भक्तपुरमा मंसिर ५ बाट खेलकुदको महाकुम्भ मेला
पुष ५, २०७९, मङ्गलबार | विहान ०५:५५ बजे | 20
सत्यराम कासिछ्वा
भक्तपुर
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यतामा भक्तपुर नगरपालिकाको आयोजनामा आज पुष ५ देखि ९ सम्म ५ दिने विद्यालयस्तरीय नगरव्यापी खेलकुद प्रतियोगिताको उद्घाटन न:पुखु स्थित शहिद स्मृति खेलमैदानमा हुन गइरहेको छ ।
उक्त खेलकुद प्रतियोगिताको र्यालीसहित उद्घाटनको लागि भक्तपुर नगरपालिकाले आफ्नो नगरभित्रका नगरबासी, विद्यालय, टीम, क्लब, पुस्तकालय तथा विविध संघसंस्था लगायत खेलप्रेमीहरूलाई दत्तात्रय क्षेत्रमा उपस्थितिको लागि अनुरोध समेत गरिएको छ ।
भक्तपुर नगरपालिकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडि तथा खेलसँग आवश्यक रेफ्री र प्रशिक्षक जस्ता जनशक्ति उत्पादन र तयार गर्ने उद्देश्य सहित विद्याथीहरुमा रहेको खेल प्रतिभालाई उजागर गर्ने प्रयास स्वरुप सो प्रतियोगिता संचालन गर्न लागेको हो ।
भक्तपुर नगरपालिकाले उक्त प्रतियोगितालाई भव्य र सभ्य तथा नियमबद्ध रुपमा मर्यादित तरिकाले सम्पन्न गर्न गत कार्तिक १ देखि ६ गतेसम्म विद्यालयमा अध्यापनरत शिक्षक तथा खेदकुद शिक्षकहरुलाई हप्तादिन दैनिक एक खेलको सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण समेत दिएको थियो ।
भक्तपुर नगरपालिकाले संचालन गर्ने उक्त खेलकुद प्रतियोगितामा स्थानीय परम्परागत खेल कसिमला पाय् देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त खेलहरु जस्तै बुद्धिचाल, फुटसल, भलिबल, कबड्डी, टेबल टेनिस, ब्याडमिन्टन, उसु, तेक्वाण्डो, पोर्टबल, कराँते, ऐथ्लेटिक्स, जिम्नास्टिक, खोखो गरी १४ वटा खेलहरु रहेका छन् ।
उक्त विद्यालयस्तरको प्रतियोगितामा भक्तपुर नगरपालिका भित्रका सामूदायिक र संस्थागत विभिन्न विद्यालयका विद्यार्थीहरुले १४ वटा खेलहरुमा सहभागिता जनाएका छन् ।
भक्तपुर नगरपालिकाले विभिन्न वडाहरुमा नजिकका विद्यालयहरुलाई विद्यार्थीहरुको नाम दर्ता गर्ने सुविधा दिएको छ भने विभिन्न वडाका खेलकुद समिति, विद्यालय र कभर्डहलले संयोजन गरेको सो खेलकुद प्रतियोगितामा निवृत्त शिक्षक समाज भक्तपुरले स्थानीय खेल कसिमला पाँय् को संयोजन गर्ने जनाएको छ ।
२०७४ को स्थानीय तहको निर्वाचन पश्चात् आफ्नो प्रतिबद्धता अनुसार विभिन्न खेलको प्रशिक्षणसँगै खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरु तयार गरी भक्तपुरको मात्रै नभई देशको नाम संसारभर चिनाउन प्रत्येक वर्ष अन्तर नगरव्यापी तथा अन्तर विद्यालयस्तरीय खेलकुद प्रतियोगिता संचालन गरिरहेको छ ।
विद्यालय तहदेखि नै खेलकुद गतिविधि बढाउने उद्देश्यले २०७४ कार्तिक ९ गतेदेखि १४ गतेसम्म संचालन भएको अन्तर विद्यालय खेलकुद प्रतियोगितामा ३८ वटा विद्यालयका विद्यार्थीहरुले विभिन्न ८ वटा खेलमा सहभागिता रहेको थियो । २०७५ साल कार्तिक ११ देखि १७ गतेसम्म सञ्चालन भएको अन्तरविद्यालय खेलकुद प्रतियोगितामा १३ वटा खेलकुदमा ७० वटा विद्यालयका १८१८ भन्दा बढी विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।
खेलकुदको माध्यमबाट अनुशासन कायम राख्न, स्वस्थ नागरिक तयार गर्न र सार्वभौमिकता रक्षा गर्ने देशभक्त नागरिक तयार गर्ने उद्देश्य अनुरुप खेलकुदलाई प्राथमिकतामा राखी भक्तपुर नगरपालिकाले विविध खेलकुद प्रतियोगिता र खेलाडीहरुको उत्साह बढाउन भक्तपुर नगरपालिकाले जिल्लाभरिका राष्ट्रिय खेलहरुमा पदक प्राप्त गर्ने तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी, वर्षको उत्कृष्ट खेलाडी, रेफ्री र प्रशिक्षकहरुलाई सम्मान समेत गरिरहेको छ ।
भक्तपुर नगरपालिकाले खेलकुदको स्तर वृद्धि गर्न नगरभित्र उपलब्ध सहिद स्मृति खेल मैदान र महेश्वरी खेलमैदान, विभिन्न कभर्ड हल निर्माण र व्यवस्थित विकासको योजना समेत बनाएको छ ।