मोती भित्रका मोती डा.इन्दुल केसी
चैत २२, २०७९, बुधबार | विहान ०९:१५ बजे | 30
प्रजापति तिमिल्सिना, आख्यानकार
अनुहार सफा चिल्लो पोटिलो छ । शरीर फुर्तिलो छ । त्यसैले होला सधैँ सकृय देखिने । यो सकृयता प्रौढता भित्रको बालापन पो हो कि ? उमेर सुन्छु, मेरा बाबुको उमेर । अर्थात् ८२ वटा डाँडा पार गरिसकेको । लाग्छ यो परिपक्क जीवनले धेरै कुराको साबिती बोकिरहेको छ । अनुहारले यो मान्दैन । शरीरले पनि यो उमेर बोल्दैन । गतिशीलता देख्छु उमेरलाई आफ्नो वसमा राख्न सक्ने ऋषिमुनि जस्तै । उहाँको ठट्यौली गरिरहनु पर्ने स्वभावले त ठम्याइरहेको छ ठिटौली । मनले सोचिरहन्थ्यो यति विशेषता बोकिरहने यो मान्छेको भित्र कस्तो मन होला ?
मुख चलिरहेको देख्छु , केही चपाइरहेर हो कि ? केही बोल्न खोजेर हो कि ? कि कुनै उपदेश दिनलाई हो ? आँखामा चश्मा भए पनि आँखाका तरबारी तेज धारलाई रोक्न नसकेका । शरीरको स्फुर्ती यौवनको रुमानी वेग बोकिरहे जस्तो । कहिले सुटमा टक्क सजिएर, कहिले पेन्टसर्ट मात्र बेरिएर, कहिले ढलक्क ढल्किएको ढाका टोपीमा ढल्कदैँ कहिले कता कहिले कता हिँडेको देख्छु । सधैँ कतै न कतै गइरहने किन होला , केकालागि होला , के को लागि यति सकृय भैरहने होला ? मनले सोचिरहन्छ ।
“जीवन आकस्मिकतामा प्राप्त गरेको धन होइन । यो त नियन्ताको नियमनको नियमित फल हो । जुन फेरि आकस्मिकतामा हराउँछ ।”
केही गरेर बाँच्न चाहँनेहरूका लागि जीवन र मृत्यु दुबै कलात्मक हुन्छन् । सिक्न र केहीगर्न छाडे मानिस छिटो बुढो देखिने भएुर होला सकृय रहिरहन्छन् उनी । त्यसैले होला कलात्मक देखिने । परलोक पनि उनको कलात्मकै होला । केही न केही गरिरहने त्यो शरीर सकृय छ, बोली लयात्मक छ । लयात्मकताले जीवनमा सुन्दरता थप्छ । त्यसैले उनको जीवन सुन्दर देखिन्छ, कलात्मक देखिन्छ । कलात्मकताले “आँट्यो कि ग¥यो” गर्ने स्वभाव बनाएको होला ।
यिनै उनका गुण मलाई सुन्दर र विशिष्ट लाग्यो । त्यसै भनेका हैनन् पुर्खाले,‘रात रह्यो अग्राख पलायो ।’ रातमा अँध्यारो हुन्छ । अँध्यारो रहस्यमय हुन्छ । रहस्यले जे पनि गराउन सक्छ । त्यसैले आँटेको गरिहाल । कुनै काम भोलि गर्न आँटेका छौ भने आजै गर । आज गर्न आँटेका छौ भने अहिल्यै गर । नत्र क्या हो क्या हो । त्यसैले उनी आँटेको गरिहाल्छन् । सोचेको लेखिहाल्छन् । बोलेको पूरा गरिहाल्छन् । त्यही स्वभावले उनलाई सकृय बनाएको छ । तन्देरी बनाएको छ । रसिलो बनाएको छ । फरासिलो बनाएको छ । जिज्ञासु बनाएको छ । बाँच्ने कला सिकाएको छ । यही हो बाँच्ने कला । यही बाँच्ने कलाका प्रतिमुर्ति हुन् डा. इन्दुल के सी ।
