जर्मनमा पनि चर्चा भएको कवि र कविताकाबारेमा केही कुरा
माघ ७, २०७९, शनिबार | विहान ०७:०४ बजे | 20
डा. इन्दुल के. सी.
व्यक्ति एक प्रतिभा अनेक
थिमी, भक्तपुर, नेपाल
९८४१३३४११३
म भगवानको सन्तति, मलाई मानिसको सन्तति बनाइयो ।
म मातृभूमि नेपालको छोरा, मलाई नेता र भ्रष्टाचारीको दास बनाइयो ।।
म मेरै देशको दास बन्न चाहें, तर उनीहरूले मलाई विदेशीको दास बनाए ।
म स्वदेशी मालिक बन्न चाहेँ, तर उनीहरूले मलाई विदेशतिरै हुत्याए ।।
म मेरो देशको प्रखर राष्ट्रवादी बन्न खोजेँ, उनीहरूले मलाई पार्टीको कार्यकर्ता बनाए ।
म सुझाब दिने सुझावकार बन्न खोजेँ, उनीहरूले मलाई हल्कारा बनाए ।।
मैले उनीहरूलाई सकारात्मक सोच-भावनाको उपहार दिन खोजेँ, तर, उनीहरूले मलाई नकारात्मक कर्मको पथमा हिँडाए ।
मैले नीतिको प्रचार गर्न खोजेँ, तर उनीहरूले मलाई नेताको चाकरी गर्न सिकाए ।।
मैले सिद्धान्तका कुरा गर्न खोजेँ, उनीहरूले मलाई व्यक्तिका कुरा गर्न सिकाए ।
मैले कर्तव्यका कुरा गर्न खोजेँ, उनीहरूले मलाई अधिकारका कुरामा तड्पाए ।।
मैले विचारका कुरा गर्न खोजेँ, उनीहरूले मलाई असैद्धान्तिक कुरा सिकाए ।
मैले मेरो देशको माया गर्न खोजेँ, उनीहरूले मलाई मेरो देशको मायाबाट बञ्चित गराए ।।
मैले पार्टीको वकालत गर्न खोजेँ, उनीहरूले मलाई गुटको वकालत गर्न सिकाए ।
मैले मेरो देशको पहिचान बढाउन खोजेँ, उनीहरूले मलाई गुटको सदस्यता दिलाए ।।
मैले जनताको काम गर्न खोजेँ, उनीहरूले मलाई नेताको चाकरी गर्न सिकाए ।
मैले मेरो विचार देशमा लगाउन खोजेँ, उनीहरूले मलाई अवसरवादीको पाठ सिकाए ।।
म मेरो झुपडीमा रमाउन खोजेँ, उनीहरूले मलाई महलको सपना देखाए ।
मैले मेरा जनताका भावना बुझ्न खोजेँ, उनीहरूले मलाई आसे-पासेको दर्जामा बस्न सिकाए ।।
म मेरा जनताको एकतामा लाग्न खोजँे, उनीहरूले मलाई जनतामा फुट गर्न सिकाए ।
मैले मेरो देशको अस्मिता जोगाउन खोजेँ, उनीहरूले मलाई लुटमा संलग्न गराए ।।
म मेरो आफ्नो जीवनको सिँढी चढ्न खोजेँ, उनीहरूले अनावश्यक लिफ्ट चढ्न सिकाए ।
मैले मेरो गाउँ बनाउन खोजेँ, उनीहरूले मलाई भत्काउन सिकाए ।।
मैले आफूलाई राज्यको नोकर बनाउँन खोजेँ, उनीहरूले मलाई देशैबाट निकाल्न सिकाए ।
मैले मेरो देशको सडक बनाउन खोजेँ, उनीहरूले म र मेरा जनताका झुपडीसमेत खोस्न सिकाए ।।
मैले मेरो देशमा सबै थोक सुधार्न खोजेँ, उनीहरूले मलाई सबै थोक बिगार्न सिकाए ।
मैले सबैलाई हँसाउन खोजेँ, उनीहरूले म र मेरो देशलाई रुवाउन सिकाए ।।
