शब्द चित्रमा कवि पशुपतिमान प्रधान


माघ ९, २०७९, सोमबार | विहान ०५:२१ बजे | 25


शब्द चित्रमा कवि पशुपतिमान प्रधान

डा इन्दुल केसी

पशुपतिमान प्रधानको कविता
कति हन्डर खाएं, कति बल्ड्याङ खाएं
अत्तालिए, निस्सासिएर पछारिए
नियाली हेरेँ आफ्नो विगतलाई
आगतलाई पर्खी वर्तमान समालेँ ।
भिरबाट लडें
खहरेबाट बगैं
यस्तो अवस्थामा
थापे साथीहरूले काँध ।
गाली गरे, झापट पनि हाने 
गहभरि आँसु पारी अंगालो पनि हाले 
जे गरे जति गरे, मेरै लागि गरे 
धन्य, म यस अवस्थामा पुग्न सकें । 
आज जे जति कमाएँ
यिनै शुभचिन्तकहरू कमाएँ 
मैले जे जति जोहो गर्न सक्थेँ
यिनै सहृदयी मित्रहरू साँचेँ ।
सन्चै छु, आनन्दित छु
मित्रहरूको साथ सहयोग पाएकै छु
मेरा पथप्रदर्शक मित्रहरू
कहिले दिन्छन् गाली, कहिले दिन्छन् ताली ।
गालीबाट सच्चिन खोज्छु
तालीबाट हौसिन पुग्छु 
बन्धुबान्धवहरूकै माया पाई
धन्य आफूलाई ठान्छु ।
८८८
परिचय
चौरासी वसन्त पार गरिसक्नु भएका वरिष्ठ साहित्यकार श्री पशुपतिमान प्रधानज्यूले नेपाली भाषा र नेपाल भाषाका धेरै पुस्तकहरू लेखी पाठकमाझ प्रस्तुत गरिसक्नुभएको छ ।.उहाँको कविता, सन्दर्भ सामग्री, नाटक, पौराणिक श्रीस्वस्थानी व्रत कथा (नेपाल भाषा), असल मान्छे (नेपाली, नेपाल भाषा र अंग्रेजी भाषा एउटै किताबमा), नुग घाः (चोट), मलखं कःगु छेँ, नेवाः वाउ भतु, आदि पुस्तकहरु पाठकहरूमा बहुचर्चित छन् । 
कविको रुपमा
‘शब्द चित्रमा हामी’ संयुक्त कविता सङ्ग्रह, भक्तपुर सम्पर्क केन्द्रद्वारा २०७८ सालमा प्रकाशित पुस्तकमा विभिन्न ३७ जना कवि र कवियित्रीहरूमध्ये प्रधानजी उमेरको नाताले सबभन्दा जेष्ठ भएकोले सर्वप्रथम उहाँकै कवि परिचयको साथै उहाँले रच्नुभएको कविता ‘शब्द चित्रमा म’ शीर्षकको कविता रहेको छ । यो लेखमा अरु कविहरूको नभई केवल प्रधानजीको उक्त कविता र कवि व्यक्तित्व बारे मात्र परिचर्चा यहाँ गरिएको छ ।

समीक्षा
प्रा.डा. कृष्णप्रसाद दाहाल, त्रि.बी., पाटन संयुक्त क्याम्पस, ललितपुर
यस सङ्ग्रहका पहिलो कवि जो उमेरका दृष्टिले चौरासी वर्ष पुगेका छन् अर्थात् वि.सं. १९९४ सालमा भक्तपुरमा जन्मेका पशुपतिमान पःमाँ गाली र तालीमा नै आफ्नो जीवन हुर्किएको बताउँछन् ।


