी जीवन युवक अवस्था पार गरी अहिलेसम्म बाँचिरहेको छु । वि.सं. २०१८ सालमा मैले प्रवेशिका परीक्षा (एस.एल.सी.) परीक्षामा उत्तीर्ण भएँ । तत्पश्चात् भक्तपुर कलेजमा भर्ना भई आई.ए. कक्षाको विद्यार्थी हुन पुगेँ । त्यो कलेज भक्तपुर दरबार स्क्वायरमा रहेको श्री पद्म हाईस्कूलको भवनमा सञ्चालित थियो । त्यस कलेजका प्रिन्सिपल श्री चन्द्रबहादुर श्रेष्ठ, भाइस प्रिन्सिपल श्री वासुदेव प्रसाद जोशी तथा प्राध्यापक श्री ध्रुवनारायण कायस्थज्यू भक्तपुर निवासी हुनुहुन्थ्यो । अरू विभिन्न विषय अध्यापन गर्ने प्रोफेसरज्यूहरू काठमाडौँ निवासी हुनुहुन्थ्यो । प्रोफेसर प्रेमकृष्ण पाठकज्यू पनि प्रत्येक दिन बिहान सबेरै त्यस कलेजमा काठमाडौँबाट आवतजावत गर्नुहुन्थ्यो । उहाँले त्यस कलेजमा इतिहास विषय पढाउनुहुन्थ्यो । त्यसबेला कलेजमा पढाउने सबै गुरुहरूलाई प्राध्यापक होइन ’प्रोफेसर’ शब्द प्रयोग हुन्थ्यो ।
म इतिहास विषयमा विशेष अभिरुचि राख्ने विद्यार्थी हुँदा प्रोफेसर प्रेमकृष्ण पाठकज्यूलाई बढी मनपराउँथे । उहाँले पनि मलाई अलि बढी माया गर्ने उहाँका आज्ञाकारी विद्यार्थीहरूको रूपमा लिनुहुन्थ्यो ।
त्रिभुवन विश्वविद्यालयको निर्धारित पाठ्यक्रम इतिहासका पाठ्यपुस्तकहरू उपलब्ध थिए । विद्यार्थीहरूले केवल पाठ्यपुस्तकहरू मात्र पढेर किताबको कीरो हुनुभन्दा विषयको गहन अध्ययनको लागि क्लासमा पढाउने गुरुको लेक्चर ध्यान दिएर सुन्नुपर्छ भनी हामीलाई पाठकज्यूले सल्लाह दिनुहुन्थ्यो । त्यस कलेजको पुस्तकालयमा रहेका इतिहासका किताबहरू पनि पढ्नुपर्छ भनी निर्देशन दिनुहुन्थ्यो।
कक्षामा सबै प्रोफेसरज्यूहरूले आ–आफ्नो विषयमा पढाउनुहुन्थ्यो । सबै प्रोफेसरज्यूहरूको स्वभाव, बानीव्यहोरा, लगनशीलता एकै प्रकारको थिएन । यहाँ प्रो. पाठकज्यूका बारे केही चर्चा गर्नु सान्दर्भिक छ । कलेजको घण्टी बज्नासाथ पाठकज्यू आफ्नो कक्षामा ठीक समयमा प्रवेश गर्नुहुन्थ्यो । कक्षामा रहेका सबै विद्यार्थीहरूले एकै स्वरमा ’गुडमर्निङ सर’ भनी बोलेका आवाजले गुञ्जायमान हुन्थ्यो । उहाँले पनि ’गुडमर्निङ !’ र ’सीट डाउन प्लिज !’ भनी अभिवादनको प्रत्युत्तर र सबैलाई बेञ्चमा बस्न निर्देशन दिनुहुन्थ्यो । कुनै पनि कुराको इतिहासमा आफ्नो महत्त्वपूर्ण स्थान रहन्छ तर कसैको विचारमा इतिहास भनेको भूतकालको विवरण हो जुन बितिसक्यो, अब त्यसको चर्चा गरी समय बिताउनु आवश्यक छैन । कोही भन्नुहुन्छ– इतिहास भनेको मृतकहरूको एउटा जुलुस हो, त्यसको कुनै अर्थ छैन । उहाँहरू भन्नुहुन्थ्यो– हामी वर्तमानमा बाँचिरहेका छौँ । वर्तमानमै रमाऔँ । यी कुरा इतिहासको अवमूल्यन भन्ने ठान्दछु ।
