भक्तपुरको पाँचदिने खेल महोत्सव सम्पन्न


पुष ९, २०७९, शनिबार | दिउँसो ०३:२५ बजे | 10


भक्तपुरको पाँचदिने खेल महोत्सव सम्पन्न

भक्तपुर, पुष ९ । भक्तपुर नगरपालिकाले आयोजना गरेको ५ दिने खेलकुद प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ट्रफी, मेडल तथा प्रमाणपत्र र खेलकुद प्रतियोगितामा सहभागी प्रत्येक विद्यालयलाई खेलकुद सामाग्री तथा बाद्ययन्त्र मादल वितरणसँगै शनिवार समापन भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि जननिर्वाचित संघीय सांसद तथा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले संविधानमा खेलकुदलाई मौलिक हकको रूपमा राखेर खेलकुदमा सबैको पहुँच पुर्याएको बताउँदै शिक्षा, कृषि, खेलकुद क्षेत्रमा सरकारले जनताको लागि उपलब्धिमूलक काम गर्न नसक्दा ती मन्त्रालयहरूको औचित्यता बारे प्रश्न उठाउनु भयो । उहाँले राज्य आफ्नो कर्मचारीलाई तलब खुवाउन विदेशी सहयोगमा निर्भर रहँदा देशको सार्वभौमिकता गुम्ने बताउँदै देशको सीमा सुरक्षा गर्न सरकार असक्षम रहेको बताउनुभयो । उहाँले देशको सार्वभौमसत्ताको रक्षा गर्न स्वस्थ नागरिक तयारका लागि खेलकुदको आवश्यकता रहेको बताउनुभयो । सोही कार्यक्रममा बागमती प्रदेश सांसद सृजना सैैजूले खेलबाट स्वस्थ जीवन, सद्भाव, सामहिक भावना अभिप्रेरित सँगै सार्वभौमिकताका लागि लड्ने राष्ट्रिय स्तरका खेलाडी, रेफ्रि तथा कोचहरुको उत्पादनमा भक्तपुर नगरपालिका खेलकुद महोत्सव सहायकसिद्ध भएको बताउँदै कतार विश्वकपको रंगशाला निर्माणमा ज्यामी र श्रमशक्तिको रुपमा हजारौं नेपालीको ज्यानको बाजी थाप्न विवश पार्ने सरकारलाई भक्तपुर नगरपालिकाको खेलकुद प्रशिक्षण तथा प्रतियोगिताले प्रश्न उठाउने संकेत गर्नुभयो । भक्तपुर नगरपालिकाका प्रमुख सनिल प्रजापतिले उक्त कार्यक्रमको सभापतित्व ग्रहण गर्दै भक्तपुर नगरको कार्यपालिकाको बैठकको निर्णय अनुसार निकट भविष्यमा अन्तर नगर खोखो को प्रतियोगिता संचालन गर्ने उद्धघोष गर्नुभयो । एक विद्यार्थी एक खेलमा सहभागी गराउने उद्देश्य अनुरुप सबै विद्यालयको सहभागी बनाउन प्रत्येक वर्ष गरेको खेलकुद प्रतियोगिता आन्तरिक र बाह्रय पर्यटकले अवलोकन गरेको बताउँदै राष्ट्रिय खेलाडी, स्वस्थ नागरिक र अनुशासन र मित्रताले देशको सार्वभौम सत्ता बचाउन र देशभक्त बनाउन खेलको आवश्यकता रहेको उहाँले बताउनुभयो । राष्ट्रिय तथा अन्तराष्ट्रिय भलिबलका रेफ्री तथा खेलकुद प्रतियोगिताका संयोजक विनोदचरण रायले राष्ट्रिय स्तरको विविध खेलकुद गतिविधिहरु झारो टार्ने प्रवृतिको बताउँदै भक्तपुर जिल्लाका उदयमान खेलाडीहरु राष्ट्रिय स्तरमा छनोट हुन छिमेकी नगरपालिकाले खेलकदका गतिविधिलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उहाँले निकट भविष्यमा भक्तपुर नगरपालिकाले आयोजना गर्ने खोखोको प्रतियोगिताले खोखोलाई राष्ट्रिय स्तरमा पुर्याउने बताउँदै शिक्षा, स्वास्थ्य, सम्पदा पुननिर्माणमा भएको ख्वप मोडेल अब खेलकुदलाई पनि सोही बमोजिम लान सुझाव दिनुभयो । भक्तपुर नगरपालिका युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले कार्यक्रममा स्वागत गर्दै स्थानीय निकायमा गरेका प्रतिबद्धता र घोषणापत्र लाई मार्ग निर्देशन को रूपमा लिई युवालाई खेलसँगै आत्मनिर्भर बनाउने र खेलकुद क्षेत्रमा नयाँ पुस्तालाई अघि बढाउन रचना सुझाव दिन अनुरोध गर्नुभयो । उक्त ५ दिने खेलकद प्रतियोगितामा १४ खेलका लागि भक्तपर नगरका ७९ विद्यालयका २६९८ जना विद्यार्थीहरुले सहभागिता जनाएको समापन समारोहमा कराँतेका तीन वटा फाइनल खेलहरु समेत भएको थियो । ४० केजी छात्रा तर्फको फाइनलमा बागिश्वरी माविकी श्रेया शाही र रोम्बस नेसनल स्कलकी कृतिका राई बीचको खेलमा कृतिका राईले उत्कृष्ट प्रदर्शन गरी प्रथम भएका थिए । त्यस्तै ४५ केजी छात्रा तर्फको फाइनलमा ख्वप्रिङकी शशिका राई र बास माविकी प्रतिमा तामाङ बीचको खेलमा प्रतिमा तामाङ प्रथम भएका थिए । ५० केजी छात्र तर्फको फाइनलमा सेक्ररेट हार्ट एकेडेमीका विशाल तामाङ र पद्म माविका दिलिप शाही बीचको खेलमा विशाल तामाङ प्रथम भएका थिए । भक्तपर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रतियोगितामा सहभागी भएका विद्यालयलाई खेलकुद सामाग्री र बाद्ययन्त्र मादल, बागमतीका प्रदेश सांसद सृजना सैंजूले विजयी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र तथा संघीय सांसद प्रेम सुवालले उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

Comments