शब्द चित्रमा कवि जीवनाथ अधिकारी
माघ ११, २०७९, बुधबार | विहान ०८:२१ बजे | 40
डा इन्दुल केसी
कवि जीवनाथ अधिकारीको कविता
म झुल्केका बेला रवि पनि सँगै झुल्किन गए
झरी–वर्षा–पानी गगन कुहिरो टम्म भरिए ।
बिहानीको हावा प्रथम रवमा नेत्र भरिला
थियो नौलो यात्रा रजतमय भै मार्ग भरिला ।।१।।
म फुल्दा मुस्कन्थे कुसुम–कलिका दिव्य सुषमा
सबै हाँगा हाँगा पवनपथका भित्र वशमा ।
रुने– हाँस्ने खेल्ने शिथिल मनले क्लान्त गतिमा
म झस्कन्थेँ हेर्थें मृदु वय खुलेको प्रगतिमा ।।२।।
धुलेमाटो प्यारो वन–चहुर–खोल्सा प्रिय सखी
चढी खेल्थ्यौँ नाना रुख र लतिका स्निग्ध लहरी ।
कुनै घोडा – हात्ती, कुकुर अथवा बानर भए
कि टालाफाल्सामा रङविरङका शिल्प सजिए ।।३।।
भयो जाने बेला गुरु र गुरुका ज्ञान सरिता
झरे स्वर्गङ्गाका चमक–कणिका दृश्य भविता ।
फुरे साना दाना कविहृदयका पुष्प–कविता
उदाएझैँ नौलो किरण रङको सौम्य सविता ।।४।।
बगेका छन् उल्टो समय–गतिका क्रूर सपना
जपेका छन् मान्छे वय र जन तारुण्य रटना ।
म देखी त्यो चाला हल न चलजस्तो पनि भएँ
लडेको खाँबो विकल–मनभित्रै म थलिएँ ।।५।।
उचालेका खुट्टा गगनबिच ती शक्ति बलमा
कुनै दैवी छाया मदसहितले भक्ति बलमा ।
गिरेका मान्छेको बदन कति हेरौं टुलुटुल
म लज्जाले ढाकेँ बदन, कति गर्छौं ढुलुमुलु ।।६।।
कुनै लुच्चा झुम्रा मुलुक–जनको नाम पगरी
गुथी चुस्छन् तातो रगत मुटुको पुण्य नगरी ।
म त्यस्ताको छाया पनि नजिकमा पर्न नदिऊँ
लडूँ अन्यायीको कपटसित, माटोसँग जिऊँ ।।७।।
म प्रज्ञाको ज्वाला सलिल मनमा दिव्य पुतली
उडाऊँ हावामा हृदयसँग मस्तिष्क सुतली ।
नयाँ नौलो खोजी अगणित कथा विश्व म भरूँ
म सिङ्गै धर्तीमा मुजुर रङको सौरभ छरूं ।।८।।
फुटाऊँ पानीका लहरजसरी ज्ञान–गुटिका
बनाऊँ विज्ञानी विविध पनका सान जुटिका ।
कुना–काप्चा–पाखा– डहर सबका साँध म कसूँ
म मेरै सीमामा सबल प्रहरी भैकन बसूँ ।।९।।
चुमेका छन् कैयौँ शिखर पदले हिम्मत हुँदा
गुमेका छन् आस्था सुकृत फलमा धैर्य नहुँदा ।
सधैँ चढ्दै बढ्दै सुपरिचित सालोक्य नगरी
बनाऊँ धर्तीमा, श्रम र सिपका स्वर्ण पगरी ।।१०।।
८८८
परिचय
शब्दचित्रमा हामी संयुक्त कविता सङ्ग्रह पुस्तकको सम्पादक मण्डलका सदस्य श्री जीवनाथ अधिकारी एक लोकप्रिय साहित्यकार हुनुहुन्छ । शब्दयात्रा सम्पर्क केन्द्र, भक्तपुरले २०७८ सालमा प्रकाशित उक्त पुस्तकमा विभिनन ३७ जना कवि कवियित्रीहरूको कवितामा उहाँको ‘शब्दचित्रमा म’ शीर्षकको एउटा कविता पनि समावेश भएको छ । परिचयको सन्दर्भमा उहाँको विस्तृत कवि परिचय र कविता यस लेखको प्रमुख विषय भएकोले पाठकवर्गलाई जानकारीका लागि यस लेखको प्रमुख अङ्गको रुपमा यहाँ उद्धृत गरेको छु ।
समीक्षा
प्रा.डा. कृष्णप्रसाद दाहाल, त्रि.बी., पाटन संयुक्त क्याम्पस, ललितपुर
वि.सं. २०१७ साल साउन २२ गते भोजपुरको दिल्पामा जन्मेका जीवनाथ अधिकारी वार्णिक छन्दमा कलम चलाउने उम्दा कवि हुन् । शिखरिणी छन्दमा लेखिएको ‘शब्दचित्रमा म’भित्र स्वीकृतिभावको आयोजना गर्दै उनी भन्छन्–
नयाँ नौलो खोजी अगणित कथा विश्व म भरूँ