पृष्ठभूमि
अनुशीलन नेपालले हालै शब्दचित्रमा हामी भित्रका कविता केलाउँदा शीर्षकको समीक्षा सङ्ग्रह प्रकाशन गरेको छ । नेपाली साहित्यको फाँटमा विशेषतः कविता विधाको यस पुस्तकले आफ्नो छुट्टै विशेष स्थान लिएको छ भन्ने ठानेको छु । गत वर्ष २०७८ सालमा शब्दचित्रमा हामी संयुक्त कविता सङ्ग्रह शब्दयात्रा प्रकाशन भक्तपुर सम्पर्क केन्द्र, भक्तपुरले प्रकाशित गरेको थियो । उक्त पुस्तकमा कवि सम्राटसमेत ३७ जना विभिन्न कवि-कवियात्रीहरूले आ-आफ्नो जीवनलाई सबैले एउटै शीर्षक शब्दचित्रमा म नामको कविताहरु रच्नु भएको थियो । उक्त सङ्ग्रहभित्र कवि के.बी. सम्राटले रच्नुभएको एउटा कविता पनि समावेश भएको रहेछ । उही पुस्तकहरूको लेखलाई ख्याती प्राप्त समीक्षकज्यूहरूले सम्पूर्ण कविताहरूलाई आ-आफ्नो शब्दमा समीक्षा गरिएको रचनाहरू उक्त दोश्रो पुस्तकमा रहेका छन् ।
परिचय
यस लेखमा केवल कवि के.बी. सम्राटले रच्नु भएको रचनालाई केन्द्रित गरिएको छ । सम्राटको परिचय उक्त पुस्तकमा पूर्ण विवरण दिइएको छ । जसलाई यसै लेखको साथ संलग्न गरिएको छ । त्यसबाट पाठकवर्ग उहाँको बारे विस्तृत परिचय दिनेछ । उहाँको पूरा नाम कुलबहादर पाण्डे हो । तर उहाँ के.बी. सम्राटले सबैमा सूपरिचित व्यक्ति हुनुहुन्छ । उहाँले रच्नुभएको उक्त शब्दचित्रमा म शीर्षकको कविता पनि पाठकवर्गको लागि जानकारी दिन यसै लेखमा संलग्न गरिएको छ । उहाँको कविताको चर्चा जर्मनमा पनि भएको केही विवरण यहाँ सान्दर्भिक हुनेछ ।
समीक्षा
प्रा.डा. कृष्णप्रसाद दाहाल, त्रि.बी., पाटन संयुक्त क्याम्पस, ललितपुर
काभ्रपलान्चोक, चौरे देउराली स्थायी बसोबास गर्ने कुलबहादुर पाण्डे (के.बी. सम्राट) को जन्म बी.सं. २०२५ साल भदौ ४ गने खोटाङमा भएको हो । उहाँले आफ्नो कवितामा राजनीतिक विकृतिको भण्डाफोर गरेका छन् ।
टीका श्रेष्ठ, भक्तपुर बहुमुखी क्याम्पस
बी.सं. २०२५ भदौ ४ गते खोटाङमा के.बी. सम्राटको जन्म भएको हो । नरदेवी र त्रिलोचन पाण्डेका पुत्र सम्राटले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी धेरै सङ्घसंस्थामा संलग्न रहेका छन् । विभिन्न सम्मान तथा पुरस्कार प्राप्त सम्राटले नेपाल तथा नेपालबाहिरका विभिन्न स्थानको भ्रमणसमेत गरेका छन् । ‘शब्दचित्रमा म’ उनको गद्यलयात्मक कविता हो । अन्त्यानुप्रास मिलाउने प्रयास गरिएको यस कवितामा अहिलेको समाजमा राम्रो गर्न खोज्ने मान्छेलाई राम्रो कर्म गर्न दिइँदैन, बरु विभिन्न डर, त्रास, धम्की, लोभ आदि देखाएर कुकर्मतिर लगाइन्छ भन्ने व्यङ्ग्यभाव उहाँको अभिव्यक्त भएको छ ।