प्रो. प्रेमकृष्ण पाठकज्यूको शिक्षणकला आकर्षक हुन्थ्यो । कक्षामा सर्वप्रथम त्यो दिनको पढाइपूर्व विगत कक्षाको सङ्क्षिप्त चर्चा गरिसकेपछि त्यो दिनको )पाठसँग सप्रसङ्ग जोड्नुहुन्थ्यो । हामी विद्यार्थीहरूलाई पूर्वकक्षामा पढेका कुरालाई पुनः संस्मरण गराउने कार्य महत्त्वपूर्ण मानिन्छ। उहाँको शारीरिक जीउडाल आकर्षक व्यक्तित्व, स्पष्ट बोलाइको साथ प्रसङ्गअनुसार हात हल्लाई, कम्मर मर्काई शिर बेला–बेलामा दायाँ–बायाँ मर्काई गरिने क्रियाकलापले कुनै नाटकको पात्रजस्तो देखिन्छ । हामी विद्यार्थीहरू दर्शक रहेका दर्शकजस्तो हुन्थ्यौं । लेक्चरको बीच– बीचमा विद्यार्थीहरूलाई प्रश्न सोध्नुहुन्थ्यो । उहाँको आँखाको हेराइ प्रायः कशाका सबै विद्यार्थीहरूमा पुगिरहन्थ्यो । विद्यार्थी र उहाँका आँखा जुधेर भ्बथ ऋयलतबअत भइरहन्थ्यो । कक्षामा उहाँको उपस्थिति एउटा नाटकमा अभिनयसाथ प्रस्तुत हुने एउटा आकर्षक कलाकारजस्तो हामीलाई भान हुन्थ्यो । यो हो उहाँको अध्यापनको एउटा झलक । त्यसबेला उहाँ प्रोफेसर होइन कलाकारजस्तो, हामी विद्यार्थी होइन नाटकको दर्शकजस्तो हुन पुग्थ्यौ । यस प्रकारको शिक्षणकला उहाँको एउटा विशेषता मान्नुपर्छ। पढ्ने र पढाउने तौरतरिका रोचक र प्रभावकारी भयो भने त्यो सिकाइलाई उपयोगी मानिन्छ । उहाँको कक्षा सञ्चालन हामी विद्यार्थीहरूलाई अति उपयोगी भएको हामी विद्यार्थीहरूले महसुस गथ्यौँ ।


विशेष सम्बन्ध
मलाई लाग्छ, प्रोफेसर प्रेमकृष्ण पाठकज्यू र मेरो बीच विशेष घनिष्ठ सम्बन्ध रहेको ठान्दछु । हुन त सम्बन्ध केवल गुरु र चेलाको मात्र हो । कुनै–कुनै शनिबार बिदाको दिनमा उहाँले मलाई आफ्नो निवास काठमाडौँ बानेश्वरमा बोलाउनुहुन्थ्यो । म भक्तपुरबाट काठमाडौँको वडाघर बानेश्वर धेरै पटक पुगेको कुरा याद आइरहन्छ। उहाँको घरमा पुग्दा मलाई कुरेर प्रोफेसरसाहेब बसिरहनु हुन्थ्यो । त्यहाँ उहाँका परिवारजनहरूसँग पनि मेरो भलाकुसारी हुन्थ्यो । उहाँकी धर्मपत्नी हिरण्यकुमारी पाठकज्यूले मलाई मीठो खाजा खुवाउनुहुन्थ्यो । खाना खाइसकेपछि प्रोफेसरसाहेबले ’इन्दुल, लौ अब हामी दुई जना डुल्न जाऊँ भनी कहिले काठमाडौँ कहिले ललितपुरमा लानुहुन्थ्यो । त्यहाँका ऐतिहासिक मन्दिरहरू, दरबारहरूको अवलोकन गर्ने गथ्यौँ । यसक्रममा काठमाडौँको वसन्तपुरस्थित बडामहाराजा श्री पृथ्वीनारायण शाहले निर्माण गर्नुभएको नौतल्ले दरबार, मरुगणेश, हनुमानढोका, कालभैरव, रानीपोखरी, त्रिचन्द्र कलेज, दरबार हाईस्कूल, नारायणहिटी दरबार एरियामा रहेको नारायण मन्दिर पोखरी, कमलपोखरी, नक्साल भगवती मन्दिर हुँदै उहाँको घर बानेश्वरसम्म पैदल यात्रा गथ्यौं । यसरी कुनै दिन हामी ललितपुरको कृष्ण मन्दिर, भीमसेन मन्दिर, पाटन दरबार, पाटनको सुन्धारा क्षेत्रमा अनि बगलामुखी कुम्भेश्वर साँस्कृतिक कलाकृति र केही शिलापत्रहरू हेथ्यौं, प्रोफेसरज्यूले ती स्थानका बारे हुँदै बागमती नदीको पुल तरेर बानेश्वर फर्कने गर्थ्यो । सबै स्थानको ऐतिहासिक, ऐतिहासिक कुराहरू कापीमा टिपोट गर्न लगाउनुहुन्थ्यो ।