मैले वहाँलाई पहिलो पटक भेटेको पाँच वर्ष अगाडि हो । शव्दयात्रा प्रकाशनको परिसरमा । त्यहाँ धार्मिक कार्यक्रम आयोजना गरिएको थियो । त्यो कार्यक्रममा एकजना भारतीय मित्रले श्रीमद्भागवत् गीतामा प्रकाश पारेका थिए । त्यो कार्यक्रममा पनि वहाँलाई बहुतै सकृय देखेँ । एउटा हर्ताकर्ता जस्तो नै देखेँ । मलाई त्यतिखेर पनि लागेको थियो, आफूलाई यति सकृय पारिराख्ने व्यक्तिको स्वभाव कस्तो होला ? यही जिज्ञासाले यति छिटो सामीप्यता पायो । आज हामी एक अर्कासँग अत्यन्त नजिक छौ । चिरपरिचित जस्तै छौ । अझ मलाई लाग्छ वहाँबाट मैले संरक्षकत्वको भाव ग्रहण गरिरहेको छु ।
हामी बिच हुर्केको परिचयले आत्मीयता बढाउँदै लग्यो । त्यही आत्मीयताले होला वहाँ मलाई सागर जस्तै लाग्नु हुन्छ । वहाँलाई एकछेउबाट उभिएर हेर्छु वहाँको अर्कोछेउ देख्न सक्तिन । आँखा तानितानि हेर्छु तर पनि देखिदैँन अर्को छेउ। एक छेउबाट अर्को छेउ नदेखिनु सागरको रहस्य होला । तर स्वभावमा सागर देख्तिन । चालमा खरायो सापेक्ष हतार देख्छु । वृद्ध शरीरको माया भन्दा केही सिर्जना गर्ने, केही रचना गर्ने कुराको चिन्ता छ होला । उमेर हार बोलेछ ,कछुवा चाल बनाउन सकेनछ । कस्तै परे पनि वहाँमा रिस देखिन । सायद सकारात्मक सोचमा सकियो होला । त्यो सकारात्मक सोचमा विज्ञता मौलाएको देख्छु । धेरै विषयको विज्ञता । साँच्चै वहाँ धेरै विषयको विज्ञ पनि हुनुहुन्छ । आफ्ना साथमा कोही परिचित या कोही आफन्त हुन या नहुन् वहालेँ कसैको साथ खोजेको देखिन । बरु आफ्नो काम सकभर आफैँ गरौँ भन्ने तुजुक पो देख्छु । आफैसँग भुलेर बस्नसक्ने क्षमता देख्छु । त्यसैले वहाँ मलाई रमन्ता जस्तै लाग्नुहुन्छ ।
मैले देखेको बोल्नु पर्दा वहाँ जता गएपनि रमाएउने ठाउँ भक्तपुर नै होला । त्यसैले भक्तपुर बाहिर वहाँ धेरै बस्न सक्नुहुन्न । त्यो वहाँको जन्मस्थान पनि हो । बि स १९९८ साल मंसिर २७ गते भक्तपुरमा जन्मनु भएको वहाँका बालापनका साथिहरू अझै पनि केही त्यहीं छन् । बालापनमा आँखा चिम्लेर कुद्दा त्यहाँका सडक र गल्लीका एक एक इन्च वहाँका पैतालाले नापेको छ । त्यसैले वहाँ त्यहाँ विन्दास धुम्नुहुन्छ ।
टोलका हरेक गतिविधिमा सरिक र सकृयरहने इन्दुलजीको त्यहाँका मठमन्दिरका प्रत्येक भगवान्मा भक्ति छ । संस्कृति संस्कार प्यारो छ । कहिलेकाहीँ पशुपतिमा पनि देखिनु हुन्छ, सत्यम् शिवम् सुन्दरम् मा रमाउन होला । भक्तपुरका भजन मण्डलीसँग पलेटीँ कसेर भक्ति सङ्गीतमा विभोर भएर भजन गाउनुहुन्छ । भक्ति भावमा डुब्ने, बोल्ने,नाच्ने अनि झुल्ने वहाँको बानीले भक्तयोगी बनाएको छ । वहाँ सच्चा र पक्का धार्मिक देखिनुहुन्छ ।