टीका श्रेष्ठ, भक्तपुर बहुमुखी क्याम्पस
पशुपतिमान पःमाँ प्रधानको कविताले जीवनका भोगाइ, अनुभूति, समस्या, समाधान र वास्तविक जीवनको यथार्थ बोलेको छ । कवितामा प्रयुक्त शब्दहरूका चित्रमा साँच्चै कविको जीवनचित्र देख्न सकिन्छ । जीवनको यथार्थको प्रस्तुति खुलेको अभिव्यक्तिमार्फत हन्डर–ठक्कर खाँदै जीवनका समस्यासँग जुध्दै गरेको वर्तमानमा विगतलाई नियाल्दै, भविष्यलाई पखँदै जीवनलाई सम्हालिरहेको यथार्थ अभिव्यक्ति छ । सङ्घर्षरूपी जीवनमा असल साथीहरूले काँध थापेको र जीवनको सङ्घर्षले आजको अवस्थामा पुगेको अनुभूति रहेको छ कवितामा । साथै जीवनमा कैयौं गाली, ताली पाएको र यसले आफूलाई सत्मार्गतर्फ प्रेरित गर्नुका साथै कैयौं शुभचिन्तक, सहृदयी मित्रहरू प्राप्त गरेको र यसमा आफू आनन्दित रहेको प्रसङ्ग प्रस्तुत छ । जीवनयात्रामा भेटिएका मित्रहरूलाई पथप्रदर्शकको रूपमा लिंदै सम्पूर्ण आफन्तबाट माया पाएकोमा धन्य ठानिएको छ । यसबाट सत्मार्ग पछ्याउन तथा सफलता प्राप्त गर्नका लागि असल मित्रहरूको सामीप्य र महत्त्व हुनेसमेत उजागर भएको छ । यहाँ कविको आत्मिक अनुभूतिको प्रस्तुतिका माध्यमबाट जीवनजगत्को सच्चाइ प्रस्तुत गरिएको छ। सार्थक जीवनका लागि असल मित्र प्राप्त गर्नु निकै महत्त्वपूर्ण रहेको यथार्थको प्रकटीकरण गर्दै जीवन भोगाइका क्रममा प्राप्त समर्थन र विरोधले पनि सन्मार्ग पछ्याउनका लागि अमूल्य भूमिका खेल्ने सत्यताको उजागर गरिएको छ । दुःखसुखसँग साटेका जीवनका विविध अनुभूति प्रस्तुत गर्दै सज्जनसँगको सामीप्यलाई जीवनको महत्त्वपूर्ण प्राप्ति मानिएको छ । गद्य शैलीमा रचित यस कविताले जीवनको यथार्थ स्वीकार गर्ने तथा समस्यासँग जुध्दै अगाडि बढ्ने चेतना प्रवाहित गरेकाले सन्देशमूलक छ ।
डा. सीता सुवेदी पन्थी, आदर्श मा.वि, मध्यपुर थिमी
पशुपतिमान पःमा (प्रधान) ः कवि पशुपतिमान पःमाको जन्म विस १९९४ मा भएको हो । उनका चारओटा कृति प्रकाशित भइसकेका छन् भने दुईओटा प्रकाशोन्मुख रहेका छन् । उनको ’शब्दचित्रमा म’ शीर्षकको कविता मुक्त लयमा रहेको छ । कविताका धेरैजसो पङ्क्तिहरूमा अन्त्यानुप्रासको संयोजन रहेको छ, जसले कविता पठनमा मिठास थपेको छ। आफूले जीवन जिउने क्रममा गरेका सङ्घर्ष, प्राप्त सफलता र असफलता, आफन्त र मित्रहरूको साथ र सहयोगबाट नै आफू आजको अवस्थामा आइपुगेकाले गौरवान्वित महसुस गरिएको भाव कवितामा रहेको छ ।
अन्तमा
१२ वर्ष शिक्षण पेशा तथा शिक्षा मन्त्रालय अन्तर्गत ३१ वर्ष सेवा गरी अवकाश प्राप्त गर्नुभएका पशुपतिमा पःमाँ नेपाल स्काउट राष्ट्रिय तालिम दलको सदस्य समेत हुनुहुन्थ्यो । उहाँको लेखन निरन्तर चली अरु पुस्तकहरू पनि प्रकाशन भई रहोस् भन्ने कामना गर्दछु ।

कविको परिचय
नाम पशुपतिमान पःमाँ (प्रधान)
जन्म वि.सं १९९४ असार १४
ठेगाना भक्तपुर नगरपालिका ७, जगाती 
शिक्षा बिए, बिएड
पितामाता महेशमान तथा लक्ष्मीदेवी
पत्नी पारु
मातृभाषा नेपालभाषा
पेसा शिक्षण (१२ वर्ष–हाल निवृत्त),
शिक्षा मन्त्रालय अन्तर्गत ३१ वर्ष सेवा
लेखन आरम्भ विसं २०१३ देखि
हाल संलग्नता उपाध्यक्ष, नेपाल साहित्य मन्दिर, भक्तपुर सदस्य, 
नेपाल स्काउट, राष्ट्रिय तालिम दल सदस्य, 
जिल्ला स्काउट, भक्तपुर, जिल्ला परिषद्
प्रथम रचना प्रकाशन ः २०३०


प्रकाशित कृति ः
लोकं ह्वाःगु बाखं, सन्दर्भ सामग्री सहलेखन, प्रकाशन पाठ्यक्रम विकास केन्द्र, २०६४
श्री स्वस्थानी बाखं, नेपाल भाषा, प्रथम सं २०७०, द्वितीय सं २०७१ 
असल मान्छे, सिंम्ह मनु, म्भतभचनभलत एभचकयल, २०७१ (नेपाली, नेपालभाषा र अङ्ग्रेजीमा), 
असल मान्छे (श्रव्य नाटक) 
नुगघा चोट, ब्नयलथ, कथासङ्ग्रह, २०७२
प्रकाशोन्मुख ः
मलखं कःगु छें, (कथासङ्ग्रह)
नेवा वाउ भतु
दूरभाषा ः ९७४१००७०२३
    

Comments