‘शब्दसागरका मोती’ टिप्ने मेरो दुस्साहस


चैत २४, २०७९, शुक्रबार | दिउँसो १२:२१ बजे | 40


‘शब्दसागरका मोती’ टिप्ने मेरो दुस्साहस

प्रकाशप्रसाद उपाध्याय

बिहानको चियाको स्वाद लिँदै थिएँ । फोनको घण्टी बज्यो । फोनमा कुरा सकेको मात्र थिएँ, पत्नीले सोधिन्–‘आज त पुत्रदा एकादशी, ब्रत बस्ने हो ?’

‘कसरी बस्ने ? तिमीलाई थाहै छ, बिहानदेखि औषधिको खुराक चल्छ । खाली पेटमा औषधि खानु भएन । हार्टको पेसेन्ट । बरु तिमी पनि नराख । स्वच्छ आचार, छलकपटविनाको जीवन, इमानदारितापूर्ण व्यवहार र निस्वार्थ भावका साथ गरिने जनसेवा पनि धर्मकै अंग हुन् । ब्रत बसेर मात्रै धर्म हुने होइन ।’


अनि सोधिन –‘कस्को फोन थियो ?’


नाउँ बताएँ । उनी भान्साभित्र पसिन् । कुराकानीमा लाग्दा चिया सेलाइसकेको थियो । भनें–‘चिया त चिसो भइसकेछ । भान्सामा छौ, एक कप गरम चिया बनाइदेउ न अदुआ हालेर ।’


ताजा अदुआको बास्ना आइरहेको चियाको स्वाद लिँदै अखबार पल्टाउन थालें । त्यसपछि अन्य कामतिर लागें । कति समय बित्यो थाहा भएन । ‘अब खाने होइन ?’ भनेपछि झसंग भएँ । भनें– एकछिन पख । खल्ल नुहाएर आइ हाल्छु’ भन्दै उठें र नुहाउने कोठाभित्र पसें ।


खाएर उठेको मात्रै थिएँ कि फेरि फोन आयो । ‘म हिँड्दैछु सर, खाना त खानु भयो होला ?’


‘हजुर । प्रतीक्षामा छु ।’


लगभग एक घण्टापछि फेरि फोनको घण्टी बज्यो । ‘म त तपाईंको निवासनजिकको स्कुलको छेउमा छु । कता आउने हो ?’


‘म आउँदैछु । तपाईं दक्षिणतिर बढ्दै ओरालोतर्फ आउनोस्, म त्यतै हुनेछु ।’


तल ओर्लें । भक्तपुरबाट आइरहनुभएका लेखक एवम् विद्वानमित्र डा. इन्दुल केसीलाई घरनजिकको उकालोेमा भेटें । सँगसँगै घरभित्र पस्यौं । भलाकुसारीपछि उहाँले झोलाबाट एउटा पुस्तकका दुईप्रति दिनुभयो –‘एउटा तपाईंका लागि, र अर्को तपाईंका साहित्यअनुरागी कुनै मित्रका लागि’ भन्दै ।


पुस्तकको शिर्षक हेरें–शब्दसागरका मोती । २७ वटा शिर्षकका लेखहरूका विषय सूची अनुसार, लेख, कथा, कविता, यात्रा संस्मरण आदिको समीक्षात्मक कृति लाग्यो । लाग्यो–शब्दसागरका मोती त तटमा उभिएर फेला पर्ने होइन । यो फेला पार्न (महत्व बुझ्न) सागरभित्र डुबुल्की त मार्नै पर्दछ । अनि सागरमा ओर्लंदै, अगाडि सर्दै, गोता खाँदै, बढ्दै जान थालें । यस क्रममा, त्रि.वि. पाटन, संयुक्त क्याम्पसका प्रा.डा. कृष्णप्रसाद दाहालको समालोचकीय भूमिका हात प¥योे । त्यसलाई खोतल्ने क्रममा थाहा पाएँ, लेखक त यस रचनाद्वारा ‘साहित्यिक, सांस्कृतिक, धार्मिक, दार्शनिक, वैदिक, ऐतिहासिक, सांगितिक, योग र ध्यान जस्ता अनेकौ विषयवस्तुमा डुबुल्की मार्न पुगेका’ रहेछन । गोता खाँदै अगाडि बढें त लेखकीय हात प¥यो । पुस्तक प्रकाशनको आर्थिक भार सुपुत्री रजनी केसी मानन्धरले उठाउनुभएको थाहा भयो । यसरी सुयोग्य पिताकी सुयोग्य पुत्रीको कर्तव्यपरायणताको बोधबाट मन प्रफुल्लित भयो । लेखकले ‘शब्दसागरका मोती’लाई आफ्नो ‘अनुभव, अनुभूति र अध्ययनको त्रिवेणी बनेर आएको कृति’ बताउनुभएको ज्ञान भयो । त्यसलाई पनि खोतल्दा थाहा भयो यस शब्दसागरमा २२ वटा त उनकै लेख र समीक्षात्मक टिप्पणी पो रहेछन् । ईशावास्योपनिषदको समीक्षाको क्रममा रचनाकारले प्रस्तुत गर्नुभएका मन्त्रहरूले यस गोताखोरको मुखमण्डलमा जुन आलोक पैmलायो त्यसको वर्णन गर्न नसकिने छ । 