डा. सीता सुवेदी पन्थी, आदर्श मा.वि, मध्यपुर थिमी
के. बि. सम्राटको कवितामा आफूलाई भगवान्को सन्तति र मातृभूमि नेपालको छोराको रूपमा अर्ध्याई विषयवस्तुको प्रारम्भ भएको छ । यस कवितामा कविका अनुभूतिमार्फत नागरिकको सोच, सामाजिक परिवेश तथा राष्ट्रको वर्तमान अवस्थाको यथार्थ चित्र प्रस्तुत भएको छ । आफ्नै देशको दास बन्न चाहने कविलाई नेता, भ्रष्टाचारीको दास बनाएको, आफू स्वदेशी मालिक बन्न चाहँदा अरूले विदेशी दास बनाएर विदेशतिरै हुत्याएको, आफू राष्ट्रवादी बन्न खोज्दा अरूले पार्टीको कार्यकर्ता बनाएको, सल्लाहकार बन्न खोज्दा हल्कारा बनाएको, सकारात्मक भाव उपहार दिन खोज्दा नकारात्मक कर्ममा हिँडाएको, नीतिको प्रचार गर्न खोज्दा नेताको चाकरी गर्न सिकाएको, कर्तव्यको कुरा गर्दा अधिकारका कुरामा तड्पाएको, विचारका कुरा गर्दा सिद्धान्तविहीन बनाएको, देशलाई माया गर्न खोज्दा देशको मायाबाट वञ्चित गरिएको, पार्टीको वकालत गर्न खोज्दा गुटको वकालत गर्न सिकाएको, देशको पहिचान बढाउन खोज्दा गुटको सदस्यता दिलाएको, जनताका काम गर्न खोज्दा नेताको चाकरी गर्न सिकाएको, आफ्नो विचार देशका लागि लगाउन खोज्दा अवसरवादी बन्ने पाठ सिकाएको, झुपडीमा रमाउन खोज्दा महलको सपना देखाएको, एकतामा लाग्न खोज्दा फुट गर्न सिकाएको, राष्ट्रिय अस्मिता जोगाउन खोज्दा लुटमा संलग्न गराएको, जीवनको सिँढी चढ्न खोज्दा अनावश्यक लिफ्ट चढ्न सिकाएको, राज्यको नोकर बन्न खोज्दा देशबाटै निस्कन सिकाएको, आफ्नै देशको सडक बनाउन खोज्दा जनताको झूपडीसमेत खोस्न सिकाएको, देशको सब थोक सुधार्न खोज्दा सबै बिगार्न सिकाएको र सबैलाई हँसाउन खोज्दा देशलाई रुवाउन सिकाएको मार्मिक अभिव्यक्ति रहेको छ । यसबाट एउटा देशप्रेमी, कर्मशील योद्धालाई देशको सामाजिक, राजनैतिक परिवेशले कस्तो परिस्थितिमा पुऱ्याउँछ भन्ने चित्र छर्लङ्ग भएको छ । गलत नेतृत्वको कारण नागरिकहरू कसरी विचलित हुनुपर्छ भन्ने यथार्थ प्रस्तुत भएको यस कविताले राष्ट्रको परिवेश, नागरिकको अवस्था, समाजका विसङ्गतिहरूको चित्र उतारेको छ । कविले आफ्नो जीवन भोगाइका क्रममा अनुभूत गरेका महत्त्वपूर्ण विषयवस्तुको प्रस्तुति रहेको यो कविता मुक्त छन्दमा रचित छ । समाजका हरेक क्षेत्रमा देखिएका विकृति तथा विसङ्गतिको उजागर गर्दै त्यस्ता विकृतिको अन्त्य नभएसम्म आदर्श समाजको निर्माण हुन नसक्ने तथा प्रतिकूल वातावरणका कारण राष्ट्रका नागरिकले गलत मार्ग पछ्याउन सक्ने यथार्थको प्रकटीकरण गर्दै सत्कर्मका माध्यमबाट मात्र राष्ट्रको समृद्धि सम्भव हुने सङ्केत गरिएको यो कविता सन्देशमूलक छ ।
