खेलकुद प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
कार्तिक ६, २०७९, आइतबार | दिउँसो १२:५९ बजे | 5
भक्तपुर, कार्तिक ६ । विद्यालय स्तरमै राम्रा खेलाडी उत्पादन गर्ने उद्देश्य सहित भक्तपुर नगरपालिकाले गत कार्तिक १ गतेदेखि ६ गतेसम्म संचालन गरिरहेको विभिन्न खेलहरूको प्रशिक्षण अन्तिम दिन आइतबार समापन भएको छ । हरेक दिन दुई सत्रमा संचालन भएको प्रशिक्षणमा आइतबार नेपाल खोखो संघका कार्यबाहक अध्यक्ष प्रदिप महर्जनले खोखो खेलको सैद्धान्तिक र प्रयोगात्मक प्रशिक्षण दिनुभयो । सो प्रशिक्षणमा उहाँले खोखो खेलका विभिन्न चिन्ह, राष्ट्रिय अन्तर्राष्ट्रिय नियम, खोखोको इतिहास, खेलका विविध सीप, खेलको कोर्ट बारे प्रशिक्षण दिनुभयो । उहाँकाे प्रयोगात्मक प्रशिक्षणमा राष्ट्रिय ऐम्पायरहरू रश्मी बनमाला, साजन दुवाल तथा राष्ट्रिय खेलाडी राज कुस्मा लगायतले सहयोग गर्नुभएको थियो । प्रशिक्षार्थी मेधा माविका शिक्षक श्याम शाखले उक्त तालिममा सम्बन्धित विषय शिक्षक सहभागी भएको भए विद्यार्थीको आधारभूत सीप सिकाईमा प्रभावकारी हुने बताउनुभयो । अर्का प्रशिक्षार्थी मोर्डन इङ्गलिस सेकेण्डरी स्कुलका शिक्षक साजन कसपालले शारीरिक सीपको अभ्यास र विभिन्न प्रतियोगितामा विद्यार्थीलाई नियमबद्ध सहभागिता जनाउन नगरपालिकाले दिएको तालिम प्रति धन्यवाद दिनुुभयो । अर्का प्रशिक्षार्थी ब्रम्हायणी आधारभूत विद्यालयका शिक्षक इन्दिरा लाछिमस्यूले सम्बन्धित विषय शिक्षक अभाव भएकामा विद्यालयमा ससाना विद्यार्थीलाई खेलको आधारभूत सीप तथा सामान्य ज्ञान दिन यो तालिम उपयुक्त भएको बताउनुभयो । भक्तपुर नगरभित्रका १० वटा आधारभूत विद्यालय, २१ वटा संस्थागत मावि, ११ वटा सामुदायिक मावि र १ सैनिक विद्यालय गरेर जम्मा ४३ वटा विद्यालयका शिक्षकहरूले भक्तपुर नगरपालिकाद्वारा प्रशिक्षण दिएका ६ वटै खेलकाे प्रयोगात्मक सीपहरू सिकेका थिए ।