पौडिँदै अगाडि बढ्ने क्रममा ‘महर्षि याज्ञवल्क्यको नाटकको दृश्य’माथि नजर प¥यो । वाङ्मय शताब्दी पुरुष संस्कृतिविद् डा. सत्यमोहन जोशीले नेपाली भाषामा लेख्नुभएको महर्षि याज्ञवल्क्य नामको १३६ पानाको किताबको चर्चा डा. इन्दुल केसीले गर्नुभएको रहेछ । जनकपुरका विदेहराज जनकको ब्रह्मसभाद्वारा सर्वश्रेष्ठ ब्रह्मविद् ब्रह्मवेत्ताको उपाधिद्वारा विभूषित महर्षि याज्ञवल्क्यले यस नाटकको एउटा संवादमा भनेको पाएँ– ‘म गार्हस्थ्य आश्रमबाट सन्न्यास आश्रममा उठ्न चाहन्छु । अब मलाई यो जाग्रत, स्वप्न, सुसुप्तिका तीन डोरोसँग केही माया–ममता छैन । न यी मन, वचन, कर्मको एकताको प्रतीक शिखासँग नै, न यो दाहसंंस्कारयुक्त शरीरसँग नै । मलाई त अब परिव्राज्य स्वीकार्नु छ ।


धनले अमरता मिल्दैन, न जीवनमुक्तिको प्राप्ति नै । धनले त भोगमय जीवनलाई अल्झाइराख्छ । धनले त भौतिक उन्नतिलाई मात्र टेवा दिन्छ ।


यो विश्व ब्रह्माण्डमा अमृत्व प्राप्तिको एकमात्र साधनभूत मार्ग आत्माको दर्शन, श्रवण, चिन्तन र ज्ञान गर्नुमा नै छ ।’


ज्ञानका यी मोतीहरू आत्मसात गर्दै अगाडि बढ्ने क्रममा ‘प्राचीन विश्व इतिहासको सङ्क्षिप्त चर्चा’ले पनि यस गोताखोरको ध्यान आपूmतर्फ आकर्षित गर्दा ‘अर्बौं वर्ष पहिले सूर्य केन्द्रको रूपमा रहेको र त्यसैबाट  टुक्रिएर यो  पृथ्वीको संरचना भएदेखि मानव जातिको उत्पत्ति, पृथ्वीको प्राकृतिक वातावरणमा परिवर्तन, मानिसको फिरन्ते जीवनबाट सामूहिक जीवन’को प्रारम्भ आदिको जानकारी यताउति छरिएको देखा प¥यो ।