अन्तमा
उल्लेखित कविताको साथै कवितामा गरिएको समीक्षाहरूसमेत नेपाली साहित्यमा अभिरुचि राख्ने सम्पूर्ण पाठकहरूको लागि यो रचना एक उपयोगी सामग्री हुने ठान्दछु । यस प्रकारको रचनाहरू क्रमश उक्त किताबमा रहेका अन्य कविहरूको बारेमा पनि यथासमयमा प्रकाशित गर्ने प्रयासरत छु । यस रचनामा पाठक वर्गको कुनै सुझाव सल्लाहलाई स्वागत गर्दछु ।
कविको परिचय
नाम : केबी सम्राट (कुल बहादुर पाण्डे)
जन्मस्थान : खोटाङ, नेपाल
जन्ममिति : २०२५।०५।०४
पुर्ख्यौली ठेगाना : काठमाण्डौ, डिल्लीबजार, नेपाल
स्थायी ठेगाना : चौरे देउराली-१, काभ्रेपलान्चोक
अस्थायी ठेगाना : चन्द्रागिरि-१, काठमाण्डौ,
माता/पिता : नरदेवी/त्रिलोचन पाण्डे
पत्नी : देवकीकुमारी कार्की (पाण्डे)
शिक्षा : स्नातकोत्तर (अर्थशास्त्र)
पेसा : पूर्व प्रशासक, पत्रकारिता, समाजसेवी
संलग्नता
अध्यक्ष-सेभ द नेसन मिडिया, रिटायर्ड क्लब नेपाल, पशुपति अन्नपुर्णा आश्रम, सेभ द नेशन टेलिभिजन
प्रकाशक/सम्पादक – राष्ट्र संरक्षण साप्ताहिक,
वरिष्ठ उपाध्यक्ष – स्वतन्त्र पत्रकार सङ्घ नेपाल,
सचिव – विश्व शान्ति ध्यान केन्द्र,
संरक्षक – ओम कैलाश शिवढुंगा शिवशक्ति महापीठ धाम,
प्रमुख सल्लाहकार – सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल,
सल्लाहकार – पशुपति योगाभ्यास आश्रम, राष्ट्रिय नागरिक विकास समाजलगात विभिन्न संघ संस्थाहरुमा
आजीवन सदस्य – विभिन्न संघ संस्थालगात धार्मिक संस्थाहरुमा
सम्मान / पुरस्कार / अवार्ड :
गोरखा दक्षिण बाहु (२०३८),
वीरेन्द्र ऐश्वर्य पदक २०६०,
नेपाल रक्तसञ्चार केन्द्र सेवा पदक,
विभिन्न संघ संस्थाहरुबाट संम्मान तथा कदर पत्र
हिरो अवार्ड २०२० – हामी नेपालि ग्लोबल, संयुक्त राष्ट्र अमेरिका
हिरो अवार्ड २०२० – द रोटरी क्लब अफ नुन्युयोर्क “क्वीन”, संयुक्त राष्ट्र अमेरिका
भ्रमण :
भारत, चीन, दक्षिण कोरिया, उत्तर कोरिया, जापान, स्विटजरल्यान्ड, जर्मनी, डेनमार्क, अमेरिका, रसिया, बेलायत, अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, कम्बोडिया, फिलिपिन्स, थाइल्यान्ड, पोर्चुगल, फ्रान्स, साउथ अफ्रिका, साउदी अरब, मलेसिया, कुवेत, कतार, दुवई, क्रोयसिया, मकाओ, हंगकंग, स्पेन, सिंगापुर
इमेल : rsweekly2065@gmail.com
दूरभाषाः ९८५१०३४१३६, ९८०१०३४१३६
फाेटाेमा हेर्नुहाेस्...