म सिङ्गै धर्तीमा मुजुर रङको सौरभ छरूँ (पृ ६१) ।
टीका श्रेष्ठ, भक्तपुर बहुमुखी क्याम्पस
जीवनाथ अधिकारीको कवितामा उषाकालको रविसँगै जन्मभूमिको पवित्र प्रकृतिमा भुल्केर हाँस्दै खेल्दै रमाएका पलको मृदल स्मृतिगानबाट विषयवस्तुको उठान भएको छ । कविताको प्रारम्भमा कविसँगै रवि झुल्किन गएको, झरी लागेको, वर्षा याममा कुहिरोले आकाश डम्म छेकेको, बिहानीको हावासँगै आँखा खोल्दै जीवनयात्रा प्रारम्भ भएको सुनौला दिनको सजीव स्मरण गर्दै जन्मभूमिको प्रकृतिको वर्णनसँगै कविको प्रकृतिसँगको सामीप्य प्रस्तुत भएको छ । कवि फुल्दा मुस्कुराउने प्राकृतिक परिवेशका सुन्दर पुष्पहरू तथा हाँगा हाँगामा वहने स्वच्छ हावासँगै रुँदै हाँस्दै र खेल्दै आफू हुर्कंदै र बढ्दै गर्दा आफ्नै खुलेको वय हेरी झस्किने गरेको सुन्दर अनुभूति प्रस्तुत गरिएको छ । यसै क्रममा धुलेमाटो, वन, चउर, खोल्सालाई प्रिय साथी बनाउँदै सुन्दर रुख र लहराहरूमा चढ्दै खेलेको, हात्ती, घोडा, कुकुर, बानर आदिको अभिनय गर्दै रमाएको सुन्दर बाल्यजीवनको चित्र उतारिएको छ ।
गुरुको सामीप्यले प्राप्त ज्ञानगङ्गाले भविष्यद्रष्टा बन्न सक्षम बनाएको, कवि हृदयमा नौलो किरण उदाएजसरी कविता पुष्प फक्रिएको कुराको बिम्बात्मक प्रस्तुति कवितामा रहेको छ । जीवन भोगाइका क्रममा मान्छेमा देखिएको खराब प्रवृत्ति तथा विकृति विसङ्गतिले कवि हृदयमा असह्य वेदना हुनुका साथै विकृत चरित्रका मान्छे देख्ता लाजको अनुभूति हुने कुरा प्रकटित भएको छ । स्वार्थी, लुच्चा, जिम्मेवार पदमा बसी राष्ट्रघात गर्ने दुष्ट तथा कपटी चरित्रका व्यक्तिहरूको छायासम्म पनि आफूमा नपरोस् भनी सचेततापूर्वक जन्मभूमिको माटासँग मितेरी गाँस्तै जिउने सङ्कल्प कवितामार्फत गरिएको छ । त्यसै गरी ज्ञान, विवेक तथा चेतनाको पवित्र गङ्गा बगाउँदै, हृदय र मस्तिष्कलाई नयाँ खोजमा लगाई सत्कर्मका प्रेरक कथाले विश्व भर्ने तथा सम्पूर्ण धर्तीमा मयूर रङ्गको सौरभ छरी सिँगार्ने अभिलाषा प्रकट भएको छ । यसको साक्ष्य निम्नानुसार म प्रज्ञाको ज्वाला सलिल मनमा दिव्य पुतली उडाऊँ हावामा हृदयसँग मस्तिष्क सुतली
नयाँ नौलो खोजी अगणित कथा विश्व म भरूँ
म सिङ्गै धर्तीमा मुजुर रङको सौरभ छरूँ ।।८।। (पृ. ६१)
साहित्य, सिर्जना तथा असल कर्महरूद्वारा पानीका लहरजसरी ज्ञानामृत फुटाउने दृढ इच्छा व्यक्त गर्दै ज्ञान विज्ञानका लहर फैलाउँदै राष्ट्रको सीमा सुरक्षित गर्ने सबल प्रहरीको रूपमा खडा हुन सकूँ भन्ने भावको प्रकटीकरणद्वारा कवितामा कविहृदयको राष्ट्रप्रेम छचल्किएको छ । आँट, साहसद्वारा नै सफलता प्राप्त गर्न सकिने र धैर्य गर्न नसक्दा आस्था गुमाउनुपर्ने हुँदा सम्भावनाको खोजी गर्दै धैर्य तथा साहसपूर्वक श्रम र सिपका माध्यमबाट धर्तीलाई स्वर्ग पगरीले सुशोभित पार्ने विचार प्रकट भएको कविता गहन छ । शिखरिणी छन्दमा सुकोमल शब्दहरूको संयोजन गरी आफ्ना जीवनानुभूति प्रस्तुत गरिएको यस कविताले पाठक तथा भावकलाई सार्थक तथा आदर्श जीवनयापनका लागि मार्गनिर्देश गर्छ । विभिन्न बिम्ब, प्रतीक र अलङ्कारको प्रयोगले कविता उत्कृष्ट बनेको छ ।