अनि अरु अगाडि बढ्दा ‘उत्तरी ध्रुवसमेतको जीवन यात्रा’ फेला प¥यो । यससम्बन्धमा रचनाकार डा. इन्दुल केसीले आफ्नो समीक्षाको प्रारम्भ यस रूपमा गरेको पाएँ–हुन त सबै प्राणीको जीवन नै एउटा यात्रा हो । यात्राको दारौनमा मानिसले एक स्थानबाट अर्को स्थानमा विभिन्न कामले यात्रा गरिरहन्छ । यसै क्रममा वासुदेव ढकालजीले एउटा कुरामा विश्व कीर्तिमान कायम गर्नुभयो । नियात्री वासदेव ढकालले आफ्नो जीवनको यात्रा क्रममा २०३६ साल आषाढ २९ गते आइतवार कर्कट रेखा पार गरि आजसम्म नेपाली पाइलाले नकुल्चिएको संसारको सिरानी उत्तरी ध्रुव प्रदेशको फिनल्यान्डको उत्तरी भेग लापल्यान्ड टेकेको वृत्तान्तले पनि मनलाई प्रसन्न तुल्यायो । फिनलैन्डको सात साताको बसाइपछि नियात्री ढकाल स्विडेनको राजधानी स्टकहोम र नर्वेको राजधानी ओस्लो पुगेकोे बेहोराले ती स्थलहरूको सुन्दरता, भाषाको जटिलता र दर्शनीय स्थल आदिको बोध गरायो ।


शब्दसागरका २७ मोती बटुल्ने प्रयासबाट थकित भएर फर्कने क्रममा एउटा सोच पलायो । यो कृति प्रकाशित भएदेखि कति साहित्यानुरागीहरूले यस शब्दसागरमा नुहाउने, डुबुल्की मार्ने, वा पञ्चस्नान गर्ने अवसर पाए होलान् ? गोता खाँदै हिँडेको मनुवाले यो थाहा पाउने कुरै भएन । तर शब्दसागरका मोतीप्रति रुचि राख्नेहरूले यो कृति पढ्नु र किनेर पढ्नु आवश्यक ठान्यो । किनभने यसमा एक होइन अनेक मोती छन्, ज्ञानका, दर्शनका, वेद  र उपनिषदका, योग र आध्यात्मका, अनि पर्यटनको सम्बन्धमा । पढ्नको निम्ति समय खर्चनु परे पनि मूल्य धेरै तिर्नु पर्ने रहेनछ । शुद्ध घ्यूको एक पाउ जिलेबी किन्दा पर्ने खर्च भन्दा पनि कम वा मोमोप्रेमीहरूले एक प्लेट मोेमो र एउटा शीतल पेयमा खर्च गर्ने रकमभन्दा पनि थोरै । अर्थात पाठकहरूको सहुलियतका लागि रचनाकारले यसको मोल तोकेका छन् मात्र २०५ रुपैयाँ । पुस्तक बिक्रेताले कमिसन दिएमा सके त्यति पनि नपर्ला । यति रकम खर्च गरी पढ्न थालेमा प्राप्त हुने जानकारी र ज्ञानका कुराले मनलाई आनन्दित मात्र होइन आलोकित पनि गर्नेछ । सृष्टिको रचनादेखिका वृत्तान्त र उत्तरी ध्रुव प्रदेशको फिनल्यान्डसमेतको दर्शनीय स्थलबाट अवगत गराउने छ ।


पुस्तकमा चतुष्पदको रूपमा समाविष्ट ‘रचनाकारको परिचय’मा उल्लिखित १४ वटा पदहरूले त आत्मवृत्तान्तको स्वरूप नै प्रदान गरेका छन् भने ‘सगुन भजन’ले शब्दसागरका मोतीलाई पावनता प्रदान गरेको छ भन्दा अतिशयोक्ति नहोला ।


अन्त्यमा, पाठक वर्गसामु ‘शब्दसागरका मोती’ प्रस्तुत गर्न कठोर मेहनत गर्ने ८१ वर्षीय युवा लेखक डा. इन्दुल केसीको जाँगर, उर्जा र साहसलाई सलाम  र उहाँको प्रयासलाई सार्थक रूप दिने अनुशीलन नेपालको प्रकाशन कार्यप्रति धन्यवाद ज्ञापन गर्दै  के भन्न चाहन्छु भने ‘शब्दसागरका मोती’ नेपाली साहित्य र साहित्यका विभिन्न विधाप्रति रुचि राख्ने हरेक पाठकले एकपल्ट पढ्नैपर्ने पुस्तक हो । कसरी पढ्ने, त्यसको निर्णय अब पाठकहरू स्वयम्ले नै गर्ने हो ।


Comments