‘विगतमाथि आलेख’ विमोचित
फाल्गुन २५, २०७९, बिहीबार | विहान ११:३१ बजे | 25
भक्तपुर सूर्यविनायक न.पा., बालकोटस्थित मेरिगोल्ड विद्यालयको सभाहलमा आयोजित एक समारोहमा पूर्व न्यायधिश श्री मोहनमणि दाहालज्यूद्वारा लिखित ‘विगतमाथि आलेख’ नामक पुस्तक र श्री केदारनाथ तिमिल्सिनाज्यूले लेख्नुभएको ‘गोत्र र प्रबरको आलोक’ नामक पुस्तक सार्वजनिक गरियो । उक्त दिन श्री मोहनमणि दाहालज्यूको ८६ औं जन्मोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुद्वारा उहाँलाई शुभकामनाहरु प्रदान गरियो ।
पूर्व प्रशासक एवं लेखक श्री चन्द्रबहादुर खड्काज्यूको सभापतित्वमा भएको सो कार्यक्रममा साहित्यकार एवं लेखक श्री पदम दाहालज्यू तथा पूर्व प्रशासक श्री जयनारायणज्यू दुवैले उक्त दुवै पुस्तकहरुको बारे विस्तृत रुपमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो ।
शब्दयात्रा प्रकाशन बनेपाबाट आयोजित यस कार्यक्रमको प्रमुख अतिथि श्री भरत जंगम, लेखक हरि मञ्जुश्रीज्यूले उक्त किताबहरुको उपादेयताबारे आ–आफ्नो सार्गर्वित विचारहरु प्रस्तुत गर्नुभएको थियो । सो कार्यक्रममा भक्तपुर, काठमाडौं, काभ्रे जिल्लाका विशिष्ट साहित्यिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा साहित्यकार डा. इन्दुल केसी र उक्त लेखक द्वय समेतले आ–आफ्नो किताबहरु एक आपसमा उपहार स्वरुप आदान प्रदान गर्नुभएको थियो । अन्तमा यस सभाका विशिष्ट अतिथि डा. बालचन्द्र मिश्रज्यूले आजको कार्यक्रमको विविध पक्षमा समीक्षात्मक टिप्पणी गर्नुको साथै कार्यक्रम समाप्त भएको जानकारी दिनुभयो ।