एक–दुई पटक बिहान भक्तपुर कलेजको कक्षापछि उहाँ काठमाडौँ नफर्की मलाई साथमा लिएर भक्तपुर दरबार स्क्वायरको भण्डारखाल पोखरी, तलेजु मन्दिर सुवर्णद्वार, पचपन्न झ्याले दरबार, पशुपति मन्दिर, तौमढीटोलस्थित सिद्धिलक्ष्मीको पाँचतले मन्दिर भैरवनाथ र बेतालको मन्दिर, गोलममढी टोलस्थित शिव मन्दिर, तचपाल टोलको दत्तात्रय मन्दिर, भीमसेनको मन्दिर, वाकुपति नारायणको मन्दिर प्राङ्गणमा पुगी काठमाडौँ र ललितपुरमा ॐ भक्तपुरको ऐतिहासिक कुराहरूको स्थलगत शैक्षिक भ्रमण गर्ने गथ्यौँ । बेला–बेलामा हामी विभिन्न पसलमा पसी जुजु धौ र चिउरा, पुष्टकारी खाने गथ्यौँ । साँझपख भएपछि प्रोफेसरसाहेब पब्लिक बसको यात्रुझैँ काठमाडौँ फर्किनुहुन्थ्यो ।
केही अन्य जानकारीमूलक कुरा
मैले प्रो. प्रेमकृष्णको जीवनमा घटित मैले जानेबुझे र सुनेका केही कुराहरू ः 
१) उहाँले इतिहास विषयमा मास्टर डिग्रीको साथै कानून (ीबध) विषयमा पनि स्नातकोत्तर डिग्री हासिल गर्नुभएको थियो ।
२) भक्तपुर कलेजमा इतिहास विषय र काठमाडौँको ल कलेजमा कानून विषयको अध्यापन गर्नुभएको थियो ।
३) उहाँ नरममा कपासजस्तो तथा खरोमा ओखरजस्तो कडा पनि स्थानविशेष र पस्थितिअनुसारको स्वभाव निकाल्नुहुन्थ्यो तर आफ्नो स्वाभिमानमा आँच आउन नदिने प्रकृतिको हुनुहुन्थ्यो ।
४) पञ्चायतकालका प्रोफेसर, सत्य–तथ्य बोल्ने स्पष्ट वक्ता र उहाँ सक्षम प्रशासक र नेताहरूमध्येमा पर्नुहुन्थ्यो । भक्तपुर कलेज र ल कलेज दुवैबाट उहाँलाई बहिर्गमन गरियो ।
५) सबै प्राणीको आयु आफ्नो वशमा हुँदैन, एक दिन उहाँ आफ्नो घरमा परिवारजनसँग कुरा गर्दै रहनुभएको थियो । अचानक उहाँलाई हर्टअट्याक भयो । बोलिरहनु भएको व्यक्ति, एकैछिनमा उहाँको बोली बन्द भयो । शायद यो उहाँको इच्छामृत्यु हो कि भन्ने धेरै जनाको भनाइ सुन्न पाइयो ।
६) अन्तमा उहाँको पार्थिव शरीरलाई पशुपति आर्यघाट पुरÞ्याइयो । रामनामी पछ्यौरा र कात्रोले बेरियो । ब्रह्मनालमा सुताइयो, निधारमा चन्दन लेपन गरियो । मुखमा गंगाजल खन्याइयो । फूलको मालाले शरीरलाई छोपियो ।
७) त्यहाँ बनाइएको चितामा चिरनिद्रामा सुताइयो । दाहसंस्कारद्वारा उहाँको भौतिक शरीरलाई दनदन बलेको आगोले पोलेर खरानी तुल्याइयो । पञ्चतत्त्वबाट तयार भएको भौतिक शरीरलाई पृथ्वीमा नै छोडेर शोकाकुल परिवारजन, इष्टमित्र सबैसँग सदाको लागि बिदा लिएर जानुभयो, कसैलाई थाहा भएन ।
८) हामीसँग उहाँको स्मृति मात्र बाँकी छ । उहाँ सदाको लागि अमर व्यक्तित्वको रूपमा रहनुभएको छ । म उहाँको एक विद्यार्थीको नाताले गुरुप्रति श्रद्धाञ्जली र उहाँका शोकाकुल परिवारजनप्रति हार्दिक समवेदनाका मेरा टुटेफुटेका यी दुई शब्दलाई यहीँ विश्राम दिन्छु ।
जय गुरुदेव !
(लेखक वरिष्ठ साहित्यकार हुनुहुन्छ ।)
८८८८
 

फाेटाेमा हेर्नुहाेस्...

Comments