डा. सीता सुवेदी पन्थी, आदर्श मा.वि, मध्यपुर थिमी
जीवनाथ अधिकारी ः आमा नर्वदा र बुबा नन्दलाल अधिकारीका सन्तानका रूपमा विसं २०१७ साल साउन २२ गते अन्नपूर्ण, दिल्पा, भोजपुरमा कवि जीवनाथ अधिकारीको जन्म भएको हो । हाल बालकोट, भक्तपुरमा बसोबास भएका अधिकारीको औपचारिक शिक्षा स्नातकोत्तर हो। उनका पाँचओटा प्रकाशित र अन्य केही प्रकाशोन्मुख कृति रहेका छन् । विभिन्न सम्मान र पदक प्राप्त गरेका अधिकारी थुप्रै सङ्घसंस्थामा आवद्ध हुनुका साथै अनुशीलन नेपालका संस्थापक अध्यक्ष हुन् ।
शिखरिणी छन्दमा संरचित ’शब्दचित्रमा म’ कवितामा कवि अधिकारीले आफू जन्मिएको समयलाई सटिक र सुन्दर शब्दले सम्बोधन गरेका छन् । विद्यालय जाँदाको चर्चा उनका कवितामा आएको छ । क्रमशः समाज, समाजका मान्छे र जीवन बुझ्दै जाँदा दिक्दार भएको कुरा अधिकारीको कवितामा व्यक्त भएको छ भने श्रम र सिपले धर्ती स्वर्ग बनाऔं भन्ने भाव कवितामा पाइन्छ ।
अन्तमा
विभिन्न संघ संस्थाहरू आवद्ध रहनुभएका लेखक श्री जीवनाथ अधिकारीको हालसम्म ५ वटा पुस्तकहरू प्रकाशित भइसकेका छन् । यसरी नै उहाँले विभिन्न पदकहरू तथा सम्मानहरू पनि प्राप्त गरिसक्नु भएका अधिकारीज्यूको उक्त कविता र उहाँको कवि व्यक्तित्व तथा कृतित्व बारे यो चर्चा परिचर्चा लेख नेपाली साहित्यका पाठकवर्गको लागि रुचिकर हुनेछ भन्ने मलाई लागेको छ ।
कविको परिचय
नाम ः जीवनाथ अधिकारी
जन्ममिति ः २०१७ साउन २२
पिता ः नन्दलाल अधिकारी
माता ः नर्वदा भट्टराई अधिकारी
जन्मस्थान ः टेम्केमैयु गाउँपालिका ३, अन्नपूर्ण, दिल्पा, भोजपुर
हाल ः सूर्यविनायक नगरपालिका ३, बालकोट, सिर्जना कुञ्ज, भक्तपुर
शिक्षा ः स्नातकोत्तर (नेपाली), बिएड
प्रकाशित कृति ः
जूनभित्रको आगो (छन्दकवितासङ्ग्रह), २०५९
प्राचीन विश्व इतिहासको सङ्क्षिप्त चर्चा, २०६१
श्रश्र भोजपुर दिल्पाली अधिकारीको वंशावली (सङ्कलन तथा सम्पादन), २०७३
अविदित यात्रा (छन्दकवितासङ्ग्रह), २०७७
मास्कले थिचिएको जिन्दगी (छन्दकवितासङ्ग्रह), २०७७
प्रकाशोन्मुख ः नेपाली टुक्का सङ्ग्रह (अर्थ र प्रयोगसहित)
पदक तथा सम्मान ः
सम्मान पत्र, २०७८, आदर्श माध्यमिक विद्यालय, लाय्कु, ठिमी, भक्तपुर
सम्मान पत्र, २०७५, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, भक्तपुर
सम्मान पत्र, २०७४, मदरल्यान्ड इङ्लिस बोर्डिङ स्कुल, सूर्यविनायक ९, भक्तपुर
सम्मान पत्र, २०७३, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, भक्तपुर
दीर्घ सेवा पदक, २०७१, आदर्श माध्यमिक विद्यालय, लायक, ठिमी, भक्तपुर
राष्ट्रिय शिक्षा पदक, २०६४, शिक्षा तथा खेलकुद मन्त्रालय
प्रशंसापत्र, २०५९, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, केन्द्रीय समिति
कदरपत्र, २०५९, जिल्ला शिक्षा समिति, भक्तपुर
कदरपत्र, २०५७, जिल्ला शिक्षा समिति, भक्तपुर
आबद्धता ः
आजीवन सदस्य, मध्यपुर सञ्चार समाज, भक्तपुर
संयोजक, छन्द कविता मञ्च
संयोजक, दिल्पाली अधिकारी विकास समाज, काठमाडौं
इमेल ः वष्दबलबतजबमजष्पबचष्२नmबष्।िअयm
दूरभाषाः ९८५१२२०८३२