सूर्य लाकोजूको सत्याग्रहमाथि विमर्श
बैशाख २४, २०८०, आइतबार | विहान ०५:०७ बजे | 15
भक्तपुर । सिर्जना अभियान समाजले कथाकार सूर्यप्रसाद लाकोजूको नवीनतम् कथासङ्ग्रह सत्याग्रहमाथि विमर्श कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि एवं कथाकार बाबा न्यौपानेले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले साहित्य साधकका रुपमा चिन्दै आएको र आजै मात्र साक्षात्कार भएको बताउँदै उहाँका कथाहरु सामाजिक समस्यालाई प्रभावकारी रुपमा प्रस्तुत गर्न सफल छन् भन्नुभयो ।
कार्यक्रममा पुस्तकमाथि विमर्श गर्दै कथाकार धु्रव मधिकर्मीले संस्कृति र काव्य क्षेत्रमा स्थापित स्रष्टा एवं अक्षरमार्गका सम्पादक सूर्यप्रसाद लाकोजूले समाजका विविध समस्यामाथि कथाहरु लेखेको बताउनुभयो । साथै उहाँले राजनीतिप्रति समाजको दृष्टिकोण र राजनीतिमा इमान्दारिता उपेक्षित बनेको, वैदेशिक रोजागरीमा जानेहरुप्रति राज्यले चासो नदिंदा नेपालीहरुले दुःख पाएको, विकासको नाममा आम मानिसले भोग्नु परेको समस्या लगायतका विषयलाई कथाकार लाकोजूले प्रभावकारी रुपमा उठाएका छन् भन्नुभयो ।
कथाकार लाकोजूले कतिपय विषयलाई कवितामा व्यक्त गर्न नसकिने भएकाले कथाको रुपमा प्रस्तुत गरेको बताउनुभयो ।
समाजका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको सो कार्यक्रममा स्रष्टाहरु सुवासचन्द्र ढुङ्गेल, रत्न कोजू, विमल भौकाजी, त्रिरत्न शाक्य, त्रिविक्रम पाण्डे, धु्रवकृष्ण ताम्राकार, राममणि ढुंगेल, निर्मला बराल, इन्दिरा चापागाइँ, हरिगोविन्द भोमी, श्याम आशा, सुरेन्द्रलाल भुजू , धु्रवनारायण जोन्छें, सानुराजा अन्जान, विनोद ढुंगेल, दिलकुमारी डंगोल, राजेशमान केसी, हिमलाल श्रेष्ठ, जितेन्द्र रसिक, राजेन्द्र चित्रकार लगायत विविध विधाका स्रष्टाहरुको उपस्थिति थियो ।
ट्रान्स– वल्र्ड पब्लिकेसनबाट प्रकाशित सत्याग्रहमा विविध विषयमाथि लेखिएका एघार वटा समसामयिक कथा छन् ।