वहाँले पुरैदेश घुम्नु भएको छ भने १५ भन्दा बढी देशको फन्को मारिसक्नु भएको छ । देश र विदेशबाट उच्चशिक्षा अध्ययन गर्नु भएका वहाँले थुप्रै थुप्रै कृतिहरूको रचना गरिसक्न भएको छ । कतिका कृतिहरूमा समीक्षा भर्नुभएको छन् । उहाँका कति कविता छन्,कति भजनमाला छन् । कति ज्ञानमाला छन् । लाग्छ वहाँभित्र ज्ञानैज्ञान मालाछ । खोजेमा हामी उनी भित्रको ज्ञान ताप्न सक्छौ, ज्ञानमाला जप्न सक्छौँ ।
एकोहोरो ३० वर्ष सरकारी सेवामा बिताउनु भएका उहाँ अहिले २० भन्दा बढी संघ स्थाहरूमा आबद्ध हुनुहुन्छ । कानुनी सेवा , प्रकृतिक चिकित्सा सेवा, योग सेवामा सेवारत रहने वहाँका विशेषता हुन् । यस्ता इन्दुल के सी ज्युको बारेमा अरुले पनि धेरै लेखेका छन्, समीक्षा समालोचना गरेका छन् । हाँस्नुको सट्टा रिसाउन नजान्ने वहाँ विनयशील हुनुहुन्छ । विनयले सन्मान बढाउँछ । त्यसैले उहाँ सबैका सन्मानित व्यक्तित्व हुनुहुन्छ । यस्ता वहुआयामिक व्यक्तित्व इन्दुल के सीज्युलाई हामी एउटा आयामबाट मात्र आँक्न सक्तैनौ । एउटा नजरले बुझ्न सक्तैनौ त्यसैले प्रा डा कुष्णप्रसाद दाहाल भन्नुहुन्छ,‘डा इन्दुल के सीलाई एउटा मात्र आयामबाट पर्गेल्न सकिदैन ।’
उनको रिस छैन त्यसैले दृष्टि निस्तेज पनि छैन । ज्ञानको गरुत्व गम्भीर छ । कुनै किताब हात पर्ने वित्तिकै पढिहाल्नु पर्छ । पढेपछि कलम लिएर त्यसको गुदी समाएर लेख्न बसिहाल्नु पर्छ । कोरिएका कवितामा , किताबमा लेखमा आफ्नै मौलिकता छरिएका हुन्छन् । दुःखी पीडित सबमा अपूर्व सान्त्वना छर्दै हिँड्ने वहाँ दुईचार दिन भक्तपुरमा नभए भक्तपुरका घरघरले वहाँको खैखबरमा सम्वाद गरिरहेका हुन्छन् । किन नगरुन पनि तिनै धरधरमा उनका धेरै समय पहिलेदेखि चलिआएका गहिरा गहिरा स्वास अनि निःस्वासका लिपिहरू लिपिएका छन् । शब्द टाँसिएका छन् । माया मौलाएको छ ।
सादगी जीवनलाई आफ्नो पहिचान बनाउनु भएका इन्दुल के सीजी चन्द्रमाका शीतल किरण झै शीतलता छर्न सधेँ तत्पर हुनुहुन्छ । साहित्यप्रति पनि अति जागरुक लाग्छ । स्वयं मात्र हैन जागरुक अरुलाई पनि उत्तिकै जागरुक बन्न प्रेरणा वर्षाँइरहनु हुन्छ । सबैलाई आफूजस्तै बन्न प्रेरणा बर्साउने इन्दुल के सीको पछिल्लो कृति हो “शब्दसागरका मोती ।” यो समीक्षात्मक सङ्ग्रह हो । यसमा विभिन्न विधाका प्रत्येक मोतीहरूको मिहिन ढंगले समिक्षात्मक टिप्पणी गरिएको छ । यस सङग्रहका प्रत्येक लेखलाई मोतीको संज्ञा दिनुभएको छ । भने ती मोती भित्र आफू ठुलो मोती बनेको हेक्का नै छैन वहाँलाई ।
