खेलकुद प्रशिक्षक प्रशिक्षणको समापन तथा प्रमाणपत्र वितरण
कार्तिक ६, २०७९, आइतबार | दिउँसो ०१:२२ बजे | 5
भक्तपुर, कार्तिक ६ । भक्तपुर नगरपालिकाको आयोजनामा संचालन भएको ६ दिने खेलकुद प्रशिक्षक प्रशिक्षणको समापन तथा प्रमाणपत्र वितरण भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले वितरण गर्नुभयो । उहाँले खेलकुदबाट खेलाडीलाई शारीरिक र मानसिक रुपमा स्वास्थ्य बनाइ खेलको नीति, सिद्धान्त, अनुशासन, मानसम्मान गर्ने सामाजिक व्यवहारले खेलाडीमा सार्वभौमिकता, भौगोलिक अखण्डता जस्ता देशभक्तिको भावना सिकाउने बताउँदै भक्तपुर नगरपालिकाले जनताको निर्देशन बमोजिम स्वास्थ्य, शिक्षा र सम्पदा संरक्षणमा विकास भएको ख्वप मोडेल अब खेल क्षेत्रमा पनि गर्न लागेको बताउनुभयो । उहाँले अध्ययन अनुसन्धानको माध्यमबाट भक्तपुरका जनतालाई सहज रुपमा सेवासुविधाको चलायमानले अन्य क्षेत्रको भन्दा फरकता अनुभव र त्यसको देशव्यापी रुपमा एकरुपता ल्याउने बताउँदै शिक्षा र खेलकुद सँगसँगै लानुपर्ने बताउनुभयो । नेपाल खोखो संघका कार्यबाहक केन्द्रिय अध्यक्ष तथा प्रशिक्षक प्रदिप महर्जनले सिकाईमा संलग्न भएका शिक्षकहरुको जिज्ञासु तथा उत्सुकताको व्यवहारले विद्यालयका विद्यार्थीहरुलाई आफूले सिकेको सीप, ज्ञान सहज रुपमा सिकाउने र उनीहरुमा आत्मविश्वासका साथ निर्णय गर्न सक्ने क्षमता वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । भक्तपुर जिल्ला भलिबल संघका अध्यक्ष तथा प्रशिक्षक विनोद चरण रायले मोबाइल तथा ल्यापटप जस्ता डिजिटल खेलले पार्ने असरबाट बच्न र खेलाडी तथा शिक्षकले खेलको आधारभूत नियम नबुझ्दा प्रतियोगिता संचालनमा हुने असहजतालाई न्यून गर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाको युवा तथा खेलकुद समितिका संयोजक तथा भनपा वडा नं १ का अध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले जन्मदेखि मृत्युसम्मका जनताको आधारभूत आवश्यकता पूर्ति सहज रुपमा गराउन लागिपरेको बताउँदै भक्तपुर नगरपालिका भित्रका कभर हलहरुमा विद्यालयका विद्यार्थीहरुले निशुल्क रुपमा प्रशिक्षित हुन र अभ्यास गर्न पाउने बताउनुभयो । उहाँले शिक्षा ग्रहणसँगै खेलकुद सिकाईलाई प्रभावकारी बनाउन र राष्ट्रिय अन्तराष्ट्रिय खेलमा सहभागी भई देशको नाम राख्न उक्त तालिम संचालन गरेको बताउनुभयो । उहाँको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष उपेन्द्र सुवाल, युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासी लगायत प्रशिक्षार्थीद्वय पुष्पा प्रजापति तथा रविन खड्काले समेत आफ्नो सिकाई तालिमको अनुभव सुनाउनुभयो ।