नगाइएका गीतहरु सार्वजनिक


चैत १९, २०७९, आइतबार | विहान ०६:०८ बजे | 25


नगाइएका गीतहरु सार्वजनिक

गीतकार लक्ष्मणकृष्ण ताम्राकारद्धारा रचित गीतिसङ्ग्रह नगाइएका गीतहरुको एक समारोहका बीच सार्वजनिक गरियो । 
ललितपुरको हेरिटेज गार्डेनमा आयोजित समारोहमा प्रमुख अतिथि हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सो कृति सार्वजनिक गर्दै मनका भावनाहरु व्यक्त हुनेभएकाले गीतले सबैलाई मोहनी पार्छ भन्नुभयो । साथै उहाँले धेरै वर्षपछि भेट भएका मित्रको पुस्तक निक्लेकोमा खुसी व्यक्त गर्दै त्यसबाट एउटा गीत आफूले गाउने वाचा पनि गर्नुभयो । 
कृतिको समीक्षात्मक टिप्पणी गर्दै साहित्यकार धु्रव मधिकर्मीले मायाप्रेमका भावना मात्र गीत होइन भन्दै अचेल गीतमा सबै पक्षको भावना अन्तर्निहित हुने बताउनुभयो । प्रस्तुत कृतिमा स्रष्टाले गीतमा विविध पक्षलाई हार्दिकताका साथ अभिव्यक्त गरेका छन् भन्दै उहाँले यसबाट पाठकहरुले मनग्य सन्तुष्टि पाउनेछन् भन्नुभयो । 
गीतकार ताम्राकारले आफ्नो अनुभूति र भावनालाई सकेसम्म हार्दिक र लयालु होस् भनेर प्रयास गरेको बताउनुभयो । 
सभापतिको आसनबाट गीतकार चुडामणि देवकोटाले यस कृतिमा विविध र भावयुक्त गीतहरु भएकाले गायकगायिकाहरुले मनपराउने छन् भन्नुभयो ।
सिर्जना अभियान समाजको आयोजनामा भएको सो कार्यक्रममा गायक जुजुकाजी रञ्जित, सरोजिनी तण्डुकार, संगीता श्रेष्ठ ताम्राकार र प्रतिसरा साय्मि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । 
सिर्जना अभियान समाज प्रकाशक रहेको सो कृतिमा मायाप्रेम, देशभक्ति, बाँच्नका लागि सकारात्मक सोच र उज्यालो आशा प्रतिविम्बित भएका ८८ वटा गीतहरु छन् ।  

Comments