यो कृतिको आवरण पृष्ठमा मोतिको मालाको चित्र छ । मोती मोतीका दाना उनिएको मालाको ठीक बिचमा मालाका अन्यमोतिहरू भन्दा ठूलो मोती दाना राखिएको छ । त्यो ठूलो दाना मोती अरुकोही नभएर स्वयं इन्दुल केसी हुनुहुन्छ भन्ने मेरो ठहर छ । किनकि वहाँ मोतीहरूका पनि मोति हुनुहुन्छ । पछाडिको पुष्ठमा भने स्वयं लेखकको भक्ति भेष प्रदर्शन गरिएको छ । भक्तिरागका अलापहरु भेषमा परावर्तित भइरहेका छन् । यो कृति अनुशीलन नेपालद्वारा प्रकाशित पाँचौ पुष्प कृति हो ।
यो शब्दसागरका मोतीमा पहिलोमा पर्न सफल भएको छ ओतबहादुर खड्काद्वारा लिखित “वेद के भन्छ ” भन्ने पुस्तक । वेद अत्यन्तै गहन विषय पनि हो । यसमा लेखकले आफ्नै प्रकारले अति सङ्क्षेपमा वर्णन गर्नु भएको छ । वेदक भित्रका इश्वरका स्तुती गरिएका मुख्य मन्त्रहरू समेत उल्लेख गरिएकाछन् ।
दोस्त्रो मोती हो इशावास्योपनिषद । यस पुस्तकमा हामी अद्वैत उपदेश पाउँछौ । आत्मविधाका तत्वहरूको विषयमा उपदेश पनि पाउँछौ ।
डा.इन्दुल के सीले मोतीका रुपमा छान्नुभएको अर्को पुस्तक हो पशुपत–योग । यसलाई महात्मा सुशीलजीले प्रस्तुत गर्नुभएको छ । भगवान् शिवको योगलाई पशुपत योग पनि भनिन्छ । यसमा योग वर्णन गरिएका एघार खण्ड छन् । ती खण्डहरूमा मन्त्र साधनाको बैज्ञानिक सन्दर्भता समेत उल्लेख गरिएको छ ।
डा इन्दुल के सीजीले छानेको अर्को मोती हो साधना–सूत्र । यो पुस्तक अत्यन्तै उपयोगी मानिएकोछ । यसलाई योगाचार्य उद्धभ भट्टराइजीले सङ्कलन गर्नु भएको हो । यो हृदयस्पर्शी , महानतम अनुभूति दिने, विशिष्ट साधना युक्त अत्माज्ञानपरक,ज्ञानवर्धक छ ।
अर्को मोतीको रुपमा प्रस्तुत गरिएको, आँफैलाई चिनाउने पुस्तक हो जीवन–दर्शन । दर्शन अत्यन्तै गहन विषय हो । यसका लेखक टीकाराम अर्याल हुन् । यसमा दर्शनलाई आत्मासात् गरि ब्रह्मात्म बोधगरी जीवन मुक्तहुनु भनेको नै जीवन दर्शन हो भनेर व्यख्या गरिएको छ ।
मोतीमा पर्न सफल अर्को कृति हो संस्कृति विद् सत्यमोहन जोशीको नाटक ‘महर्षि याज्ञवल्क्य ।’ यस नाटकमा नेपालको मिथिला क्षेत्रको आध्यात्म दर्शन र सामाजिक अवस्थामा त्यहाँका नारीहरूको अवस्थाको मार्मीक वर्णन छ ।
अर्को मोती हो लेखक एस पी आशाको‘ ध्यानको ज्ञान र साधना’ नामक पुस्तक । यस पुस्तकमा रहेको ध्यानका अनेक प्रकार लाई लक्षित वर्णन गरिएएको छ । यसमा योग, ध्यान, विपश्यना, अष्टाङ्गयोगको वारेमा वर्णन गरिएको छ ।
