खोखोको फाइनल खेल र समापन भोलि
पुष ८, २०७९, शुक्रबार | दिउँसो ०२:५१ बजे | 5
भक्तपुर, पुष ८ । भक्तपुर नगरपालिकाद्वारा आयोजित नगरव्यापी विद्यालयस्तरको खेलकुद प्रतियोगिता अन्तर्गत नकआउटको आधारमा संचालन भइरहेको खोखो खेलको शुक्रबार छात्र र छात्राको सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । छात्र तर्फको पहिलो सेमिफाइनल खेलमा बागिश्वरी माविको २५ अंकका विरुद्ध लिशा इङ्गलिस् सेकेण्डरी स्कूलले ७ अंक ल्याउँदा बागिश्वरी माविले फाइनलमा प्रवेश पाएको थियो । त्यस्तै छात्र तर्फको दोश्रो सेमिफाइनल खेलमा वाइजल्याण्ड सेकेण्डरी स्कूलको १५ अंकका विरुद्ध विद्याआर्जन सेकेण्डरी स्कूलले १४ अंक ल्याउँदा वाइजल्याण्ड सेकेण्डरी स्कूलले फाइनलमा प्रवेश पाएको थियो । शुक्रबार नै भएको छात्रा तर्फको पहिलो सेमिफाइनल खेलमा तारा माविको २ अंकका विरुद्ध वाइजल्याण्ड सेकेण्डरी स्कल १२ अंकका साथ फइनलमा प्रवेश गरेको थियो । त्यस्तै छात्रा तर्फको दोश्रो सेमिफाइनल खेलमा ब्राइटस्टार इङ्गलिस सेकेण्डरी स्कूलको १० अंकका विरुद्ध श्री दत्तात्रय आविले ९ अंक ल्याउँदा ब्राइटस्टार इङ्गलिस सेकेण्डरी स्कूलले फाइनलमा प्रवेश गरेको थियो । २१ वटा विद्यालयका २५२ जना छात्र र २० वटा विद्यालयका छात्रा २४० गरी जम्मा ४९२ जना विद्यार्थीहरुले खोखो खेलमा सहभागिता जनाएको थियो । छात्र खोखो खेलमा लिशा इङ्गलिस् सेकेण्डरी स्कूल र विद्या आर्जन इङ्गलिस् सेकेण्डरी स्कूल तृतीय स्थान हासिल गरेका थिए भने छात्रा खोखो खेलमा तारा मावि र श्री दत्तात्रय आवि तृतीय स्थान हासिल गर्न सफल भएका छन् । भोलि विहान ९ बजे कमलबिनायक लामगाल चौरमा छात्र र छात्राको खोखोको फाइनल खेलहरु र प्रतियोगी खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल वितरण हुने कार्यक्रम रहेको छ । साथै भोलि दिउँसो १ बजे शहिद स्मृति खेलमैदानमा उत्कृष्ट खेलाडीहरुलाई ट्रफी वितरण तथा समापन हुने आयोजक नगरपालिकाले जनाएको छ