इन्दुलजीले मोतीको रूपमा छान्नुभएको अर्को पुस्तक हो ‘बौद्ध दर्शन ।’ त्यसलाई वहाँले सङ्क्षिप्त दृष्टि दिन प्रयत्न गर्नुभएको छ । यसमा बौद्ध दर्शनका मूल सिद्धान्त, गौतम बुद्ध, नागसेन, बौद्ध सम्प्रदाय र बौद्ध दर्शनको बिकासवारे सङक्षिप्त चर्चा गरिएको छ ।
इन्दुल के सीको अर्को मोती हो, केशवराज राजभण्डारीद्वारा रचित भजन–गङ्गा । केशव–सुष्मा भजन गुठीले प्रकाशन गरेको यो भजन मालामा २५वटा भजनहरूको संगालो छ । भजनले हाम्रो चेतन मनमा पार्ने असर र त्यसको महिमालाई पनि दर्शाइएको छ ।
यसैगरी अर्को मोतीको रुपमा प्रस्तुत कृति हो जीवनाथ अधिकारीजीले लेख्नुभएको ‘प्रचिन विश्वइतिहासको सङ्क्षिप्त चर्चा ।’ यसमा पृथ्वीको उत्पत्तिदेखि हालसम्म आउँदा मानव सभ्यतामा देखिएको बिकासको क्रमवारे सङक्षिप्त चर्चा गरिएको छ ।
यसैगरी अर्को मोतीमा पर्न सफल पुस्तक हो, ‘उत्तरी ध्रुबको यात्रा साथै लेखन्तेको जीवन–यात्र ।’ यसका लेखक हुनुहुन्छ योगाचार्य बासुदेव ढकाल । यो लेखकको जीवन यात्रा हो । उत्तरी ध्रुवमा आजसम्म कुनै नेपालीले पाइला टेक्न सकेको थिएन । त्यो स्थानमा पाइला राख्न सफल एउटा नेपाली अनि लेखकको यात्रा वर्णन समेटिएको छ ।
यसैगरी अर्को मोतीमा पर्न सफल पुस्तक हो लेखक पशुपतिमान पुःम(प्रधान)को कथा सङग्रह ‘मुटुको चिरफार । ’ यो कथा सङ्ग्रह नेपाल भाषा, नेपाली भाषा र अङ्ग्रेजी भाषामा एउटै पुस्तकका रुपमा प्रकाशित छ ।
यसैगरी अर्को मोतीको रुपमा चुनिन सफल पुस्तक हो आख्यानकार परशु प्रधानको ‘धनिया’ । यो ४४ वटा कथाहरूको सङग्रह हो । यसमा ४४ कथाहरु भए पनि त्यो भित्रको एउटा कथा धनियको नाममा पुस्तकको नाम राखिएको छ । धनियामा चेलीबेटी बेचबिखनको दारुण चित्र प्रस्तुत गरिएके छ । सायद यसको प्रमुख कारण गरिवी नै होला ।
मोतीको मालामा उनिन सफल अर्को पुस्तक हो मतिनाया सः (प्रेमको आवाज) हो । यसका लेखक हुनुहुन्छ प्रेमकृष्ण ताम्रकार जी । यो नेपाल भाषामा लेखिएको छ ।
यसैगरी मोती बन्न सफल अर्को कृति हो ‘कालो पहाड’ । यसका लेखक हुन प्रजापति तिमिल्सिना । यसमा एउटा सीमान्तीकृत परिवारको बच्चा जसका कोही हुँदैनन् । उसँग विवाह बन्धनमा बाँधिएर आफ्नै बनेकी श्रीमतीले पनि सम्वन्धको सीमानै नाधेर गएको मर्मस्पर्शी कहानी छ ।
अर्को मोती बन्न सफल कृति हो चुडाप्रसाद चौँलागाई को ‘ विषय र विवेचना ।’ यो लेख सङ्ग्रह हो । यसमा साहित्य, संस्कृति, धर्म र दर्शन अनि आध्यामिकताका विषयमा चर्चा गरिएको छ ।
यसैगरी मोती बन्न सफल अर्को कृति हो ‘आफू अरुका लागि ।’ यसकी लेखिका हुन निर्मला श्रेष्ठ । आफ्नो जीवन स्वयंको लागि मात्र नभएर अरुकोलागि पनि उपयोग हुनुपर्छ भन्ने सचेत एवं परोपकारी व्यक्तिहरूको लागि यो पुस्तक अति उपयोगी बन्न सक्छ ।
यसैगरी अर्को मोती बन्न सफल कृति हो साधुराम गिरीको ‘मान्छे, प्रकृति र भेगन’ । दुग्धजन्य बस्तु समेत रहित अथवा विशुद्ध प्राकृतिक आहारा खाना, केवल वोट वनस्पतिमा मात्र आधारित छ । यस्तो प्रकारको खानाले हाम्रो शरीरमा पर्ने सकारात्मक असर त्यसको फइदाबारे यसमा चर्चा छ ।
यसैगरी मोती बन्न सफल अर्को कृति हो, प्रकाश उपाध्यायको ‘ छेउ न ट्प्पो ।’ यो निबन्ध सङ्ग्रह हो । यसभित्र विभिन्न विषयमा विभिन्न बान्कीमा १७ वटा निबन्धहरू छन् ।
अर्को मोती बन्न सफल कृति हो,‘मेरी परी’ । यो मुक्तक सङ्ग्रह हो । यसका लेखक हुनुहुन्छ विष्णु ओली । यसमा समाविष्ट गरिएका मुक्तकहरूमा पीडा लुकेको छ । देशभक्तिको भाव छ । प्रेम भाव छ । माया मौलाएको छ । रोएको हाँसेको सबै भाव छ । कुन भाव मात्र छैन होला र यसमा ।
यसैगरी मोती बन्न सफल अर्को कृति हो आँसुको दह । यसका लेखक हुनुहुन्छ पदम् दाहाल । यो कविता सङ्ग्रह हो । यसभित्र ५३ कविताहरू सङग्रहीत छन् । तिनलाई निचोर्दा झर्ने आँसुका दाना गन्न सकिदैन । आँसुको अचल अवस्था हो दह ।
यसरी मोती बन्न सफल अर्को कृति हो ‘सङ्गीत मन्थनाञ्जली’ । यसका लेखक द्वय हुनुहुन्छ सरोजनी तण्डुकार र राम आचार्य । यसमा नेपाली सङ्गीत पद्धतिको मौलिक धारमा २४ श्रुतिश्वर, स्थापना, ३२थाट–राग मुच्र्छना, पाँचथरी जाति, पाश्चात्य स्वर, लिपि, पद्धतिबारे व्याख्या र वर्णन छ ।
डा इन्दुल के सीले यी कृतिहरूको अध्ययनबाट प्राप्त ज्ञान, अनि आफ्नो ब्रह्म र मर्मले मन्थन गरिरहदा सागरका शब्दमा रमाएको निजात्माक धारणामा छानिएका मोतीहरू हुन् । तर यी मोतीहरू जल सागरका हैनन् । शव्दसागरका हुन । यिनै शब्दसागरका मोतीमा पर्न सफल सबै कृतिका कीर्तिकारलाई हार्दिक बधाई । यति धेरै कृतिहरू केलाएर हामीलाई मोतीको माला दिनुभएको छ । त्यसको लागि पनि डा. इन्दुल केसी लाई हार्दिक हार्दिक धन्यवाद । मलाई यो समीक्षात्मक सङ्ग्रह अध्ययन गर्दा लाग्यो वहाँ नै मूर्धन्य मोती हुनुहुन्छ । माला मध्येको ठूलो मोती । मोती भित्रको उत्तम मोती वहाँ स्वय । अर्थात् मालाको बिचमा रहेको ठुलो विशेष मोतिहुनुहुन्छ । जसलाई हेर्दै अरुमोतीहरू रमाईरहेका हुन्छन् । हो इन्दुल केसी मोती भित्रका मोती ।